आठ वर्षपछि हट्यो भन्सार ‘यार्ड’ भित्र बनेको अवैध गोदाम


बाँके :  नेपालगन्ज भन्सार कार्यालयको ‘यार्ड’ मा अवैधमा निर्माण गरिएको गोदाम घर आठ वर्षपछि हटाईएको छ । भारतबाट ल्याईएको दाल,चामल लगायतका नीजि सामाग्री ‘स्टक’ गर्न केही व्यक्तिले भन्सारको यार्डभित्रै पक्की संरचना बनाएका थिए ।
पहुँच र भन्सार कार्यालयका यसअघिका प्रमुखहरुको उदासिनताका कारण उक्त अवैध संरचना हटाउन सकिएको थिएन । तर नयाँ आएका प्रमुख शान्तिराम निरौलाले केही दिन अघि उक्त अवैध संरचना हटाएका छन् । अवैध संरचना हटाएपछि गार्ड पक्की बनाउने काम सुरु हुँदै छ ।‘गोदा हटाईसकेका छौं । फलामका सामान बाँकी छ । त्यो लैजानुहोस् भन्दा पनि मान्नुभएको छैन । गार्डको कामको जिम्मा पाउने ठेकेदार लगाएर त्यो फलाम हटाउँछौ ।’– प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिए ।
उक्त अवैध संरचना कस्को थियो भन्ने बारेमा भन्सारका कर्मचारीहरु मुख खोल्न चाहाँदैनन् । स्वंय भन्सार प्रमुख निरौलाले पनि कस्ले गोदाम बनाएको हो भन्ने बिषयमा थाहा नभएको जानकारी दिए । उनले भने,–‘कस्ले बनायो र किन बनायो भन्ने थाहा भएन । जस्ले बनाए पनि अहिले हटाएका छौं ।’
भन्सार विभागको नियम अनुसार भन्सार यार्डभित्र नीजि प्रयोजनको लागि गोदाम निर्माण गर्न नपाउने व्यवस्था छ । तर यसअघिका भन्सार प्रमुखहरुको उदासिनताकै कारण उक्त समूहले भन्सार यार्ड भित्रै बिना कुनै जानकारी गोदाम घर बनाएको थियो ।

प्रकाशित मितिः     ३ चैत्र २०७५, आईतवार १५:४२  |