काठमाडौं। बैंकमा खाता खोल्ने तर नचलाउने गरेको भए अब त्यस्ता खाता निष्कृय हुने भएका छन्। राष्ट्र बैंकले वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै तीन बर्षसम्म कुनै बचत खातामा कारोबार नभए त्यसलाई निष्कृय (डोरमेन्ट) गर्नु पर्ने ब्यवस्था गरेको छ।
कल र चल्ति खाता ६ महिनासम्म कारोबारमा नआए त्यसलाई पनि निष्कृय गर्नु पर्ने भएको छ। निष्कृय खाता पुन: सञ्चालन गर्नु परेमा ग्राहकले निवेदन दिनु पर्छ।
खाताको संख्या थपिने तर कारोबार नहुने हुँदा त्यसलाई नियमित गर्न निष्कृयको ब्यवस्था गरिएको हो। राष्ट्र बैंकका अनुसार, निष्कृय खातालाई वेग्लै ढंगले गणना गरिने छ।
राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा जाने ऋण लगानीमा कडाइ गरेको छ। राष्ट्र बैंकले गत पुस मसान्तसम्म तोकिएको २५ प्रतिशत ऋण प्राथमिकताप्राप्त क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ।
ऋणमा लिने अधिकतम ब्याज बराबर जरिवाना गराइने केन्द्रीय बैंकले जनाएको छ। यसरी जरिवाना गर्दा २५ प्रतिशतमा नपुग रकमको त्रैमासिक रुपमा हुन आउने ब्याज रकम निर्धारण गरी त्यही बराबरको जरिवाना कायम गरिने छ।
राष्ट्र बैंकले प्राथमिकताप्राप्त कर्जामा पनि वर्गीकरण गरेको छ। कृषि क्षेत्रमा १० प्रतशित र उर्जा तथा पर्यट क्षेत्रमा १५ प्रतिशत ऋण लगानी गर्नु पर्ने ब्यवस्था छ। यसमा नपुग रकममा जरिवाना गणना गरिने छ।
यसमा पनि जुन बढि हुन आउँछ त्यही बराबरको रकम जरिवाना लगाइने छ। प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा ६ महिना अघिको कुल बाँकी कर्जा तथा सापटको आधारमा पुस मसान्तदेखि गणना सुरु गरी त्यसपछिको प्रत्येक त्रैमासमा त्यसलाई गणना गरिने छ।
पुस मसान्तसम्म बैंकहरुले कृषिमा ९.९३ प्रतिशत र उर्जमा ४.२१ प्रतिशत र पर्यटनमा ४.४ प्रतिशत गरी कुल १८.५४ प्रतिशत मात्र ऋण लगानी गरेका छन्। २५ प्रतिशत नपुगेपछि राष्ट्र बैंक कारवाही गर्ने मुडमा उत्रिएको हो।