नेपालगन्ज नाका हुँदै रु १५ करोडको अंगुर र केरा आयात


बाँके : चालु आर्थिक वर्ष २०७५ र २०७६ को फाल्गुण मसान्तसम्म नेपालगन्ज भन्सार नाका हुँदै रु १५ करोड भन्दा बढि मूल्य बराबरको केरा र अंगुर आयात भएको छ । रु ११ करोड ९२ लाख १२ हजार ६ सय २९ रुपैया बराबरको केरा र रु ३ करोड ६८ लाख ६१ हजार ५ सय ९ रुपैया बराबरको अंगुर आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

नेपालगन्ज भन्सारबाट आयात भएको केरा र अंगुर स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत, दाङ्ग र नारायाणगढसम्म खपत हुने गरेको छ । तर धेरै जसो फलफुल नेपालगन्जकै बजारमा बिक्री बितरण हुने गरेका् व्यवसायीहरु बताउँछन् । नेपालगन्ज लगायत यस क्षेत्रमै फलफुल उत्पादनको अवस्था न्युन छ । केरा उत्पादनका लागि कृषकहरु उत्साहित भएपनि भारतबाट आउने सस्तो मूल्यका केराका कारण टिक्न सकिरहेका छैनन् । अंगुरको उत्पादन व्यवसायीक बन्न सकेको छैन् ।

नेपालगन्ज भन्सारका अनुसार चालु आर्थिक वर्ष मसान्तसम्म केरा ५५ लाख ७४ हजार ९९ किलोग्राम ( भन्सार मुल्यांकन) र अंगुर ६ लाख ७१ हजार ३ सय ५२ किलोग्राम आयात भएको छ । यसबापत भन्सार कार्यालयले दुबैथरी फलफुलबाट रु १ करोड ६४ लाख १५ हजार बराबर राजश्व असुली गरेको छ । स्थानीय उत्पादन बढाउन कुनै चासो नदिदा केरा र अंगुरमा मात्र यतिका रकम बिदेशीएको छ । नेपालगन्ज नाका हुँदै अन्य फलफुल समेत आयात हुँदै आएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन पत्र बुझाइसकेका छन् । भारतबाट विश्व व्यपार संगठनको मापदण्ड पुरा नगरि आयत गरिरहेकोले नेपाली केरा कृषकको करोडौंको केरा नोक्सानी हुने अवस्था रहेको प्रति केरा व्यवसायी मर्कामा पर्ने गरेका छन् । कृषि जन्य बस्तु व्यवसायीकरण गरि स्वदेशमा नै रोजगारीका सम्भावना तथा अवसर सृजना गरि राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरुप केरामा आत्मनिर्भर उन्मुख रहेको व्यवसायीहरुको भनाई छ । निर्वाध रुपमा भारतबाट केरा आयात गरिएकोले जिल्लामा उत्पादन भएको केरा विक्रि वितरण हुन नसक्दा कृषकहरुको लिएको ऋण डुब्ने खतरा रहेको केरा तथा फलफुल संघर्ष समिति बाँकेका संयोजक देवेन्द्र अधिकारीले बताए ।

बाँके बर्दिया, कैलाली र कन्चनपुरका कृषक व्यवसायीमा आश्रित परिवार वेरोजगारको चपेटामा परि बैदेशिक रोजगारको सिकार हुने सम्भावना समेत भएको उनले बताए । भारतबाट आयतित रोग किरा तथा विषादी परिक्षण नभएको र नेपालका केरा कृषकलाई धारासायी हुने गरि आयातित केरा यथाशिघ्र नरोकिएकोमा ४ जिल्लाका केरा व्यवसायीहरु क्डा संघर्षमा उत्रिएने केरा उत्पादन तथा प्रबद्र्धन कृषि सहकारी संस्था लिमिटेड कन्चनपुरका अध्यक्ष पूर्ण सिह साउदले बताए ।

केरा व्यवसायीहरुले ५ बुदे माग सहित ज्ञापनपत्र बुझाएका थिए । हाल कैलाली, कन्चनपुर, बाँके र बर्दिया जिल्लामा४ हजार कृषकहरुले २ हजार ५ सय हेक्टरमा व्यवसायीक केरा खेती गरिरहेका छन् । केरा खेतीबाट यहाँको बार्षिक उत्पादन झण्डै ९५ हजार मेट्रिकटन रहेको उनले बताए ।

प्रकाशित मितिः     १४ चैत्र २०७५, बिहीबार १६:३७  |