नेपालगन्जमा खसीको मासु प्रतिकिलो नौं सय पुग्यो, अझै बढ्न सक्ने


फाईल तस्वीर

नेपालगन्ज, १९ बैशाख : व्यापारीले स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात दुई महिनादेखि ठप्प भएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालगन्जको मासु उपभोक्ताहरुलाई परेको छ । खसी आयात हुन नसकेपछि यहाँ मासुको मुल्य बढेको छ भने पाउन मुस्किल भएको छ ।

मासु व्यवसायी नेपालगन्जका अध्यक्ष भरत महतोका अनुसार यतिबेला किलोमा रु एक सय मुल्य बढेको छ । ननमिक्स मासु प्रति केजि ८ सय रहेकोमा अहिले त्यसको मुल्य ८ सय र मिक्स मासु प्रतिकेजि ७ सय रहेकोमा अहिले रु ८ सय पुगेको छ । मासुको मुल्य बढेपछि नेपालगन्जमा मम लगायतका मासुजन्य खानेकुराको मुल्य बढेको छ । खसी आयात हुन नसके मुल्य झन् बढ्ने व्यवसायीहरुले बताएका छन् । बाँकेमा उत्पादन हुने खसी महंगो मुल्यमा अन्यत्र बिक्री हुने गरेकाले नेपालगन्जका मासु व्यवसायीहरुले पनि त्यही मुल्यमा खसी खरिद गरिरहेका छन् । धेरे मुल्यमा ल्याएको खसी भन्दै ब्यवसायीहरुले मुल्य बढाएका छन् ।

फागुन २६ गतेबाट पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा रोकिएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताए । यसअघि देशभरका पशु क्वारेन्टाइनले भारतमा पशुजन्य वस्तु खरीद गरेको बिल र भारतीय भन्सारको प्रमाणपत्र देखाएकै भरमा नेपाल आयात गर्न पाइन्थ्यो । तर, यसरी हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य वस्तु अस्वस्थकर भएको पाइएपछि सरकारले पशु क्वारेन्टाइनमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन कडाइका साथ कार्यान्वयन गरेको छ ।

ऐनमा पशु तथा पशुजन्य वस्तु आयात गर्दा स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउनुपर्ने प्रावधान छ । त्यस्तै दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र अनिवार्य गरिएको छ । ऐन कार्यान्वयनमा कडाइ भएको थाहा नपाएका व्यवसायीले नेपाल भित्र्याएका दानालगायतका पशुजन्य वस्तु नेपालगञ्ज भन्सारमा थन्किएको छ ।
“प्रमाणपत्र दिने निकाय दिल्ली वा कोलकातामा रहेका कारण आयातकर्तालाई डकुमेन्ट जुटाउन कठिनाइ भएको छ”, कार्यालय प्रमुख श्रेष्ठले भने, “पहुँच नभएका कारण आयातकर्ताले आवश्यक प्रमाणपत्र ल्याउन नसक्दा कुनै पनि पशु र पशुजन्य वस्तु आयात हुननसकेको हो ।” पशु क्वारेन्टाइन जाँच केन्द्र नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको फागुन २६ गतेसम्म ६९ हजार २२७ खसी–बोका भित्रिएको थियो भने एक ४७५ मेट्रिकटनभन्दा बढी दाना आयात भएको थियो ।

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार १७:५९  |