नेपालगन्ज उपमहानगरकै विद्युत महशुल बक्यौता झण्डै पाँच करोड


नेपालगन्ज, ५ जेठ : सडक बत्ती बापत नेपालगन्ज उपमहानगरपालिकाले झण्डै पाँच करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी देखिएको छ । उपमहानगरपालिकाले आर्थिक बर्ष २०६५–६६ देखि सडक बत्तीको महशुल नबुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।
उसले चार करोड ९८ लाख २९ हजार १७० रुपैयाँ महशुल बुझाउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए । उनले सडक बत्तीको महशुल बुझाउन पटक–पटक ताकेता गरे पनि उपमहानगरले बुझाउन नमानेको बताए । ‘कयौँ पटक पत्र पठाइसक्यौँ, तर बुझाउने कुनै पत्तो छैन,’ उनले भने ।  त्यसैगरि, भेरी अस्पतालको ६ लाख ४१ हजार १५६ रुपैयाँ विद्युत महशुल बक्यौता छ । भने, यूनाइटेड टेलिकमले एक लाख ९९ हजार ५८ रुपैयाँ र यूनाइटेड प्रालिले एक लाख २१ हजार ८८७ रुपैयाँ बुझाउन बाँकी छ । मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिले पनि विद्युत महशुल बुझाउन बाँकी देखिएको छ । समितिको एक लाख आठ हजार ५९१ रुपैयाँ बक्यौता देखिएको यादवले बताए ।
तर, नेपालगन्ज उपमहानगरपालिकाले सडक बत्ती बापतको रकम बुझाउन बाँकी नरहेको जनाएको छ । उपमहानगरका कार्यकारी प्रशासकिय अधिकृत हरि प्याकुरेलले बक्यौता रकम बुझाउन आउने बारे प्राधिकरणले पठाएको पत्र अहिलेसम्म प्राप्त नभएको बताए ।
उनले प्राधिकरणले प्रमाणसहित सडक बत्तीको रकम माग गरे भुक्तानी गर्न तयार रहेको बताए । ‘कुन आर्थिक बर्षको कति रकम वील सहित माग गरे उपमहानगर भुक्तानी गर्न तयार छ,’ उनले भने ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७६, आईतवार १२:१९  |