सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले यसरी सजायो कोहलपुर पार्क


कोहलपुर २० जेठ : शहरी विकास मन्त्री मो.इस्तियाक राईले सोमबार साँझ सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय पार्कको उद्घाटन गरेका छन् । पार्कको उद्घाटन गर्दै मन्त्री राईले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले सरकारले ल्याएको समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी सकारात्मक प्रयास गरेकोमा धन्यवाद दिँदै मन्त्री राईले सुखी नेपाली समृद्ध नेपालका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताए । उनले भने, ‘निजी क्षेत्रको सहयोगले सरकारको अभियानलाई सहयोग गर्छ ।’

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गर्दै कोहलपुर चौराहामा रु.५० लाखको लागतमा पार्क निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज सुर्खेत राजमार्गको मुख्य केन्द्र रहेको पार्कको सौन्दर्यकरणका लागि पानीको फोहरा र अन्य मनोरञ्जजनात्मक पूर्वाधारहरु तयार गरिएका छन् ।

१७ हजार ५ सय वर्ग्िफटमा फैलिएको चौराहा पार्कको बीचमा बाघको प्रतिमा राखिएको सिद्धार्थ विजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी दिए । नियमित मर्मत सम्भारको अभावमा जीर्ण र अलपत्र रहेको पार्कलाई व्यवस्थित गर्नका लागि सिद्धार्थ विजनेश ग्रुपले नगरपालिकासँगको सहकार्य गरेर १५ बर्षसम्म सञ्चालन अनुमति पाएको छ ।

 

पार्क क्षेत्रमा दुबो र फुलहरु रोपेर हरियाली र आकर्षक बनाइएको चौराहा पार्कको रेखदेखका लागि सिद्धार्थ विजनेश ग्रुपले नै मालीको ब्यवस्थासमेत गरेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य र साझेदारी गरेर अघि बढ्ने उद्देश्यले निर्माणसँगै सञ्चालनको जिम्मा सिद्धार्थ विजनेश ग्रुपलाई दिएको कोहलपुर नगरपालिकाका प्रमूख लुटबहादुर रावतले बताए । सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रमुख केशव न्यौपानेले सामाजिक उत्तरदायित्वबहन गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

प्रकाशित मितिः     २० जेष्ठ २०७६, सोमबार २१:२५  |