‘नेपालगञ्जसंग सहकार्य गर्न तयार छौं’–होटल संघ पोखराका अध्यक्षसंगको कुराकानी


नेपालगञ्ज -पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले नेपालगञ्जसंग पर्यटन व्यवसायको प्रर्वद्धनमा सहकार्य गर्न तयार रहेको बताएका छन् । पर्यटन प्रर्वद्धनका लागि नेपालगञ्ज–पोखरा उडान अत्यावश्यक भएको उल्लेख गर्दै अध्यक्ष तुलाचनले त्यस विषयमा नेपालगञ्जमा उठेको आवाजमा ऐक्यबद्धता जनाए ।

‘नेपालगञ्ज–पोखरा उडानका लागि भएका छलफल सकारात्मक छन् । यसलाई अझ सशक्त पारेर लैजानुपर्छ ।’ नेपालगञ्ज बिजनेशसंगको टेलिफोन कुराकानीमा अध्यक्ष तुलाचनले भने–‘पोखरा र नेपालगञ्जले सयुक्तरुपमा दवाव दिन सक्यौ भने उडानको काममा सफल हुन्छौ  ।’ नेपालगज र पोखराबीच पर्यटन प्रर्बद्धनमा सहकार्य गरेर जान सकेमा दुबै शहरलाई फाईदा पुग्ने बताउँदै त्यसका लागि ठोस योजना सहित अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।

नेपालगञ्ज–पोखरा उडानका लागि सशक्त आवाज उठाउँ

नेपालगञ्ज–पोखरा उडान आवश्यक छ । हवाई सम्पर्क भयो भने पर्यटन प्रर्बद्धनमा सहजता आउँछ । पर्यटकका लागि सडक भन्दा  हवाई मार्ग प्रयोग नै उत्तम हुन्छ । तर हवाई उडान गर्ने कुरा सामान्य कुरा होइन । एयरलाइन्स यसका लागि तयार हुनुपर्छ । उनीहरुलाई मनाउन सशक्त आवाज उठाउने र बजारको सुनिश्चिता गराउने दायित्व हाम्रो हो । पोखरा र अरु शहरबीच हवाई सम्पर्क त्यसै जोडिएको होइन । निरन्तर लागिपरेपछि सम्भव भएको हो । त्यसैले नेपालगञ्ज–पोखरा उडानका लागि दुबै ठाउँबाट शसक्त भएर लागौं ।

ढिलै भए पनि अभियान शुरु गरेकोमा खुःसी लाग्यो

पोखराको पर्यटन प्रर्बद्धनका लागि देश र बिदेशमा अभियान चलाउँदै आएका छौं हामीले । त्यसक्रममा नेपालगञ्ज जस्तो पश्चिमको ट्रान्जिट शहरमा कयौं पटक गएका थियौ ।  तर जति पटक गए पनि त्यहाँ उत्साह देखिएन । ‘रेस्पोन्स’ नै भएन भन्ने कुराको महसुस भयो । त्यस्तो अवस्था भएपछि हामीले आजभोली चासो दिन छाडेका थियौं । तर अब स्वयं नेपालगञ्जका होटल व्यवसायी र सरोकारवाला अन्य पक्षले अभियान शुरु गरेको सुन्दा खुःसी लाग्यो । यसलाई निरन्तरता दिएर नेपालगञ्ज र पोखराबीच व्यवसायीक साझेदारी गर्ने तहसम्म पुर्याउन सक्नुपर्छ । त्यसका लागि हामी हातेमालो गर्न तयार छौं । आतुर छौं ।

सहकार्यले दुबै शहरलाई फाईदा पुग्छ

पोखरा देशकै प्रमुख पर्यटकिय गन्तव्य हो । नेपालगञ्ज पश्चिमको ट्रान्जिट । हाम्रो सहकार्यले दुवै शहरलाई फाईदा हुनेवाला छ । बिभिन्न प्याकेज बनाएर सहकार्य गर्न सक्यौं भने राम्रो बिजनेश बढ्छ  । उत्तरप्रदेश जस्ता भारतीय राज्यबाट नेपालगञ्ज हुँदै पोखरासम्म पर्यटक ल्याउन सक्यौं भने राम्रो । पोखरा आएका पर्यटकलाई नेपालगञ्ज हुँदै पश्चिमको प्रसिद्ध पर्यटकिय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, खप्तड घुमाउन सक्यौ भने त्यसले पनि राम्रै हुन्छ । तर त्यसका लागि रणनीति बनाएर काम गर्ने हामी सबैमा इच्छा शक्ति चाहिन्छ ।

भेटघाट, छलफल निरन्तर भइरहनुपर्छ 

पर्यटन प्रर्बद्धनका लागि हामी साच्चिकै लागेका हौं भने छलफल र भेटघाटलाई निरन्तरा दिउँ । रणनीति बनाउनतिर लगौं । नेपालगञ्जका उद्योगी, व्यवसायीहरु पोखरा आउनुहोस् । हामी नेपालगञ्ज आउँछौं । दोहोरा छलफल र भेटघाटले नतिजा दिन्छ ।

https://nepalgunjbusiness.com/2019/07/9620/

प्रकाशित मितिः     १४ श्रावण २०७६, मंगलवार ०७:२९  |