विदेशी नागरिकबाट लिइने हवाई भाडा घटाउने संकेत


तस्वीर : उज्यालो अनलाईनबाट

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत गर्नुभएको छ । नागरिक उड्डयन प्राधिकरणद्धारा बिहीबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले आन्तरिक उडानमा विदेशीलाई लिइने भाडा दर घटाउने संकेत गरे  ।

आन्तरिक उडानमा विदेशीलाई लिइने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आइरहेको भन्दै उनले त्यसबारे व्यवसायीहरुसँग परामर्श गरेर छिट्टै निर्णय गरिने बताए । उनले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्‍याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याए ।

मन्त्री भट्टराईले सरकार र निजी क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै अलग्गै निकायका रुपमा नबुझ्न आग्रह गरे  । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।  तर, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कार्यक्रमबाट निस्कनेबित्तिकै हवाई भाडा समायोजन हुन नसक्ने प्रतिक्रिया दिए । ‘मन्त्री भट्टराईले भने जसरी भाडा समायोजन गर्ने हो भने हामी सरकारलाई चाबी बुझाउँछौं, तर भाडा समायोजन गर्दैनौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने । ‘हामीले जबर्जस्ती विदेशीहरुलाई जहाजमा चढ्नु भनेका छैनौं, त्यो उहाँहरुको इच्छा हो, प्रबन्ध निर्देशक बस्नेतले भने, ’गाडीमा जानेहरु पनि छन् नि ।’

डलर फेयरमा समायोजन गर्ने भने नेपालको सबै एयरलाइन्सहरु बन्द हुने अवस्थामा पुग्ने भएकोले कुनै पनि हालतमा मन्त्रीको प्रस्ताव नमान्ने उनको भनाइ छ । हवाई भाडा समायोजन गर्ने्बित्तिकै नेपालमा पर्यटकको सङ्ख्या वृद्धि नहुने भएकाले सङ्ख्यात्मकतर्फ लाग्न नहुने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाली हवाई कम्पनीहरुले लिने भाडाको कर सरकारलाई पनि बुझाइरहेकाले फाइदा सरकारले पनि लिने गरेकाले यसमा कुनै सहमति हुन नसक्ने बताए । हालकै भाडामा विदेशीहरु जहाज चढ्न भीड हुनाले कुनै समस्या नभएको उनको भनाइ छ ।

नेपाली र विदेशी कम्पनीहरुको भाडा समायोजनको प्रस्ताव यसअघि भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले स्व. पर्यटनमन्त्री अधिकारीसामु राखेका थिए । नेपालमा २० लाख पर्यटक भित्र्याउन आन्तरिक रुपमा हवाई भाडा समायोजन अनिवार्य भएको भन्दै मन्त्री अधिकारीलाई कन्भिन्स गराएका थिए ।

https://nepalgunjbusiness.com/2019/08/10238/

प्रकाशित मितिः     ३० श्रावण २०७६, बिहीबार १९:२६  |