कृषिमा जमेका विद्यार्थी नेता


  • बिद्युतमा रैका /ई-आवाजबाट

कोहलपुर : प्रदेश नम्बर ५ का नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने बागेश्वरी कृषि फर्मका अध्यक्ष हुन् । ३९ वर्षिय न्यौपानेले आफ्नो जीवनको लामो समय राजनीतिमा बिताए । विद्यार्थी राजनीतिबाट सुरुभएको उनको राजनीतिक यात्रा जनयूद्धसम्म पुग्यो । उनले, स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादीबाट कोहलपुर नगरपालिकाको अध्यक्षका लागि चुनाव लडेका थिए । न्यौपानेलाई राजनीतिले मात्रै चित्त बुझेन । केही न केही गर्ने सोच बनाए । उनले गाउँकै साथीहरुसंग सल्लाह गरे । अन्तत सबैको कृषि फर्म सञ्चालन गर्ने सल्लाह भयो । उनीहरुले कोहलपुर नगरापालिका वडा नम्बर ६ मा बागेश्वरी कृषि फर्म सञ्चालनमा ल्याएका छन् । २०७५ फागुन महिना देखि सुरुवात भएको यस फर्ममा खसी, ब्रोईलर कुखुरा, लोकल कुखुरा, हाँस रहेका छन् । भने तरकारी खेती, धान खेती, कागती खेती पनि गरिएको छ । यस फर्ममा श्रीप्रसाद राना भाट, कविराम पुलामीमगर, रणबहादुर मर्याङ्गी मगर र अमर चन्दको सहकार्य रहेको छ ।

बिहान ६ बजे फर्ममा पुगेर कुखुरा, खशीलाई दाना दिनु, खोर सफा गर्नु तरकारी बालीमा पानी हाल्नु, गोडमेल गर्नु उनीहरुको दैनिकी हो । फर्ममा ब्रोईलर १५ सय, हाँस १००, लोकल कुखुरा १००, खसी १५ वटा रहेका छन् । उनीहरुले बाख्रा पालनको लागि ठुलो खोर समेत बनाईसकेका छन् । उक्त खोरमा करिब ५०/६० वटा बाख्रा अटाउन सक्छन् । फर्ममा उनीहरुले मौरी पालनको लागि २५ वटा मौरीका घार समेत राखिसकेका छन् । तरकारी खेती पनि गरिरहेका छन् । तरकारी खेतीको लागि टमाटर काउलीको व्याड राखिएको फर्ममा देख्न सकिन्छ । उनीहरुले बेमौसमी तरकारी खेती गर्ने पनि तयारी गरिरहेका छन् । कृषि उत्पादनको लागि उनीहरुले प्रदेश नम्बर ५ को कृषि मन्त्रालयबाट करार खेतीका लागि सहयोग पाएका छन् । करार खेती मार्फत बागेश्वरी फर्ममा करिब १०० वटा कागती, लिप्टिसका बिरुवा रोपिएको छ । करार खेती अन्तरगत जग्गाको भाडा तिर्न तथा पूर्वाधार निर्माणको लागि प्रदेश सरकारको कृषि मन्त्रालयले ३ लाख रकम अनुदान दिएको छ । उनीहरुले १ विगाहमा धान, मकै लगाएका छन् भने १५ कठ्ठामा बकाईनोका बिरुवा रोपेका छन् । खसी, बाख्राको लागि घाँस किन्नु पर्दैन । घाँस पनि आफैले लगाएका छन् । हालसम्म उनीहरुले ३ लटमा कुखुराहरु बेचिसकेका छन् ।

कुखुराबाट करिब ३ लाख भन्दा बढी आम्दानी भएको छ । त्यसबाट करिब १ लाख ५० हजार बचत गरेका छन् । यस वर्ष आएको हावाहुरीबाट कृषि फर्मको भवन भत्किएको थियो । भवन भत्किदा करिब १ हजार ५०० कुखुरा मरेका थिए । यसबाट करिब ५ लाखको क्षति बेर्होनु पर्याे । त्यसको क्षतिपूर्ति बापत कोहलपुर नगरपालिकाले १० हजार रकम दिएको फर्मका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । हावाहुरीबाट भत्किएको भवनको निर्माण कार्य सम्पन्न भैसकेको छ । हालसम्म कुखुरा तथा खसीमा कुनै किसिमको रोग लागेको छैन । उनीहरु सबै मिलेर निकै रेखदेख गर्छन् । फर्ममा ३ जना युवाले रोजगारी समेत पाएका छन् । कृषि उत्पादन बढाउनको लागि नगर कृषि शाखाका प्रमुखसंग छलफल गरिरहन्छन् । उनीहरुले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । कृषि शाखाबाट उनीहरु खेती गर्ने तरिका, अम्लिय माटोको उपचार गर्ने तरिका, तरकारीको सुरक्षा, विषादी प्रयोगकाबारेमा जानकारी लिने गर्छन् ।

अध्यक्ष न्यौपाने भन्छन्,–‘तरकारीबाट राम्रो आम्दानी हुने भएपनि बजार व्यवस्थापनमा समस्या भएर सोचेजस्तो फाइदा लिन सकिदैन । यहाँबाट उत्पादन भएका तरकारी भन्दा विदेशबाट आएका तरकारी किन्ने गर्छन् । यसले सोचे जस्तो फाइदा लिन सकिएको छैन ।’ केही वर्षअघिसम्म गुजाराका लागि खेती तथा रोजगारी गर्ने उनीहरू हाल व्यवसायिक बन्दै गएका छन्न् । छोराछोरीको शिक्षा र घरखर्च जुटाउने माध्यम कृषि फर्म बनेको छ । पढाउनेदेखि लिएर सबै खर्च त्यहीबाट धानीरहेका छन् । उनीहरूको कमाउने मुख्यथलो कृषि फर्म बनेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउने तथा उत्पादन बढाएर आयात घटाउने उद्देश्यले कृषि फर्म सञ्चालन गरिएको हो । कृषि फर्ममा कृषिजन्य वस्तु उत्पादन र पशुपालनसमेत थालिएको छ । फर्मका अध्यक्ष न्यौपानेले भने,–‘बढ्दो बेरोजगारीलाई कम गर्न हामीले फर्म सञ्चालन गरेका हौ । यस फर्मले कृषि क्षेत्रमा नमुना योग्य काम गर्नेछ । कृषि व्यवसायबाट आयआर्जन गरि जीवनयापनमा मद्दत पुग्नेछ ।’ यस वर्ष भित्रमा करिब १० जनालाई रोजगारी दिने फर्मको लक्ष्य रहेको छ । कृषि फर्ममा लगानी बढाउँदै जाने न्यौपानेले बताए । उत्पादन बढाई आत्मनिर्भर हुने उद्देश्य उनीहरुको छ । उपभोक्तालाई अर्गानिक तरकारी पुर्याउने न्यौपानेको रहर छ । कृषि फर्मका लागि नगरपलिकाको अनुदान सहयोग पाएका छन् ।

कृषि फर्ममा नगरबाट ३ वटा कार्यक्रम परेको छ । आफु दक्ष र अब्बल हुनको लागि आर्थिक स्रोत हुनु पर्ने हुनु पर्ने न्यौपानेको भनाई छ । यसका लागि व्यवसायिक बन्न आवश्यक रहेको उनको भनाई छ । कृषि उत्पादन गरि परनिर्भरता हटाउने उनको लक्ष्य छ । यस्ता किसिमका कृषि उत्पादनले परनिर्भरता हट्न सक्ने उनले बताए । आफ्नो यस कार्यले आत्मनिर्भर बन्न टेवा पुग्ने उनको विश्वास छ । उनी भन्छन्,–‘सानो कार्यले ठुलो उपलब्धी ल्याउन सक्छ । हामीले आट्नु पर्छ असम्भव केही छैन । हामी यस कार्यमा लागेका छौ यसले हामी जस्ता अरु युवालाई पनि प्रेरणा पुग्छ ।’ प्रदेश नम्बर ५ सरकारको कृषि मन्त्रालयले पनि कृषिका क्षेत्रमा थुप्रै लगानी गरिरहेको छ ।

कृषि मन्त्री आरती पौडेल बागेश्वरी कृषि फर्ममा सहयोग गर्न सकारात्मक रहेको न्यौपानेले बताए । कृषिका योजनामा यस फर्मलाई समावेश गर्ने मन्त्री पौडेलले आश्वासन दिएको उनले बताए । प्रदेश सरकारले कृषिका लागि किसानहरुलाई अनुदान रकम दिने गरेको छ । यस्ता अनुदानले परनिर्भरता झन बढेको उनी सुनाउँछन् । अनुदान भन्दा सहुलियत व्याजमा ऋण दिन उनले प्रदेश सरकारसंग आग्रह गरेका छन् । आफ्नै घरमा व्यवसायिक तरकारी खेती, कुखुरा पालन तथा बाख्रा पालन गर्दा उनीहरु एकदमै खुशी छन् । तर बजार व्यवस्थापनको समस्या झेल्दै आएका छन् । कृषि उत्पादन गर्ने पनि बजार तथा मुल्य नपाउने उनले बताए । हरेक स्थानीय तहमा कृषि खरिद केन्द्र स्थापना गर्न उनले माग गरेका छन् । कृषि खरिद केन्द्र स्थापना गरि मुल्य पनि निर्धारण गरिदिए कृषिमा हुने कालोबजारी बन्द हुने उनको विश्वास छ ।

साभार

प्रकाशित मितिः     ३१ श्रावण २०७६, शुक्रबार १५:४५  |