‘नेपालगञ्जको अभिभावक बन्ने’ प्रचण्डको वाचा व्यवसायीले सम्झाइदिए


नेपालगञ्ज १९ कात्र्तिक – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालगञ्जका उद्योगी, व्यवसायीले नेपालगञ्जको अभिभावक बन्ने वाचा सम्झाएका छन् । २०७४ सालको निर्वाचनका क्रममा त्रिभुवनचोकको सभामा प्रचण्डले पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको निधन पछि उनको गृहनगर नेपालगञ्जको अभिभावक बन्ने वचन दिएका थिए ।

उक्त निर्वाचन सम्पन्न भई देशमा विधिवतरुपमा संघीयता कार्यान्वयन हुँदा नेपालगञ्ज प्रशासनिक र राजनीतिकरुपमा कमजोर भएको नेपालगञ्जले महसुस गरेको छ । देशकै पुरानो शहर यसरी ओझेल पर्नुमा राजनीतिक अभिभावक नहुनुको मुख्य कारण भएको मानिदै आइएको छ । पार्टी कार्यक्रममा सहभागि हुन मंगलवार नेपालगञ्ज आएका बेला प्रचण्डसंग नेपालगञ्ज उद्योग वाणिज्य संघमा भेटघाट कार्यक्रमको आयोजना गर्यो ।

उक्त कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने,–‘यहाँले नेपालगञ्जको अभिभावक बन्ने भन्दा हामी अब केही हुन्छ भनेर हौसिएका थियौं । तर त्यो हौसला धेरै दिन टिकेन् । नेपालगञ्ज एकपछि अर्को गर्दै पछि परिरहेको छ । यसले राजनीतिक अभिभावक पाएन ।’ बैश्यले प्रचण्डलाई अभिभावक बन्न आग्रह गर्दै यहाँको विकासका लागि गर्नुपर्ने विवरण सहितको ज्ञापनपत्र बुझाए ।

सोही कार्यक्रममा संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि प्रचण्डको वाचा सम्झाइदिएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतका उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो । उनले उक्त वाचा पुरा गर्न आग्रह गरेका छन् । जवाफमा प्रचण्डलले नेपालगञ्जप्रतिको माया, ममतामा कुनै कमी नगरेको बताउँदै उद्योगी, व्यवसायीलाई आश्वस्त पारेका थिए । उनले यहाँको विकासका लागि आगामी दिनमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपाका अध्यक्ष प्रचण्ड नेकपा बाँकेको पार्टी कार्यालयमो चियापान कार्यक्रममा सहभागि हुँदै छन् । बिहान राँझा बिमानस्थलमा पत्रकारसंगको भेटघाटमा सहभागि भएका थिए ।

प्रकाशित मितिः     १९ कार्तिक २०७६, मंगलवार १२:४३  |