नेपाल -भारतका मुद्रण व्यवसायी भेटघाट


नेपालगन्ज -भारतका मुद्रण उद्योग व्यवसायीहरुको एक टोली नेपाल भ्रमणको क्रममा नेपालगन्ज आइपुगेका छन् । नेपाल मुद्रण उद्योग संघ, बाँकेको संयोजन तथा नेपाल मुद्रण उद्योग महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालको अगवाई र अग्रसरतामा उक्त टोलीलाई नेपालगन्जमा भव्य स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष (प्रदेश नं.७) का महेश दाहालको अगुवाई तथा अल इण्डिया फेदरेसन अफ माष्टर प्रिन्टर्सका पूर्व अध्यक्ष प्रोफेसर कमल चोप्राको नेतृत्वमा धनगढीदेखि काठमाडौंको लागि हिंडेको प्रिन्ट यात्राको क्रममा बाँकेका मुद्रण व्यवसायीहरुसंग भेटघाट गर्ने क्रममा नेपालगन्जमा आइपुगेको महासंघका केन्द्रीय सदस्य मीना सुवेदी ढकालले बताउनु भयो ।
उक्त अवसरमा प्रोफेसर कमल चोप्राले भारतको मुम्बईमा सन् २०२० जनवरी ६ देखि ९ गतेसम्म हुने अन्तर्राष्ट्रिय प्रिण्टिङ मेला तथा एलाइड

मेशिनरी इण्डष्ट्रीजको प्रदर्शनीको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको जानकारी दिनुभयो । महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालले नेपालका मुद्रण व्यवसायीहरुले यो अन्तर्राष्ट्रिय प्रिण्टिङ मेला तथा एलाइड मेशिनरी इण्डष्ट्रीजको प्रदर्शनीमा सहभागी भएर व्यवसायिक फाइदा उठाउन आग्रह गर्नुभयो र महासंघले यो अवसर दिएकोमा आभार पनि व्यक्त गर्नु भयो ।
उक्त स्वागत तथा भेटघाट कार्यक्रमको प्रारम्भमा भारतीय टोलीलाई महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकाल र नेपाल मुद्रण उद्योग संघ बाँकेकी अध्यक्ष कुसुम बस्नेतले खादा ओढाएर स्वागत गर्नु भएको थियो ।
सो अवसरमा महासंघका केन्द्रीय सदस्य तपेन्द्र विक्रम शाह, महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष मेघराज ओली, संघका संस्थापक अध्यक्ष ज्योति लाल भण्डारी लगायत बाँके जिल्लाका करीब दुई दर्जन मुद्रण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २० कार्तिक २०७६, बुधबार ०८:००  |