बाँकेको होटल तथा पर्यटन क्षेत्रको निष्कर्ष–‘सरकारले पूर्वाधार तयार नगरे लगानी डुब्छ’


नेपालगञ्ज २६ कार्तिक – सरकारले पूर्वाधार तयार नगर्ने हो भने बाँकेको होटल तथा पर्यटन क्षेत्रमा भएको लगानी डुब्ने खतरा रहेको भन्दै चिन्ता प्रकट गरिएको छ । सरकारका तर्फबाट नयाँ हवाई रुट सन्चालन, जिल्लामै नयाँ पर्यटकियक्षेत्रको गन्तव्य बिस्तार र भएका पर्यटन क्षेत्रको व्यवस्थापन जस्ता काम गर्नुपर्ने उनीहरुको माग छ ।

पर्यटकिय सम्भावनाका बारेमा नेपाल पर्यटन बोर्डले मंगलवार होटल सिद्धार्थ भ्यूमा आयोजना गरेको सरोकारवाला निकायसंगको अन्तरक्रियामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन । होटल एशोसिएशन नेपालका केन्द्रीय सदस्य अशित शमशेर राणाले थुप्रै सम्भावना बोकेको शहर भएकाले नेपालगञ्जमा निजी क्षेत्रको उल्लेखिय लगानी भित्रिएको बताए । तर पर्यटक भित्रा्उन राज्यका तर्फबाट पूर्वाधार क्षेत्रमा हुनुपर्ने लगानी हुन नसकेको उनको बुझाई छ ।

लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा रहेका राणाले थोरै थोरै विकासले नेपालगञ्जलाई केही नहुने स्पष्ट पारे ।‘परिवर्तन हुँदैन नभएको होइन । हिजो भन्दा आज केही न केही फरक छ ।’ राणाले भने–‘तर यत्ति कुरामा चित्त बुझाएर भएन । नयाँ हवाई रुट बनाएर अगाडी बढ्ने जस्ता कुरा त सरकारले नै गर्छन ।’

होटल किचन हटका म्यानेजिङ्ग डाइरेक्टर बिनोदराज मैनालीले पूर्वाधार नबन्दासम्म बाँकेको पर्यटक भित्रिने सम्भावना नभएको बताउँदै भने,–‘त्यो अवस्थामा यहाँ होटलका क्षेत्रमा भएको लगानी डुब्ने निश्चित छ । होटल डुब्दा एउटा लगानीकर्ता मात्र डुब्दैन, देशलाई पनि घाटा हुन्छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज–दिल्ली–पोखरा जस्ता नयाँ गन्तव्यमा उडान सुचारु गर्न सक्नुपर्ने बताए ।‘निजीक्षेत्रले लगानी गर्ने गरिसक्यो अब नयाँ रुटमा उडान भर्ने काम त राज्यले गर्न सक्छ नी । त्यो गर्नुपर्छ ।’– श्रेष्ठले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यवहाक मेयर उमा थापामगरले निजीक्षेत्रले बनाउने योजना साथ रहने बताईन । उनले नेपालगन्जलाई पश्चिम क्षेत्रको पर्यटनको हब बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गरिन । पर्यटन बोर्डले निकै लामो अन्तराल पछि बाँकेमा यस्तो कार्यक्रम गरेको हो ।

प्रकाशित मितिः     २६ कार्तिक २०७६, मंगलवार १४:३२  |