पश्चिमको ‘आर्थिक हब’मा नयाँ उद्योग खोल्ने लहर


नेपालगञ्ज – बाँकेमा कुनै बेला चामल, चिउरा उद्योग छ्याप्पछ्याप्ती पाइन्थे । धान प्रशस्त फल्ने भएकाले पनि त्यस्ता उद्योगमा लगानीकर्ताको आर्कषण थियो । यो भन्दा ठुलो उद्योग गर्नेले खोट संकलन गरी बिदेश निर्यात गर्ने रोजिनमा लगानी गरे । यिनै उद्योगबाट कतिले मनग्य कमाए त कति धरासायी बने । तर उत्पादनमुलक उद्योगमा यिनैको दबदबा रह्यो । एकाध बाहेक बाँकेमा उद्योग भनेकै चामल, चिउरा कुट्ने र रोजिनहरु थिए भन्दा फरक पर्ने अवस्था थिएन ।

तर अवस्था २०५२ सालबाट बद्लियो । राजनीतिक अस्थिरता शुरु भएसंगै धान उत्पादनमा समेत ओरालो लाग्यो । एकातिर राजनीतिक अस्थिरता अर्को तर्फ धान उत्पादन घट्दै गयो । चालम, चिउरा उद्योग धरासायी भए । कयौं ठुलो उद्योग बन्द भए । केही साना–तिना मिलमा सिमित भए । अर्कोतर्फ रोजिनको अवस्था पनि पछिल्लो समय ठिकठाक छैन् । बन्द हुने अवस्थामा छन् ।

२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगहरु

यसरी बाँकेमा पुराना उद्योग बन्द हुँदै गएका छन् । तर यसको अर्थ नयाँ नथपिएको भने होइन । बाँकेमा पछिल्लो समय छडदेखि सिमेन्ट उत्पादन गर्ने ठुलो उद्योग धमाधम खुल्न थालेका छन् । पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठुला औद्योगिक समूहको आर्कषण बढेको छ । प्रादेशिक राजधानी नबन्ने हो भने जिल्लाको सदरमुकाम नेपालगञ्जलाई ‘ पश्चिम नेपालकै आर्थिक राजधानी’ बनाउनुपर्छ भनेर उठेका आवाजलाई उद्योग सञ्चालनको यस्तो आर्कषणले थप सशक्त बनाउने देखिन्छ ।

प्रशासनिक र राजनीतिक शक्ति गुमाउँदा पीडाबोध गरिरहेको नेपालगञ्जका लागि उद्योग, कलकारखाना खोल्न क्रम बढ्दै जानुले उत्साह भने थप्ने छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक कुरा भएको बताउँछन् । उनी भन्छन्,–‘बाँके लगानीका लागि उर्बर ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’

आव ०७५/७६ मा बाँकेमा ८ ठुला उद्योग थपिए, रु ३ अर्व ६८ करोड लगानी भित्रियो

उद्योग बिभागका अनुसार २०४७ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग थपिए । बाँकेमा उद्योग संचालनका लागि जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोवाइल नेपाल प्रालिको सर्भिस सेन्टरले उद्योग बिभागबाट दर्ता अनुमति लिए । ती मध्ये अधिकांस उद्योग सञ्चालनको प्रक्रियामा रहेका छन् ।

द्वन्द्वकालमा बाँकेले गुमाएका कतिपय पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको अध्यक्ष बैश्यको बुझाईछ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् ।

बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘यो वातावरणलाई संधै यस्तै बनाईराख्न जरुरी छ ।’बाँके जिल्लामा स्टील उद्योगको आर्कषण नै देखिएको छ । देशकै सबैभन्दा ठूलो औद्यागिक समूह जय अम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु. चार अर्व १५ करोड चुक्तापुँजी सहित उद्योग संचालनको तयारी गरिरहेको छ ।

त्यस्तै सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु. २४ करोड चुक्ता पुँजी सहित उद्योग स्थापना गरेको छ । उद्योग बिभागका अनुसार, दर्ता भएका सात मध्ये नेपाल वेलहोप एग्रीटेक प्रालिको चितवन पछिको दोस्रो शाखा हो । चितवनमा रहेको उद्योगले कोहलपुरमा रु. २४ करोड लगानी गरे उद्योग संचालनमा ल्याइसकेको छ ।

उक्त उद्योगले दानाहरु उत्पादन गर्दै आएको छ । बाँकेमा रु. २४ करोड लगानीमा भिएमआई ग्रुप अन्तर्गत बर्षा रिसाईक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ । त्यस्तै विकास फ्लोर मिलले रु. २ करोड ४५ लाख लगानी गरेको छ । भिभो मोवाइल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु. ३० लाख लगानी गर्ने उद्देश्य सहित गत आर्थिक वर्षमा उद्योग बिभागबाट दर्ता प्रमाणपत्र लिएको छ ।
बाँकेमा होटल क्षेत्रमा सोल्टी समूहले समेत पाँच तारे होटल संचालनमा ल्याएको छ ।

संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ति दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ ।
विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।

ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा सहजरुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’
भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको छन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।

प्रकाशित मितिः     ९ मंसिर २०७६, सोमबार ०७:३७  |