‘नेपालगञ्जलाई झुलाउने योजना नबनोस्’–राँझा ‘एयरपोर्ट’को गुरुयोजना बारे टिप्पणी


नेपालगञ्ज १५ मंसिर – पूर्वयोजना अनुसार काम भएको भए आगामी माघ महिनामा नेपालगञ्ज–दिल्ली हवाई उडान हुने थियो । तर भारतले एयररुट अनुमति नदिएको भन्दै तत्काललाई उक्त उडानको ‘च्याप्टर क्लोज’ भएको छ । केही दिन अघि पर्यटन मन्त्री योगेश भट्टराई नेपालगञ्ज आए । पर्यटन र हवाई उडानका बिषयमा सरोकारवालासंग बृहद छलफल भयो । मन्त्री भट्टराई आउँदा नेपालगञ्ज –दिल्ली उडानका बिषयमा खुसीको खबर सुन्ने प्रतिक्षामा थियो, नेपालगञ्ज । तर फेरी नेपालगञ्जले चाहेको जस्तो भएन ।

मन्त्री भट्टराईले एयररुट अनुमतिकै कारण नेपालगञ्ज –दिल्ली उडान हुन नसकेको मात्र बताएनन् त्यसको सट्टा नेपालगञ्ज बिमानस्थल कायपलट हुने २० वर्षे गुरुयोजना सुनाए । नागरिक उडड्यन प्राधिकरणका तर्फबाट उक्त गुरुयोजना प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा नेपालगञ्जका मेयर धवल शमसेर राणाले नेपालगञ्ज–दिल्ली उडानका बिषयमा खुसीको कुरा सुन्न चाहेको तर त्यो पुरा हुन नसकेको बताए । उनले भने,–‘एक वर्ष अघि २०७६ माघमा नेपालगञ्ज–दिल्ली उडान हुने भनिएको थियो । त्यहाँ अहिले कुन अवस्थामा छ ? हामी जान्न चाहान्छौ ।’ मेयर राणाले उक्त गुरुयोजना एकवर्ष अघि सार्वजनिक गरेकै जस्तो रहेको बताए । तर नागरिक उडड्यन प्राधिकरणले भने गुरुयोजना फरक भएको दावी गरेको छ ।

गुरुयोजना हेर्दा नेपालगञ्ज बिमानस्थलको कायापलट हुने देखिन्छ । तर गुरुयोजना सम्पन्न हुने लामो अवधि राखेकाले संशय पैदा भएको छ । नेपालगञ्ज–दिल्ली उडान जस्ता तत्काल हुन सक्ने योजना खोजिरहेको नेपालगञ्जलाई दुई दशक लामो अवधि सहितको गुरुयोजनाले सन्तुष्टि पार्न सकेको छैन् । सामाजिक सन्जालमा धेरैको टिप्पणी थियो,–‘रु १२ अर्बको प्रोजेक्ट सक्न २० वर्ष लाग्छ ? नेपालगञ्जलाई प्राथमिकता नदिएकै कारण यतिका लामो समय राखेर गुरुयोजना बनाइएको हो ।’ दुई वर्षका योजना सक्न दोब्बर समय लाग्ने प्रबृत्ति रहेको बेला दुई दशकको गुरुयोजना कहिले सकिएला भन्दै प्रश्न समेत गरिएको छ ।

राझा विमानस्थलबाट विमान उडान सुरु भएको ४ दशक भएको छ । बाँकेमा विमानस्थल स्थापना भएको भने ६ दशक भइसकेको छ । २०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई ०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू भएको हो । तराईको पूरानो र व्यवस्थित नेपालगन्ज विमानस्थलले अन्तर्रा्ष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ ।

प्रकाशित मितिः     १५ मंसिर २०७६, आईतवार १०:३८  |