अम्बे समूहको डन्डी उद्योगको औपचारिक पूजा गरियो, उत्पादन एक महिनाभित्र


नेपालगञ्ज २० मंसिर – रु ३ अर्ब लगानीमा अम्बे समूहले जानकी गाउँपालिका–६ मा स्थापना गरेको डन्डी उद्योगको शुक्रवार बिहान औपचारिक पूजा गरिएको छ । सञ्चालक शिवाज न्यौपानले शुभ साहित पारेर उद्योगमा पूजा–आजा गरेका हुन । पश्चिमको सबैभन्दा ठुलो लगानीको उक्त डन्डी उद्योगले एक महिनाभित्र आफ्नो उत्पादन बजारमा ल्याउने लक्ष्य राखेको छ ।

सिमेन्ट र डन्डी उद्योगमा उत्कृष्ट रहेको अम्बे समूहले जानकीमा दोस्रो डन्डीको प्लान्ट खोलेको हो । अम्बेको रुपन्देहीमा पहिलो डन्डी उद्योग रहेको छ । जानकीमा रहेको प्लान्टको क्षमता अझ बढि रहेको छ । अम्बे समूहको उपस्थितीले पश्चिममा ठुला औद्योगिक समूहलाई लगानीका लागि थप आर्कषित गर्ने अपेक्षा गरिएको छ ।

पश्चिम नेपालको प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा पुर्वाधार विकासका काम भइरहेका छन् । त्यसका लागि आवश्यक पर्ने निर्माण सामाग्रीको आपूर्ती पूर्वी नेपालबाट गर्नुभन्दा यही उद्योग खोल्दा प्रभावकारी हुने देखेर यहाँ निर्माणसंग जोडिएका सिमेन्ट, डन्डी उद्योग धमाधम स्थापना भइरहेका छन् । त्यसको ‘ट्रान्जिट’ नेपालगन्ज भएकाले यहाँ उद्योग खुलेको बताउँछन्, अम्बे समूको जानकीमा रहेको उद्योगका इन्चार्ज अनुज श्रेष्ठ । सीमा नाका नजिक हुनु र भारतबाट कच्चापदार्थ भित्रा्उन सहज हुने भएका कारण पनि गनापुरक्षेत्रमा उद्योग खोल्ने क्रम बढेको छ ।

अम्बे समूह पुर्नरुपमा सन्चालन हुँदा दक्ष र अदक्ष गरी चार सय जनाले रोजगारी पाउने छन् । अम्बे समूहले नेपालीलाई रोजगारीका लागि उच्च प्राथमिकता दिने जनाएको छ । तर छड उत्पादन जस्तो प्राविधिक बिषयमा तत्काल दक्ष जनशक्ति पाउन मुस्किल हुने अवस्था भएकाले अन्यत्रबाट कामदार मगाउनुपर्ने बाध्यता छ । तर पनि उक्त उद्योग सन्चालन पछि धेरैले रोजगारी पाउने निश्चित छ ।

प्रकाशित मितिः     २० मंसिर २०७६, शुक्रबार १६:५५  |