महेशराज जोशी
२ सय ५० वर्षको एकात्मकताबाट संघात्मक राज्यमा गएसँगै नेपाल सरकारको प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति हुनुपर्ने नीतिअनुरूप स्थानीय स्तरमा शाखा विस्तार मात्र होइन, प्रादेशीक कार्यालयहरू स्थापना गरी बैंकिङ सेवा विस्तारका सम्भावनाहरूको समेत अध्ययन भइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७६ असोज मसान्तसम्म २८ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त १ सय ६५ बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेको पाइन्छ । २०७६ असोजसम्म कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४१ तहमा वाणिज्य बैंकका शाखाहरू पुगिसकेका छन् ।
मार्क ट्वानले भनेका थिए, “बैंक भनेको घाम लागेका बेला छाता सापटी दिने र पानी पर्न लागेपछि फिर्ता माग्ने संस्था हो ।” तर नेपालजस्तो विकासोन्मुख देशका लागि बैंक भनेको घाम र पानी नभनी हरपल र हरक्षेत्रको विकास र समृद्धिको सारथि बनेको छ । पैसाको उचित व्यवस्थापन नै समृद्धिको आधार हो । सँगै पढेको सँगै खेलेको साथी भविष्यमा कोही सम्पन्न देखिन्छ, कोही विपन्न, त्यसका अनेक कारणमध्ये पैसा र समयको उचित व्यवस्थापन कसले गर्न सक्यो, कसले गर्न सकेन भन्ने प्रश्न प्रमुख बन्न जान्छ । विश्व बैंकिङ क्षेत्रमा कैयौंपल्ट रेटेल बैंक अफ दि एयर भएको रोयल बैंक अफ क्यानडाका प्रमुख सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत डेबिड म्याकेले बैंकको सफलता स्थानीय विकाससँग जोडेका छन् । नेपालमा हुर्कंदै गरेको संघीयता र जुर्मुराउँदै गरेको विकासले पनि समृद्ध नेपालका लागि बैंकहरूको प्रभावकारी तथा जिम्मेवार भूमिका खोजेको देखिन्छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाको स्थानीय तहमा उपस्थिति रहुनुमात्र ठूलो कुरा होइन, स्थापित बैंक तथा वित्तीय संस्थाहरूले नैतिकता र जिम्मेवारीपूर्ण ढंगले स्थानीयहरूलाई वित्तीय साक्षरतादेखि प्रत्येक आधुनिक बैंकिङ सेवामार्फत सुखी, खुसी र सुरक्षित जीवन व्यतीत गर्न अहोरात्र सहयोगी भूमिका निर्वाह गर्न सक्नुपर्छ । स्थानीय विकास र समृद्ध नेपालका लागि बैंक तथा वित्तीय संस्थाहरूको भूमिका बुँदागत रूपमा निम्नअनुसार चर्चा गर्न सकिन्छ ।
१.स्थानीयको निक्षेप स्थानीय क्षेत्रमा लगानी
कुनै पनि बैंक तथा वित्तीय संस्थाका लागि असल कर्जा नै सबैभन्दा ठूलो सम्पत्ति हो भने निक्षेप भनेको कर्जा प्रवाह गर्न आवश्यक पर्ने प्रमुख स्रोत हो । साधारण अर्थमा बुझ्दा रु. ८० कर्जा प्रवाह गर्न रु. १ सय निक्षेप चाहिन्छ । आज कैयौं बैंक तथा वित्तीय संस्थाहरू निक्षेप संकलन गर्ने उद्देश्यले गाउँ–गाउँ जाने तर सो क्षेत्रमा लगानी गर्न नसक्ने प्रचलनले उक्त क्षेत्रको विकासमा बाधा पुगेको देखिन्छ । स्थानीय रूपमा सञ्चालित व्यवसायी, कार्यरत कर्मचारी, किसान तथा विद्यार्थी सबैप्रति जिम्मेवार बनी उनीहरूको सम्पूर्ण बैंकिङ आवश्यकता स्थानीय तहमा खुलेको बैंक शाखाले पूरा गर्नुपर्ने अनिवार्य आवश्यकता हो । नेपाल सरकार र बैंक सञ्चालकहरूले स्थानीय स्तरको विकाससँग जोडिएका बैंकहरूको सम्बन्धित स्थानीय तहहरूमा भएको लगानी तथा छिटोछरितो सेवाबारे सूक्ष्म निगरानी तथा गहन अध्ययन हुनु जरुरी छ ।
२. प्रभावकारी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
स्थानीय नागरिकमा वित्तीय जागरण ल्याउने, गाउँगाउँ, टोलटोलमा बैंकले दिने सुविधा, प्रक्रिया, बैंकिङ पहुँचताले हुने फाइदा, बचत गर्ने बानी विकासका कार्यक्रमहरूसमेत प्रत्येक बैंक तथा वित्तीय संस्थाले प्रभावकारी ढंगले वित्तीय सचेतना अभियानमा लाग्नु आवश्यक छ । शिक्षामा पछाडि परेका समुदायहरू वित्तीय क्षेत्रमा झनै पछाडि परेको देखिन्छ भने बैंकको जानकारीको कमीले भएको पैसा पनि अनौपचारिक वित्तीय प्रणालीजस्तो हुन्डी, साहू–महाजनबाट चर्काे ब्याजमा सापट लिने, ब्याजको लोभमा गाउँमै पैसा लाउने कार्य आदिमार्फत कारोबार गरेको देखिन्छ । यस्ता गैरकानुनी अनौपचारिक आर्थिक प्रणालीबाट हुने पैसाको कारोबार निरुत्साहित गरी सुरक्षित ढंगले बैंकिङ कारोबारका लागि उत्प्रेरित गर्नसमेत स्थानीय सरकारहरू, बैंक तथा वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका हुन्छ । बैंकिङ कारोबार, सेयर कारोबार तथा गैरकोषमा आधारित बैंकिङबारे समेत स्वयम् बैंकहरूले प्रत्येक स्थानीय तहका वार्ड, गाउँ तथा टोलहरूमा प्रभावकारी वित्तीय शिक्षा प्रदान गर्नु अति आवश्यक हुन्छ ।
३. संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
आम समुदाय बैंकसँग र बैंकहरू आमसमुदायसँग जोडिनु उति नै अपरिहार्य हुन्छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाका लागि ग्राहकहरूको सन्तुष्टि नै सबै थोक हो । स्थानीय तहमा खुलेका प्रत्येक बैंकले उक्त स्थानको गरिबी, पछौटेपन तथा अशिक्षालाई हटाई समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ । कुनै पनि व्यावसायिक संस्थाहरूको नाफामा स्थानीय संस्था तथा संगठनहरू, आम समुदाय, उद्यमी तथा किसानहरूको महत्वपूर्ण योगदान हुने भएकाले नाफाको कुनै हिस्सामार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय तहका स्थानीय समुदायहरूलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
४. सहुलीयतपुर्ण कर्जा प्रवाह
नेपाल सरकारबाट आर्थिक वर्ष ०७५-७६ को बजेटमा व्यवस्था भएअनुसार शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा प्रयोजन, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडितहरूको निजी आवास निर्माण एवम् व्यावसायिक कृषि तथा पशुपन्छीजस्ता सहुलियतपूर्ण कर्जाहरू लक्षित वर्गमा अधिकतम रूपमा प्रवाह गर्न सक्नुपर्छ । स्थानीय समुदायहरूको विकासका लागि नै योजनाहरू तर्जुमा भई बैंकहरूका लागि सीसीडी रेसियोमा सहुलियत तथा लक्षित ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ मार्फत महिला उद्यमशीलताको हकमा ६ प्रतिशत र बाँकी सहुलियतपूर्ण कर्जाको हकमा ५ प्रतिशत अनुदानको व्यवस्था गरिएकोमा कैयौं बैंकले यसको कार्यान्वयनमा कन्जुस्याइँ गर्ने तर महँगो ब्याजदरका कर्जाहरूमा मात्र लागिपर्ने गरेको देखिन्छ, जुन स्थानीय तहहरूको विकासका लागि प्रत्युत्पादक बन्ने देखिन्छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समेत स्थानीय तहहरूमा प्रवाह भएका सहुलियतपूर्ण कर्जाहरूको सूक्ष्म अध्ययन तथा प्रवावकारी अनुगमन गरी बैंकहरूलाई उचित पुरस्कार तथा दण्डको व्यवस्था गर्नु अपरिहार्य देखिन्छ ।
५. आधुनिक बैंकिङ सेवाहरू
शिक्षामा पछाडि रहेका समुदायहरूमा आधुनिक बैंकिङ सेवाहरूबारे वित्तीय जागरण पैदा गर्नुको सट्टा प्राविधिक तथा अन्य भगौलिक जटिलताहरू देखाउँदै गाउँमा निक्षेप मात्र संकलन गर्ने र सहरहरूमा बाँकी बैंकिङ सेवाहरू वितरण गर्ने जस्तो अनैतिक कार्यहरूसमेत बैंकहरूबाट गर्ने गरेको देखिन्छ । स्थानीय तहहरूको विकास र समृद्धिमा बैंकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले स्थानीय सरकारसँग समेत प्रभावकारी समन्वय गरी प्राविधिक समस्या समाधान गरी सहरकेन्द्रितभन्दा बढी आधुनिक बैंकिङ सेवाहरूमार्फत आमसमुदायको जीवनस्तर उकास्ने मात्र होइन, सहज बनाउन बैंहहरूले महत्वपूर्ण भूूमिका निर्वाह गर्न सक्नुपर्छ । स्थानीय स्तरमा खुलेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले छिटोछरितो र सस्तो तथा गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न सकेन भने बैंकहरूको उपस्थितिले समाज रूपान्तरण तथा स्थानीय विकासमा सहयोगी भूमिका किमार्थ निर्वाह गर्न सक्दैन । प्रभावकारी सरकारी कारोबार, अहोरात्र राजस्व संकलन, सस्तो ब्याजदरमा अधिकतम कर्जा प्रवाह, आकर्षक ब्याजदरमा निक्षेप सुरक्षित, सीआस्बामार्फत सेयर आवेदन, इसीसीमार्फत कुनै पनि बैंकको चेक जम्मा, आईपीएसमार्फत जुनसुकै बैंकमा पनि पैसा जम्मा, रेमिटको छिटोछरितो तथा सर्वसुलभ सेवा, आरटीजीएस सेवा, पेन्सन भुक्तानी सेवा, मोबाइल बैंकिङ, एटीएम, इन्टरनेट बैंकिङ, स्विफ्ट सेवा, बैंक ग्यारेन्टी तथा एलसी सेवाजस्ता महत्वपूर्ण सम्पूर्ण बैंकिङ सेवा स्थानीय तहहरूमा खुलेका बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा प्रभावकारी ढंगले प्रवाह गर्न सक्नुपर्छ ।
६. ग्राहकमैत्री व्यवहार, सन्तुलित व्यापार
जब जुनसुकै वित्तीय तथा बैंकिङ सेवासम्बन्धी जिज्ञासा, समस्या वा आवश्यकता लिएर एक ग्राहक बैंकसम्म पुग्छ, बैंक बाहिर जाँदा मुस्कान, खुसी र आत्मसम्मानका साथ गएको हुनुपर्छ, किनभने उसले खोजेको जुनसुकै बैंकिङ वित्तीय समाधान बैंकरबाट प्राप्त भएकै हुनुपर्छ । ग्राहक र बैंकहरूको सम्बन्ध बटुवाको होइन, जीवनसाथीको हुनुपर्छ जसले एक–अर्काप्रति विश्वास, आशा र सहयोग जिम्मेवार हकवाला भएर साट्न सकून् । ग्रामीण क्षेत्रमा खुलेका बैंक तथा वित्तीय संस्थाहरूमा झनै ग्राहकहरूलाई उचित प्रामर्स, वित्तीय साक्षरताजस्ता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरी ग्राहकमैत्री व्यवहारका साथ बैंकिङ कारोबार गर्नुपर्छ । वित्तीय संस्थाहरू वृद्ध, अपांग तथा बालबालिकामैत्री हुनु झनै आवश्यक हुन्छ, उनीहरूको वित्तीय नैसर्गिक अधिकारबाट लाभान्वित हुन बैंकहरूले विशेष पहल गर्नु पर्छ । स्वस्थ व्यापार र ग्राहकमैत्री व्यवहारबाट मात्र बैंक तथा वित्तीय संस्थाहरूको दिगो विकास तथा दिगो नाफा सम्भव हुन्छ ।
७. स्वस्थ प्रतिस्पर्धा, इमानदारी र नैतिकता
घरका आमाबुवाभन्दा बढी विश्वास बैंकलाई गरेर आफ्नो पसिना बगाई आर्जन गरेको पैसा बैंकसम्म आइपुग्ने हो । बैंकरहरूको सबैभन्दा ठूलो जिम्मेवारी निक्षेपकर्ताप्रतिको इमानदारीता र नैतिकता नै हो । बैंकिङ प्रतिस्पर्धाको नाममा ग्राहकहरूको विश्वासमा किमार्थ कमी आउनु हुँदैन । आजको युग आधुनिक बैंकिङ सेवा, सुरक्षित बैंकिङ, उद्यमी विकास र समृद्ध समाज निर्माणका लागि प्रतिस्पर्धा गर्ने हो । एक ग्राहकप्रति इमानदार व्यापारी नाफा बढाउने भन्दा ग्राहक बढाउने लक्ष्य राख्छ, सेवा प्रवाहमा प्रभावकारिता खोज्छ, ग्राहकको अनुहारमा खुसी खोज्छ, पसलमा पसेको ग्राहकले हरेक मागको सहज उपलब्धता पाउँछ । आजको विकास र समृद्धिले पनि बैंक तथा वित्तीय संस्थाहरूको जिम्मेवार भूमिका खोजेको छ, नाफा बढाउने भन्दा ग्राहक बढाउने लक्ष्य राखेका बैंकहरू खोजेको छ, आक्रामक शैलीभन्दा दिगो सेवा र भरपर्दाे बैंकिङ सेवा खोजेको छ, जसले सम्पूर्ण नेपालीको अनुहारमा खुसी ल्याउन सकोस् र समृद्ध नेपालको अभियानमा टेवा पु-याउन सकोस् ।
शून्य आफैंमा केही पनि होइन, यसको पछाडि जति ठूलो अंक जोड्यो त्यति ठूलो बन्दै जान्छ, बैंक पनि आफैंमा केही पनि होइन, यसको पछाडि जति ग्राहक जोडिन सके त्यति ठूलो बन्दै जान्छ । नाफाले ग्राहक बढाउन सक्दैन, ग्राहकहरूले नाफा बढाइदिने हो, गुणस्तरीय, विश्वासिलो तथा सुरक्षित आधुनिक बैंकिङ सेवाहरूले ग्राहक बढाउने हो, बैंकिङ कारोबारले स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने हो । बैंक आफैँमा निर्जीव हो, जब ग्राहकहरू जेडिन्छन् तब यसको जीवन श्वास–प्रश्वासले सक्रिय बनाउँछ । बैंकहरूको विकल्प ग्राहक मात्र हो, ग्राहकहरूका लागि अनेक बैंक छन्, हरेक विकल्प छन्, त्यसैले नेपालका बैंकहरू पनि विश्वका लागि मानक बैंक बन्न सक्छन्, तब मात्र जब ग्रामीण तथा स्थानीय तहहरूको विकास र समृद्धिमा अग्रणी भूमिका निर्वाह गर्न सक्छन् ।
बैकिङ्गखबरबाट