क्यान्सरमुक्त आचार्यको दृड आत्मविश्वास


नेपालगञ्ज – दामोदर आचार्य नेपालगञ्जको पार्टीगत र निजी क्षेत्रको राजनीतिका चर्चित खेलाडी हुन । उनी अघि सर्दा चुनावी जोड–घटाउ प्रभावित हुन्छ । राजनीतिमा लाग्नेका लागि हार–जित स्वभाविक नै मानिने भयो । त्यसबाट आचार्य टाडा रहने कुरा भएन । अरुले जस्तै उनले पनि कहिले हार त कहिले जित व्यहोरेका छन । तर उनी संधै केन्द्रीय पात्र बनिरहे ।

आचार्यलाई गत बैशाख १८ गते क्यान्सर रोगले समात्यो । उनका लागि मात्र होइन शुभेच्छुकका लागि समेत त्यो स्तब्ध पार्ने खबर थियो । ‘जस्तो पायो त्यस्तै’ जिवनशैली कहिल्यै नअपनाएका आचार्यलाई त्यो दिन असजिलो भएपछि अस्पताल लगिएको थियो । त्यसअघि २०४८ सालतिर जण्डिस भएर दश दिन अस्पताल भर्ना भएको बाहेक अरु बेला कहिल्यै अस्पताल भर्ना हुनु परेको थिएन । जिवनशैली राम्रै भएका आचार्यलाई भित्र–भित्र भने क्यान्सरले समातिसकेको रहेछ ! जुन कुरा उनले बैशाख १८ मा मात्र महसुस गरे । असजिलो भएर अस्पताल लगेपछि त्यही उनी बेहोस भएर भुईमा लडे । शरिरका बिभिन्न परीक्षण गरियो । तर क्यान्सर नै भन्ने पत्ता लाग्न सकेन । परिवारका अन्य सदस्य चिकित्सा क्षेत्रकै भएकाले थप स्वास्थ्य परीक्षण गर्न सहज भयो । मनमा क्यान्सर जस्तो रोग पो भयो की भन्ने चुसो नपरेको होइन । धेरै परीक्षण गर्दा पनि यहाँ रोग पत्ता नलागे पछि काठमाण्डौ लगियो । काठमाण्डौमा हुँदै उनी भारतको राजधानी दिल्लीमा गए । जहाँ निरन्तर उपचार गरेर आठ महिना पछि बल्ल घर फर्किएका छन् । त्यो पनि क्यान्सर जितेर !

आचार्यले राजनीतिको हार–जितलाई सजिलै पचाए । तर क्यान्सरलाई जित्न निकै मुस्किल पर्यो । पछिल्लो आठ महिना उनका लागि ज्यादै कष्टकर बन्न पुग्यो । क्यान्सर भन्ने वित्तिकै कयौको मनिस्थिती नै कमजोर बन्छ । त्यसलाई निको पार्न गरिने किमो जस्तो उपचार बिधि अझ पिडादायी हुन्छ । तर बाँच्नका लागि संघर्ष गर्नुको बिकल्प रहेन । यसबीचमा क्यान्सर जित्न आचार्यले १२ वटा किमो चढाए । त्यसक्रममा उनले झेलेका कष्ट अहिले सपना जस्तै लाग्छ । यस्ता दुःख झेल्दै आचार्य ‘क्यान्सरमुक्त’ भएर घर फर्किएका छन् । बेग्ले आत्मविश्वास लिएर, नयाँ जिन्दगी सहित ।

अहिले आचार्य आठ महिना अघि कै लयमा फर्किदै छन् । न्यूरोडस्थित घरमा आचार्य आराम गरिरहेका छन् । आराम पनि के भन्नु ? क्यान्सरमुक्त भएर घर फर्किएको धेरै भएको छैन् तर बिहानदेखि रातीसम्म भेट्न आउने आफन्तजन र शुभेच्छुकसंग मज्जाले बोल्न छाडेका छैनन् । जो आउँछ सबैसंग गफिन्छन् । दिउँसो एक/दुई घण्टा भने सुत्छन् । आफन्तले भेटघाट कम गर्ने की भन्ने योजना नबनाएका होइनन् । तर आचार्यले स्पष्ट निर्देशन दिएका छन्, –‘नयाँ जिवन लिएर फर्किएको छु, भेटघाटमा कसैलाई रोकटोक नगर्नु ।’

अर्थपेज प्रतिनिधि पुग्दा आचार्य बिस्तारामा बसेर केही शुभेच्छुकसंग गफिदै थिए । भेटघाटको सुरुमै आचार्यले उल्टो सन्चा ेबिसन्चो सोधे –‘तपाईलाई कस्तो छ ? आराम हुनुहुन्छ ?’ आचार्य आफ्नो होइन अरुको हालखबर सोधिरहेका हुन्छन् । भन्छन्,–‘मेरो शरिरबाट क्यान्सरको जिवाणु हटिसकेको छ । चिकित्सक र प्राविधिक रिर्पोट अनुसार म क्यान्सरमुक्त भए । तर किमोका कारण अलि कमजोर बनाएको मात्र छ । म ठिक छु, बरु तपाईलाई कस्तो छ ? ’ आचार्यलाई किमोले गर्दा कमजोर महसुस गराएको छ । बाँकी उनको दैनिकी सामान्य बन्दै गएको छ । ‘सामान्य अवस्थामा मैले जे खान्थे अहिले पनि त्यही खान्छु । असजिलो केही छैन ।’– आचार्य भन्छन् ।

माघ ११ गते नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन छ । पूर्व अध्यक्ष समेत रहेका आचार्य निको भएर घर फर्किदा उद्योगी, व्यवसायी खुःसी छन् । आचार्यले आत्मबल बढाउन श्रीमती पार्वता, आफन्तजन र शुभेच्छुकको हात छ । भेट्न आउने शुभेच्छुकसंग गफिदै गर्दा भावूक हुँदै आचार्य भन्छन्,–‘मैले कसैको केही हानी गरेको छैन । आफ्ना लागि होइन अरुकै लागि केही गरेको छु । सायद यही कारण गर्दा होला सबैको माया पाएर बाँचेर आएको छु ।’

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन माघ ११ गते तोकिएको छ । निर्वाचनमा आचार्यको भुमिका कस्तो होला ? सम्भवत धेरैका लागि चासोको विषय बनेको छ । दृड आत्मबिश्वास सहित नयाँ जिवन लिएर फर्किएका आचार्य आफैले यस विषयमा सार्वजनिक हुने गरी कुनै कुरा खोलेका छैनन् । घर फर्किएको धेरै समय भएको छैन ।समय घर्किदै जाँदा आचार्य खुल्ने निश्चितप्राय छ । तर यो भन्दा ठुलो कुरा आचार्य निको भएर घर फर्किएका छन् । चुनावको मुखमा उनको आगमनले रौनक बढाएको छ । चुनाव साच्चिकै चुनाव बन्ने निश्चित भएको छ ।

प्रकाशित मितिः     २६ मंसिर २०७६, बिहीबार १७:२५  |