नेपालगञ्ज १४ पुस – प्रदेश ५ मा बाँके र बर्दियाबाट नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुँदै छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ ।
बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ । ठाकुरद्वारालाई सिङ्गारेर चिटिक्क बनाइँदै छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ । ‘भ्रमण वर्षको शुभारम्भ तथा सन् २०२० को शुरुआतमा भारतीय पर्यटकलाई बाँकेका होटलमा विशेष आतिथ्यताको व्यवस्था गरिएको छ । भोली होटल सिद्धार्थमा बिशेष कार्यक्रमको तयारी गरिदैछ ।
उद्घाटनका दिन बाँके निकुञ्ज जङ्गल सफारी तथा हात्तीसफारी पनि विधिवतरूपमा शुरु गर्ने कार्यक्रम छ । प्रदेश नं ५ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहनुभएको पर्यटन प्रवद्र्धन समिति गठन गरिएको थियो ।
उद्घाटन समारोहमा प्रदेशका मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका पाँच/पाँच सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनुहुने जनाइएको छ ।
कार्यक्रममा विभिन्न जन जातिको संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नृत्य प्रस्तुत गरिने छ । रोल्पाको मगरनाच, दाङ र बर्दियाको थारूनाच, अवधीनाच, पञ्चेबाजासमेत प्रदर्शन गरिने महोत्सवमा गरिने छ ।
रुपन्देहीका पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा र बुटवलमा सडक खाना महोत्सवको आयोजना गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका मुख्य स्थानमा सडक खाना महोत्सवको आयोजना गरिएको हो ।
बिदेशी पर्यटकलाई ‘एयरफेयर’ घटाउँदा पश्चिमको पर्यटन उद्योग फस्टाउने आशा