बैंकबीच निक्षेप संकलनमा प्रतिस्पर्धा


बैंकहरुले आकर्षक योजना सहित निक्षेप संकलनमा नयाँ योजना सार्वजनिक गर्न थालेका छन् । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) को अभाव भएपछि यस्तो योजना ल्याउन उनीहरु बाध्य भएका हुन् ।

मेगा बैंकले साढे ६ प्रतिशत बचत ब्याजदरमा १७ वटा सुविधा र १० लाखसम्मको दुर्घटना बीमा योजना ल्याएको छ । बैंकले ल्याएको योजनामा मोबाइल बैंकिड. र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने छ भने क्रेडिट कार्ड जारी गर्द ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । मेगा माया बचत खाता नाम दिइएको ३ लाख रुपैयाँसम्मको प्राणधातक रोगहरुको बीमा र एक लाख रुपैयाँसम्मको स्वस्थ्य बीमाको व्यवस्था गरेको छ ।

यसैगरी, सेन्चुरी बैंकले ६.५ प्रतिशत ब्याज दिने गरी सेन्चुरी सेभिड. प्लस खाता योजना ल्याएको छ । यस बैंकले पनि बिमा सुविधा तथा जुनसुकै एटिएमबाट रकम झिक्दा पनि पैसा नलाग्ने लगायतका सुविधा योजना ल्याएको छ ।

यस्तो बेलामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देखि सामान्य कर्मचारी र बैंक सञ्चालकसम्म निक्षेप संकलन कसरी गर्ने भन्ने चिन्तामा छन् । लगानीयोग्य रकमको अभावका कारण बैंकको व्यापार व्यवसाय नै खुम्चिने अबस्था आएको छ । बैंकहरुबीच निक्षेप संकलनमा प्रतिस्पर्धा नै चलेको छ ।

एक बैंकले भन्दा अर्को बैंकले आकर्षक योजना ल्याएर निक्षेप संकलनलाई तिब्रता दिन थालेका छन् । बैंकले त्यसरी संकलन गरेको रकम उच्च ब्याजदरमा लगाउने गर्छन् । पछिल्लो समय त्यसरी निक्षेप संकलन गर्न नसकेपछि बैंकहरुले विदेशी वित्तीय संस्थाबाट ऋण लिएर स्वदेशमा ऋण प्रवाह गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउनका लागि सुरुमा नीतिगत रुपमा बाटो खोली दिएपछि बैंकले विदेशबाट ऋण लिन थालेका हुन् । स्वदेशमा लगानी गर्ने पैसा नभएपछि विदेशबाट पैसा ल्याएर ऋण लगानी गर्न बैंकहरु तम्सेका हुन् ।

एनएमबी बैंकले विदेशबाट करिब ५ अर्ब रुपैयाँ भित्र्याइसकेको छ । उसले करिब ९ प्रतिशतको हाराहारीमा विदेशी वित्तीय संस्थाबाट ऋण लिइरहेको छ । अन्य बैंकसँगै विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरेका छन् । भारती बैंकको साझेदारीमा खुलेका एसबिआइ र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिने तयारी गर्दैछन् ।

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये धेरैले विदेशी बैंकसँग ऋणका लागि प्रक्रिया शुरु गरेका छन् । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोली दिएको थियो । त्यही बाटो प्रयोग गरेर बैंकहरुले ऋण लिन थालेका हुन् ।

राष्ट्र बैंकले सुरुमा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाइने ब्यवस्था गरेको थियो । त्यसपछि बढाएर ५० प्रतिशत पुर्याएको थियो । अहिले फेरि बढाएर सत् प्रतिशत पुर्याएको छ । कुनै बैंकको चुक्ता पुँजी आठ अर्ब छ भने त्यही बराबराबको रकम बिदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

ऋणको माग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । तर, बैंकमा ऋण दिने पैसाको अभाव भएपछि विदेशी बैंकबाट ऋण लिएर नेपाली बैंकहरुले सर्वसाधारण लगानीकर्तालाई ऋण दिन थालेका हुन् ।

निक्षेप जति संकलन हुन्छ त्यत्ति नै ऋण प्रवाह भइहाल्ने स्थिति छ । राजनीति स्थायित्व, शान्ति सुरक्षा पहिलेको तुलनामा सुधार हुँदै गएकोलगायतका कारण बैंकबाट ऋण लिएर लगानी गर्ने क्रम तिब्र रुपमा बढेको विज्ञहरुको भनाइ छ । पछिल्लो समय ऋणको माग बढेकोले त्यसको जोहो गर्न नेपाली बैंकहरुले विदेशी बैंकसँग ऋण लिन बाध्य हुँदै गएका छन् ।

लगानीको वातावरण सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत व्यापारिकलगायत प्रत्येक क्षेत्रमा ऋणको माग बढेको बैंकरको भनाई छ । पछिल्लो समय कर्जाको माग अत्यधिक हुन थालेको एक बैंकरले बताए । ‘आपूर्तिभन्दा ऋणको माग अत्यधिक बढी छ,’ उनले भने, ‘माग र आपूर्तिबीचको असन्तुलनले समस्या पारेको छ ।’

प्रकाशित मितिः     २४ पुष २०७६, बिहीबार १४:०८  |