अस्वस्थ प्रतिस्पर्धा उन्मुख संघको निर्वाचन, व्यक्तिगत आरोप–प्रत्यारोपमै उत्रिए प्रतिस्पर्धी


नेपालगञ्ज २८ पुस – नेपालगन्ज उद्योग वाणिज्य संघको माग ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी शक्तिहरु आरोप -प्रत्यारोपमा जुटेका छन् । उम्मेदवारी दर्ता गरेको भोलिपल्टै उनीहरु एकअर्का बिरुद्ध सार्वजनिकरुपमै खनिन थालेका हुन ।

आरोप-प्रत्यारोप रोक्न नसके आगामी दिनमा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा झन् बढ्ने चिन्ता प्रकट गरिएको छ ।

ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलले अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलका बिरुद्धमा मतदाता परिचयत्र कब्जा गरेको आरोप लगाएको छ ।

त्यस्तो आरोप आफु र आफ्ना उम्मेदवारलाई बदनाम गर्न प्रचार गरिएको समावेशी प्यानलले जनाएको छ । नेपालगन्ज उद्योग उद्योग वाणिज्य संघको सचिवालयले मतदाता परिचयपत्र वितरण गर्छ । उसले अनुमति दिएपछि एकमुष्टरुपमा मतदाता परिचयपत्र लिएको विषय यतिबेला बिवादित बनेको छ ।

प्रतान्त्रिक प्यानलका गोपाल प्रसाद अधिकारी निर्वाचन प्रभावित गर्न मतदाता परिचयपत्र कब्जा भएको आरोप लगाउँछन् । ‘अस्वस्थ्य प्रतिस्पर्धा गर्ने काम भयो । यसलाई रोक्नुपर्छ ।’– अधिकारीले भने । ‘अहिले मात्र होइन पछिसम्म यस्ता काम नहोस् ।’– अधिकारीले भने ।

उनले मतदाता परिचय पत्र परिवर्तन हुनुपर्ने माग गरे । यता समावेशी प्यानलका निर्वाचन परिचालन समितिका संयोजक ईश्वर पोख्रेल प्राविधिक बिषयलाई उठाएर प्रजातान्त्रिक प्यानलले समावेशी प्यानल र यसका उम्मेदवारलाई बदनाम गर्न शुरु गरेको बताउँछन् ।

‘समस्या उत्पन्न भए समाधान खोज्ने हो तर यहाँ उम्मेदवार बिरुद्ध व्यक्तिगत रुपमै बद्नाम गर्ने काम भयो ।’– पोख्रेलले भने । उनले उद्योग वाणिज्य संघ नै कब्जा गरेर मतदाता परिचयपत्र गायव पारेको जस्तो गरेर आतंक सिर्जना गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ उद्योगी, व्यवसायीबीच निर्वाचनका समयमा सानोतिनो ठाकठुक हुनुलाई सामान्य मान्ने सकिए पनि ठूला विवाद हुनु राम्रो कुरा नभएको बताउँछन् । उनी भन्छन्,–‘प्रतिस्पर्धी नै भए पनि हामी सबै सहकर्मी हौं । समस्या आए एउटै टेबुलमा बसेर छलफल गर्नुपर्छ । पछिसम्म असर पर्ने गरी कुनै पनि काम नगरौं ।’

उद्योगी, व्यवसायीको एकतामा असर पर्ने गरी कुनै पनि प्यानलले काम गर्न नहुने उनको सुझाव छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव बिष्णु लामिछाने उद्योगी, व्यवसायीलाई प्रभावित गर्ने गरी मतदाता परिचयपत्र वितरणमा जालझेल गर्ने काम रोक्नुपर्ने बताउँछन् । उनी भन्छन्,–‘यस्ता कुरा रोकेर संघको निर्वाचनलाई धाधली रहित र स्वतन्त्र बनाउनुपर्छ । आपसी सहमति र समझदारीबाटै यि काम हुन्छन् ।’ निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न सबै लाग्नपर्ने लामिछानेले बताए ।

प्रकाशित मितिः     २८ पुष २०७६, सोमबार ०८:०३  |