विश्व विद्यालयका लागि खजुराले १ सय विगाहा जमिन दिने


नेपालगन्ज, ५ माघ : बाँकेको खजुरा गाउँपालिकाले नेपालगन्ज विश्वविद्यालयका लागि १०० विगाहा जमिन दिने निर्णय गरेको छ । खजुरा गाउँपालिकाको आज आइतवार बसेको ४६ औं बोर्ड बैठकले सो निर्णय गरेको हो ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा क्षेत्रभित्र १०० विगाहा जमिन दिने गरी निर्णय भएको जानकारी दिए । उनले शिक्षा क्षेत्रको विकासका लागि खजुरा गाउँपालिका सँधै अग्रसर रहेको उल्लेख गर्दै विश्वविद्यालयका लागि उक्त निर्णय भएको बताए ।

खजुरामा हाल २ वटा प्राविधिक धारका मावि छन् भने जनता नमूना माविमा कृषितर्फ बिएस्सीएजी आगामी शैक्षिक सत्रदेखि शुरु हुँदैछ । खजुरामा मदरसा, आधारभूत, आधारभूत कक्षा (६–८) र मावि गरी ६५ विद्यालय छन् भने एक क्याम्पस रहेको छ ।

कुनै बेला निकै बहसमा रहेको नेपालगन्ज विश्वविद्यालयको मुद्दा फेरी चर्चामा आउन थालेको छ । विश्वविद्यालयका लागि विगतमा थुप्रै आन्दोलन हुनुका साथै राजनीतिक दलहरुको नारा र घोषणापत्र समेत बन्ने गरेको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा पनि विभिन्न पटक विश्वविद्यालयका लागि आन्दोलन गरिएको थियो । सेलाएको मुद्दा फेरी बहसमा ल्याउँदै नेपालगन्ज विश्वविद्यालयका लागि पहल शुरु गरिएको छ । नेता पशुपतिदयाल मिश्र विश्वविद्यालय स्थापनाका लागि पहलमा लागेका छन् ।

प्रकाशित मितिः     ५ माघ २०७६, आईतवार १८:४०  |