नेपालगन्जमा ट्राभल मार्ट गर्न प्रस्ताव, मेयर राणाको संयोजकत्वमा बन्यो समिति


नेपालगन्ज २१ माघ – नेपाल पर्यटन बोर्डले आयोजना गर्ने ट्राभल मार्ट नेपालगन्जमा गर्न प्रस्ताव गरिएको छ ।

त्यसका लागि मंगलवार नेपालगन्जका मेयर धवल शम्सेर राणाको संयोजकत्वमा नौं सदस्य ट्राभल मार्ट आयोजक समिति गठन गरिएको छ ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी नेपालगन्जमा ट्राभल मार्ट आयोजना गर्न प्रस्ताव गरिएको मेयर राणाले बताए ।

‘मार्ट आयोजना गर्न हामी पूर्णरुपमा तयार छौं । पर्यटन बोर्डलाई मनाउँछौ ।’– राणाले भने ।

ट्राभल मार्टका लागि शुरु देखि नै सक्रिय होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले पर्यटन बोर्डका अधिकारीहरु सकारात्मक भएको बताए । उनले भने,–‘हामीले गरेको प्रस्तावमा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

बोर्डले काठमाडौंमा हिमालयन ट्राभल मार्ट र लुम्बिनी ट्राभल मार्ट जारी राख्दै मोफसलका विभिन्न गन्तब्यसम्म मार्ट आयोजनालाई बिस्तार गर्ने लक्ष्य लिएको छ ।

पोखरा एडभेन्चर टूरिजम मार्ट, पूर्वमा इस्ट ट्राभल मार्ट र पश्चिममा वेस्ट ट्राभल मार्ट आयोजना गरी लोकप्रिय गन्तब्यमा विदेशी पर्यटन व्यवसायी, विदेशी संचारकर्मी तथा ब्लगर बोलाएर मार्ट संचालन गर्ने र त्यसमार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पुराना प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

ट्राभल मार्ट नेपालगन्जमै आयोजना हुनुपर्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

मार्ट आयोजनाले पश्चिम क्षेत्रका बारेमा प्रचार प्रसार हुने अपेक्षा गरिएकाले सिग्देलको भनाई छ ।

सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले ट्राभल मार्ट आयोजना गर्दा नेपालगन्ज सहित पश्चिम क्षेत्रको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताए ।

प्रकाशित मितिः     २१ माघ २०७६, मंगलवार १८:१८  |