निःशुल्क हुने काममा ३५ हजार घुस माग्ने नापी कार्यालय बाँकेका नायब सुब्बा पक्राउ


नेपालगन्ज २२ माघ – अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले नेपालगन्जस्थित नापी कार्यालयका नायब सुब्बा सहित दुई जनालाई घुस सहित आज बुधवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नापी सर्वेक्षणको काम गर्ने यामबहादुर खत्री छन् । खत्री सहित लेखापढी व्यवसाय गर्ने प्रताप केसीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसंग ३५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ परेका दुवै जना बिरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।

जग्गाको हाल साविक भिडाउने प्रयोजनका लागि नायब सुब्बाले घुस मागेका थिए । त्यसका लागि लेखापढी भनिएका केसी माध्यम बनेको आशंका गरिएको छ । सेवाग्राहीले हाल साविकका लागि माघ ८ गते निवेदन दिएको अख्तियारलाई जानकारी दिएका छन् ।

निःशुल्क हुने काममा समेत मोटो रकम मागेपछि सेवाग्राहीले ३५ हजार दिए । सोही क्रममा अख्तियारले गरेको ‘स्ट्रिगं अप्रेशन’ मा दुवै जना पक्राउ परे ।

प्रकाशित मितिः     २२ माघ २०७६, बुधबार १६:४८  |