बघौडाले जन्माएको ‘सिए’


नेपालगन्ज २३ माघ – ‘बघौडा’ लाई सुगम जिल्ला बाँकेको दुर्गम ठाउँका रुपमा चिन्नेको कमी छैन । तर यही ठाउँको सरकारी स्कुलमा ‘एसएलसी’ पढेका तेजप्रकाश दिक्षित सिए (चाटर्ड एकाउन्टेन) बनेर अरुका लागि प्रेरणाको स्रोत बनेका छन् ।

बघौडा शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधारलाई हेर्ने हो भने अन्य ठाउँ भन्दा धेरै पछाडी परेको सत्य हो । स्थानीय तह गठनसंगै विकासले भने गति लिएको छ । विकट मानिएको बघौडा अहिले सदरमुकाम नेपालगन्जसंग निकट हुँदैछ ।

नरैनापुर–५ मटेहियाका दिक्षित पढ्दा भने अवस्था अहिलेको जस्तो थिएन । प्रावि तहसम्म पढ्दा कक्षा कोठामा बस्नका लागि घरबाटै बोरा लैजानुपर्ने बाध्यता थियो । स्कुलको पूर्वाधारको अवस्था उस्तै नाजुक । धेरै अभिभावकले आफ्ना बालबालिका स्कुल नै पढाउँदैन थिए ।
बुवा मानेन्द्र र आमा निर्मलाको कोखबाट २०४७ सालमा जन्मिएका हुन, तेजप्रकाश ।

मध्यमबर्गीय परिवारमा जन्मिएका घरको कान्छो तेजप्रकाश पढ्दा पनि नाम जस्तै तेज थिए । उनलाई बिद्यालयको नाजुक पूर्वाधारले पढाईमा अब्बल हुन रोकेन । त्यसैले सात वर्षसम्म विद्यालयबाट एसएलएसीमा कुनै विद्यार्थी उत्तिर्ण हुन नसकेको रेकर्ड भङ्ग गरे । २०६० सालमा दिक्षित द्धितीय श्रेणीमा एसएलसी उत्तिर्ण भई महेन्द्र मावि मटेहियाको इज्जत राखे ।

दिक्षितका बुवासरकारी जागिरे थिए । त्यो छाडेपछि भने अन्य कामसंगै राजनीति पनि गरे । घरको आम्दानीले खानलाउन त पुग्थ्यो तर मनग्य आर्थिक अवस्था भने थिएन । जतिसुकै खर्च गरेर पनि पढाउन सक्ने परिवारिक आर्थिक अवस्था नदेखेका दिक्षितले एसएलसी उत्तिर्ण हुँदासम्म डाक्टर, इन्जिनियर पढ्ने जस्ता ठुला सपना देखेनन् ।

‘बिबिएससम्म पढेर एकाउन्टेन भई जागिर खानेसम्मको सोंचेको थिए ।’– दिक्षित भन्छन्,–‘त्यसबेलाको परिवारिक आर्थिक अवस्थाले मलाई त्यही बिकल्प ठिक हो भन्ने लागेको थियो ।’

एसएलसी उत्तिर्ण गरेर दिक्षित उच्च शिक्षा पढ्न नेपालगन्ज आए । यहाँ पनि उनले सरकारी कलेज महेन्द्र उच्च मावि रोजे । कलेज सुरु गर्दासम्म उनमा बिबिएस पढेर जागिर खानेसम्मको पुरानो लक्ष्य कायमै थियो । तर सहपाठीसंगको कुराकानीले उनको लक्ष्यमा परिवर्तन आयो । ‘कलेजमा पढ्ने साथीहरु को–के बन्ने भन्ने विषयमा संधै छलफल हुन्थ्यो । त्यही क्रममा सिएको नाम सुने । त्यसअघि कहिल्यै सिए भन्ने सुनेको थिएन ।’ दिक्षित भन्छन्–‘सिएको आर्कषणले मलाई तान्यो । त्यसपछि त्यही बन्ने सोंच आयो ।’

सिए पढ्ने लक्ष्य बनाउँदै गर्दा दिक्षितलाई पढ्न मुस्किल हुने हाउगुजीले नसताएको होइन । ‘अहिले पनि सिए पढ्नै सकिन्न भन्ने हाउगुजी छ । त्यसबेला झन् कस्तो थियो होला ?’ दिक्षित भन्छन् –‘ मत अझ सरकारी विद्यालयबाट आएको मान्छे ! त कसरी पढ्छस् भन्नेको कमी थिएन । तर अह ! म निरास भइन । जसरी पनि पढ्छु भन्ने आत्मबिश्वास लिएर अगाडी बढे ।’ दिक्षितको त्यही आत्मबिश्वासले ‘सिए पढ्न मुस्किल हुन्छ’ भन्ने हाउगुजीले हार खायो ।

‘सिए पढ्नुको अर्को कारण पैसा पनि हो । पढ्न मेहेनत गर्नुपर्ने भए पनि सिए पढ्नका लागि डाक्टर, इन्जििनियर जस्तो पैसा खन्याउनु पर्दैन । मेरो आर्थिक अवस्थाले पनि मलाई सिए पढाउन प्रेरित गर्यो ।’– दिक्षित भन्छन् ।

नेपालगन्जबाट प्लस टु गरिसकेपछि काठमाण्डौं गए । त्यहाँ उनले सिएको पहिलो तहको पढाई सके । त्यसपछि इन्टर र अन्तिम पढाई भने भारतको दिल्लीमा पुरा गरे । सिए पढ्दा दिक्षितले धेरै चुनौतीको सामाना गर्नुपर्यो । अंग्रेजी प्रमुख चुनौती बन्यो ।


‘म सामान्य सरकारी विद्यालयमा पढेको मान्छे । अंग्रेजी कसरी जान्नु ? त्यसमा धेरै मुस्किल झेले ।’– दिक्षितले भने–‘तर मैले हार मानिन् । अंग्रेजी सिक्नका लागि अंगे्रजी पत्रिका पढेर सिक्ने सम्मको काम गरे । मेरा लागि त्यो गज्जव सावित भयो । अहिले अंग्रेजी सबैभन्दा सजिलो लाग्छ ।’

बघौडाको एउटा सामान्य सरकारी स्कुलबाट एसएलसी उत्तिर्ण गरी सरकारी कलेज पढेका दिक्षित सन् २०१२ मा सिए बनेर निस्किए । उनले पाएको सफलताले परिवार र सिङ्गो गाउँमा खुसियाली छायो ।

सम्भवत उनी बघौडाकै एकमात्र सिए पनि हुन । सिए पढ्न रहर गरेका तर कमजोर आर्थिक अवस्था र पढ्न मुस्किल हुने हाउगुजीदेखि डराएका ‘टिनएजर’ का लागि दिक्षित प्रेरणाको स्रोत बन्न सक्छन् । दिक्षित भन्छन्,–‘सिए पढ्नै सकिन्न भन्ने हाउगुजीका पछि नलाग्नुहोस् ।’

सिए घोकेर उत्तिर्ण हुने शिक्षा नभएको बताउँदै उनी भन्छन्,–‘ त्यसरी उत्तिर्ण हुन्छ भन्ने नठाने हुन्छ । पढेर भन्दा बुझेर पढ्ने विषय हो । मेहेनत गर्ने हो भने सिए पढ्नका लागि धेरै ठुलो पैसा पनि खर्च हुँदैन ।’

सिए पढेपछि दिक्षितले दिल्लीमै एक वर्ष काम गरे । त्यहाँ उनले मासिक ४० हजार भारु कमाउँथे । वर्षदिन दिल्लीमा काम गरेपछि आफ्नै देशमा सेवा गर्ने उदेश्य बोकेर उनी घर फर्किए । यहाँ उनले चौधरी ग्रुप लगायत ठुला कम्पनीमा जागिर खान नखोजेका होइनन् । तर पारिश्रमिकमा कुरा मिलेनन् ।

‘आफ्नै फर्म खोल्नका लागि पैसाको जोहो गर्न पनि काम गर्नुपर्ने बाध्यता थियो । तर तलवको कुरा नमिलेपछि काम गरिन ।’– दिक्षितले भने । उनले मासिक ६५ हजार तलव मागेपनि कम्पनीहरुले ५५ हजारसम्म दिन तयार भएका थिए ।

जागिरमा पारिश्रमिकको कुरा नमिलेपछि उनले नेपालगन्जमा दिक्षित एण्ड एशोसिएट्स चाटर्ड एकाउण्टेन्टस् फर्म सन्चालनमा ल्याएका छन् । कुनै बेला बिबिएस पढेर जागिर खाने लक्ष्य बनाएका दिक्षितको फर्ममा यतिबेला डेढ दर्जनले रोजगारी पाएका छन् ।

उनले दुई सय बढि सेवाग्राहीको लेखापरिक्षण गर्छन । नेपालगन्जको सबैभन्दा कान्छो सिएका रुपमा समेत परिचित दिक्षित भन्छन्– ‘कम उमेरको मान्छे मै हो सायद । सबैले माया गर्नुहुन्छ । खुःसी लाग्छ ।’

बघौडाले परिचय बदल्दै छ । स्थानीय तह बनेसंगै बाटोघाटो, बिजुली पानी घर–घरमा पुग्दैछ । दिक्षित त्यहाँको विकासमा हातेमालो गर्न खोजिरहेका छन् । बिशेष गरी सर्वसुलभ स्वास्थ्य र शिक्षाका लागि गाउँमा के गर्न सकिन्छ भनेर योजना बनाइरहेका छन् । ‘पछि परेको मेरो गाउँलाई अगाडी बढाउन निरन्तर लाग्छु ।’– दिक्षित भन्छन्–‘यो मेरो कर्तव्य पनि हो ।’

प्रकाशित मितिः     5:01:51 PM  |