नेपालगन्जमा मीन बहादुर गुरुङ्गले देखेको सम्भावना


नेपालगन्ज २ फाल्गुण – पश्चिम नेपालकै मूख्य व्यापारिक केन्द्र नेपालगञ्जमा ठूलो चेन सुपर मार्केट भाटभटेनी फागुण १६ गतेदेखि सन्चालन हुँदै छ । राजनीतिकको कोपभाजनमा परेको शहरमा यतिबेला अनेकथरी निरासा छर्ने काम भइरहेका बेला भाटभटेनी जस्ता ठूला व्यवसायीक घरानाले उत्साह थप्ने काम गरेको छ ।

प्रदेश विभाजनको असन्तुष्टि पोख्नेले नेपालगन्जलाई कोइलाबास बन्छ भन्दै चिन्ता पोख्ने काम गरिरहेका छन् । तर लगानीकर्ताले त्यसको कुनै प्रवाह नगरी विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । तारे होटल, फनपार्क, सुपरमार्केट त्यसैको उदाहरण हो ।

काठमाण्डौंबाट सुुरु भएको भाटभटेनीको यात्रा देशव्यापी हुने अभियान अन्तर्गत १८ औं स्टोरका रुपमा बाँकेको नेपालगञ्जमा सञ्चालनमा आउन लागेको हो । यसअघि रुपन्देहीको भैरहवामा १७औं स्टोर सञ्चालनमा ल्याएको भाटभटेनीले आगामी फाल्गुन १६ गते नेपालगञ्जको सुर्खेत रोड, कारकाँदोमा १८औं शाखाको शुभारम्भ गरिने भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङले बताए ।

भाटभटेनीको फिनिसिङ्गको काम सक्न उनी आफै नेपालगन्जमा आएका छन् । तर सन्चारमाध्यममा औपचारिक कुराकानी भने गरेका छैनन् । अर्थपेजसंगको छोटो अनौपचारिक कुराकानीमा गुरुङ्गले भने,–‘सम्भावनाले भरिएको देशकै पुरानो शहरमा भाटभटेनी आएको छ । यसले नेपालगन्जलाई पनि फाईदा गर्छ ।’ गुरुङ्गले काम सक्ने चटारो भएका कारण संचारकर्मीसंग कुराकानी गर्न नभ्याएको बताउँदै छिट्टै भेट्ने प्रतिक्रिया दिएका छन् ।

गुरुङले भने ‘समय र उपभोक्ताको मागलाई मध्यनजर गर्दै हामी देशव्यापी अभियान अन्तर्गत नेपालगञ्जमा आएका छौं । आगामी फागुन १६ गतेदेखि यस क्षेत्रमा हाम्रो सेवाको शुभारम्भ गर्नेछौं ।’ करिब एक लाख ४६ हजार वर्ग्फिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको जनाएको छ । यो स्टोर पछिल्लो पटक प्रदेश ५मै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । यससँगै प्रदेश ५ मा भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आउनेछन् ।

स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगाएतका सेवाहरु समेत उपलब्ध हुने व्यवस्थापक भट्टराइले बताए । शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० नगद प्रतिशत छुट तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत छुटका साथै निःशुल्क डेलिभरी समेत दिइने उनले बताए ।

पश्चिम नेपालको पूरानो व्यपारिक केन्द्र नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणका कार्य तिब्र रुपमा अघि बढेका छन् । पर्यटकीय गतिविधिहरु पनि बढ्दो छ । यसै क्रममा यहाँ पर्यटक स्तरका साना तथा ठूला होटलको संख्या उल्लेख्य बढेको छ । हालै काठमाण्डौं स्थित सोल्टी होटलले पनि तारे स्तरको होटल सञ्चालनमा ल्याएको छ भने, चार तारे होटल सिद्धार्थ भ्यू केही वर्ष अगाडी बाटै सञ्चालनमा छ । त्यसैगरि कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजा पनि स्तरोन्नती गरेसँगै पाँचतारे भएको छ ।

प्रकाशित मितिः     २ फाल्गुन २०७६, शुक्रबार ०८:१५  |