नेपालगन्जमा व्यवसायीको जमघट, नयाँ ऐन कानूनका बारेमा छलफल


नेपालगन्ज – व्यवसायसंग सम्बन्धित नयाँ ऐन कानूनहरुका विषयमा जानकारी लिन शुक्रवार प्रदेश ५ का १७ वटा उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारी नेपालगन्जमा भेला भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको उक्त भेला प्रदेशस्तरमा बनेका औद्योगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा योजना र श्रम ऐनका बिषयमा बिज्ञहरुले जानकारी गराएका थिए ।

अन्तरक्रियाको उद्घाटन महासंघका उपाध्यक्ष चन्द्र ढकालले गरे । उनले ऐन कानुनका बारेमा उद्योगी, व्यवसायी जानकारी नहुँदा समस्या सिर्जना हुने गरेको बताए ।

उनले त्यसका लागि संधै अपटेड भइरहन पनि आग्रह गरे । अन्तरक्रियामा महासंघका कोषाध्यक्ष निरक केसी, प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारी, कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही, केन्द्रीय सदस्य डिपी बस्नेत, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ लगायतको सहभागिता थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा अन्तरक्रिया भएको थियो । संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायसंग सम्बन्धित ऐन कानुनका बारेमा आयोजना गरिएको प्रशिक्षणले उद्योगी, व्यवसायीलाई काम गर्न सहज गराउने बताए ।

 

प्रकाशित मितिः     २३ फाल्गुन २०७६, शुक्रबार २०:०१  |