उद्योग त सन्चालन गर्ने, उत्पादन कसरी बेच्ने ?


सुर्खेत २५ बैशाख : सरकारले ‘लकडाउन’का बीचमा पनि बिभिन्न चार दर्जन प्रकारका उद्योग सन्चालन गर्ने अनुमति दिएको छ । तर कार्यविधि स्पष्ट नभएका कारण उद्योग सन्चालनमा अन्यौलता थपिएको छ ।

उद्योगी, व्यवसायीलाई यो बाहेकको अर्को समस्या भनेको उद्योग सन्चालन गरेर उत्पादन भएका सामाग्रीको विक्री वितरण कसरी गर्ने भन्नेमा छ । किनकी सरकारले उद्योग सन्चालन गर्न दिने भनेपछि उत्पादन भएका सामाग्रकोी विक्री वितरण गर्ने पसल, व्यवसायका हकमा के गर्ने भन्ने स्पष्ट पारेको छैन ।

यिनै विषयमा पश्चिमको आर्थिक राजधानी नेपालगन्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतको उद्योग, व्यवसायीका छातासंगठनका अध्यक्षसंग प्रतिनिधिमुलकरुपमा कुराकानी गरेका छौं ।

अब्दुल वाहिद मन्सुरी
अध्यक्ष
नेपालगन्ज उद्योग वाणिज्य संघ

लकडाउनको समयसम्म बन्द रहेका उद्योग खोल्न दिने भनेर सरकारले गरेको निर्णय स्वागत योग्य छ । अर्थतन्त्र धरासायी बन्दै गएका बेला गरिएको यो निर्णयले निजीक्षेत्रलाई केही न केही आशाको सन्चार पक्कै गराएको छ । तर सरकारले गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ त्यो स्पष्ट भइनसकेका कारण अहिल्यै सबै उद्योग,कलकारखाना खुल्छन् भन्ने पनि छैन ।

सरकारले सन्चालन गर्ने भनेका उद्योग कलकारखानाका लागि कामदार, कच्चा पदार्थको व्यवस्थापन कसरी हुन्छ ? नेपालगन्ज जस्तो ठाउँ जहाँ भारतीय कामदारको प्रयोग हुने गरेको छ । उनीहरु नहुँदा पनि स्वदेशी कामदारबाटै उद्योग सन्चालनको वातावरण बनाउनुपर्नेछ । कामदार पाइहाले पनि सामाजिक दुरी कायम गरेर उद्योगभित्रै उनीहरुलाई खाने बस्नेको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

नेपालगन्ज जस्तो कोरोना देखिएको ठाउँमा स्थानीय प्रशासनले उद्योग सन्चालन गर्ने अनुमति दिन्छ की दिदैन् । दियो भने पनि जोखिम कति हुन्छ भन्ने हेर्न बाँकी छ । ल केही गरी उद्योग खुल्यो र उत्पादन शुरु भयो भने पनि त्यो उत्पादनको विक्री वितरण कसरी गर्ने ? स्पष्ट छैन । जस्तो सिमेन्ट उद्योगले उत्पादन गरेको सामाग्री विक्री वितरण गर्ने डिपो लगायतका पलि, व्यवसाय सन्चालन गर्न पाइने की नपाइने ? ढुवानी कसरी गर्ने ? यो स्पष्ट हुनुपर्ने छ । कतिपय सामाग्री उत्पादन भइसकेपछि विक्री गरिहाल्नुपर्ने हुन्छ, त्यस्तो सामाग्री विक्री गर्ने वातावरण कसरी हुन्छ त भन्ने हामीले हेरिरहेका छौं । आशा गरौ अहिलेको बिपत्तीलाई पनि पराजित गर्ने र उद्योग, कलकारखाना पनि खुल्ने गरी सहज वातावरण बन्दै जाने छ ।

धनबहादुर रावत
अध्यक्ष
सुर्खेत उद्योग वाणिज्य संघ

सरकारले उद्योग सन्चालन गर्ने त भनेको छ तर उत्पादिन सामाग्री विक्री वितरण कसरी गर्ने भन्ने स्पष्ट पारेको छैन् । कर्णालीमा कोरोना हालसम्म कोरोना संक्रमण नदेखिएको अवस्थामा आन्तरिक कामदारको प्रयोग गरी उद्योग सन्चालन गर्न सहजै होला । तर उत्पादन भएका सामाग्री विक्री वितरण गर्ने वातावरण बन्छकी बन्दै त्यो अहिलेको मुख्य प्रश्न हो ।

म त सरकारसंग उद्योग, कलकारखाना सन्चालन गर्ने तर्फ मात्र होइन वाणिज्य तर्फका पसल, व्यवसाय सन्चालन गर्न पनि आग्रह गर्छु । जसरी सामाजिक दुरी कायम गर्दै खाद्यन जस्ता पसल सन्चालन भइरहेका छन् त्यसै गरी वाणिज्य तर्फका पसल व्यवसाय सन्चालन गर्ने अवस्था छ की छैन् ? यता तर्फ राज्यको गम्भीर ध्यान पुगोस् ।

अहिले पसल, व्यवसाय सन्चालन गर्न नपाउँदा उद्योगी, व्यवसायी घर न घाटको हुने अवस्था आएको छ । बैंकको ऋण तिर्नुपर्ने बाध्यता उस्तै छ भने पसल, व्यवसाय सन्चालन गर्न दिइएको छैन । अहिलेको बिषम परिस्थितीको समेत मुल्यांकन गरेर होसियारीपूर्वक वाणिज्य तर्फका उद्योग व्यवसाय सन्चालन गराउने हो भने धेरै ठूलो राहत हुन्छ ।

सुमननाथ योगी
अध्यक्ष घरेलु तथा साना उद्योग महासंघ, सुर्खेत

कर्णाली प्रदेशमा घरेलु तथा साना उद्योगको बाहुल्यता भएका कारण सरकारले गरेको निर्णयपछि त्यस्तो उद्योग सन्चालन हुने आशा जगाएको छ ।

तर पनि उद्योग कसरी सन्चालन गर्ने भन्ने स्पष्ट भइनसकेकाले तत्कालै खोलिहाल्ने भन्ने अवस्था छैन । यसका लागि हामी व्यवसायी र स्थानीय प्रशासनसंग छलफल गरेर एउटा निष्कर्षमा पुग्छौ ।

कर्णालीका घरेलु उद्योगमा सीमित कर्मचारी र स्थानीय स्रोत साधन नै प्रयोग हुने भएकाले उद्योग सन्चालनमा कठिनाई हुन्छ जस्तो लाग्दैन । तर त्यसरी उत्पादन भएका सामाग्रीको विक्री वितरणका लागि भने अर्को कुनै भरपर्दो व्यवस्था सरकारका तर्फबाट गरिनुपर्छ ।

 

मधु खड्का

अध्यक्ष घरेलु तथा साना उद्योग महासंघ, बाँके

सरकारको निर्णय स्वागतयोग्य छ । सीमित कामदार र स्थानीय स्रोत साधनको प्रयोग गरेर सन्चालन हुने घरेलु तथा साना उद्योगलाई सरकारी निर्णयले पक्कै राहत दिने छ ।

अब हामी पनि सरकारी निकायसंगको समन्वयमा उद्योग सन्चालन गर्ने गरी काम गछौं । यति हुँदा हुँदै पनि उत्पादन भएका सामाग्रीको विक्री वितरणका लागि कसरी सहजिकरण हुन्छ हेर्न बाँकी छ ।

प्रकाशित मितिः     २५ बैशाख २०७७, बिहीबार १२:१६  |