पर्यटन बचाउन सरकार र व्यवसायीले के-के गर्ने ?-सिद्धार्थका सिइओ कृष्ण न्यौपानेको बिचार


  • कृष्ण न्यौपाने

नेपालको भु-बनोट अधिकांश भाग पहाड भएको देश हो । जहाँ अत्याधुनिक बिकासका लागि कठिन मात्र छैन, ठूलो लगानी समेत खर्चनुपर्ने हुन्छ । छरिएर रहेका बस्ती र ती बस्तीलाई उपलब्ध गराउने सुविधा पनि आफैंमा महंगो पर्न जान्छ ।

नेपाल प्राकृतिक हिसाबले मात्र होइन, सुन्दर बस्ती र मानव सम्भयताका दृष्टिकोणबाट समेत अत्यन्तै सुन्दर छ । यहाँ पहाड र वस्तीमा ‘एग्रो टुरिजम’ र ‘इको टुरिजम’का माध्यमबाट पर्यटक आकषिर्त गर्न सकिन्छ । यसले आन्तरिक तथा बाहृय पर्यटक आकषिर्त गर्न ठूलो सहयोग गर्नेछ ।

कोरोनाले पर्यटनमा पारेको प्रभाव

नेपालमा पर्यटन उद्योगले कुनै पनि समयमा सहज वातावरण पाएन । सन् १९५० का दशकपछि यहाँ व्यवसायिक पर्यटनको बिउ रोपिएको हो । सरगमाथा आरोहण अभियान सफल भएसँगै नेपाल विदेशी पर्यटकको केन्द्र बन्न थाल्यो । तर, हामीले यसको महत्वलाई कहिले प्राथमिकतामा राखेनौं । मुलुक कहिले आन्दोलन, कहिले हड्ताल, कहिले युद्धमा केन्द्रित भयो ।

अर्कोतर्फ प्राकृतिक विपत्तिबाट पनि नेपाल पिडित भइरहृयो । पछिल्लो समय २०७२ सालको भूकम्प र अहिले जारी कोरोना भाइरसको महामारी पर्यटनका लागि ठूलो संकट बनेर देखा परेको छ । कोरोनाले नेपाल मात्र नभई बिश्व पर्यटन बजार नै प्रभावित बन्न पुगेको छ ।

१. रोजगाारी

विश्वमै सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र पर्यटन मानिन्छ । नेपालमा पनि सबैभन्दा ठूलो रोजगारी प्रदान गर्ने क्षेत्र पर्यटन हो । किनकि पर्यटनमा प्रत्यक्षभन्दा अप्रत्यक्ष रोजगारीको सम्भावना धेरै हुन्छ । एउटा होटेल चल्दा त्यसले कृषिको बारीको उत्पादनदेखि पशुपालकले समेत लाभ प्राप्त गर्छ । छरिएर रहेका स-साना होटल-रेस्टुरेन्टको समेत तथ्याङ्क निकाल्ने हो भने, नेपालमा पर्यटनले रोजगारीमा सबैभन्दा धेरै योगदान गरेको प्रष्ट हुन्छ । त्यसकारण कोरोना संकटका बीच नेपालमा रोजगारीमा ठूलो असर परेको छ ।

२.लगानी

सन् २०२० मा सरकारले भ्रमण वर्ष घोषणा गर्‍यो । वाषिर्क २० लाख पर्यटक भित्राउने लक्ष्य अनुसार घोषणा भएको यस अवधिमा नेपालमा पर्यटनको सम्भावना देखेर ठूलो रकम नयाँ लगानी आएको छ । पछिल्लो समय सम्भवतः ठूलो निजी लगानी आएको क्षेत्र समेत पर्यटन हो । यो लगानी अब संकटमा परेको छ ।

३. विदेशी मुद्रा सञ्चिती

नेपालमा विदेशी मुद्रा सञ्चितीको मूख्य माध्यम पर्यटन आय हो । खासगरी डलरमै हुने भुक्तानीका कारण पनि विदेशी मुद्रा आर्जनमा यसको प्रत्यक्ष योगदान रहेको छ । पर्यटक आवागमन तत्काल शुरु नहुने अवस्थामा विदेशी मुद्रा संचितिमा चाप पर्ने निश्चित छ ।

४.आन्तरिक उत्पादन खपत

आन्तरिक उत्पादनको खपतमा पर्यटन अग्रणी स्थानमा हुन्छ । तरकारी, मासुजन्य, खाद्य सामग्री, दुग्ध उत्पादन, मसलाजन्य उत्पादनको खपतमा समेत पर्यटनको महत्व छ । स्वदेशमा उत्पादन हुने धेरै वस्तुको खपत हुने क्षेत्र बन्द हुँदा त्यसले व्यवसायिक कृषि गरिरहेका धेरै व्यवसायीलाई प्रभाव पार्न सक्छ ।

६. कर संकलनमा प्रभाव

सेवा क्षेत्रतर्फ सम्भवतः ठूलो कर तिर्ने क्षेत्र हो, पर्यटन । होटेल, एयरलाइन्स र टूर तथा ट्राभल कम्पनीहरुले वाषिर्क ठूलो रकम कर तिर्दै आएका छन् । कुनै पनि सेवा लिई सकेपछि १३ प्रतिशत रकम राज्यका लागि छुट्टै उठाई जस्ताको त्यस्तै राज्यको खातामा दाखिला गर्दा त्यसबाट राज्यलाई ठुलो आम्दानी हुने गरेको छ । सम्पत्ति कर, स्थानीय सरकारको कर, बाषिर्क कर, मदिरा कर, घरबहाल करलगायत माध्यमबाट पनि राज्यले पर्यटन व्यवसायबाट लाभ प्राप्त गरिरहेको छ । पर्यटकीय गतिविधि नहुँदा तत्काल कर संकलन प्रभावित हुने भएको छ ।

पर्यटन बचाउन राज्यले के गर्न सक्छ र ?

विभिन्न अप्ठेरा परिस्थितिसँग जुध्दै आएको पर्यटन क्षेत्र केही समय माथि उठ्नै नसक्ने गरी थला पर्नेछ । किनकी कोरोनाको औषधी अझै पत्ता लागेको छैन । संसार नै यस रोगबाट प्रभावित भएको अवस्थामा सबै देशहरु आफ्नो मुलुकको नागरिकको जीवनस्तर उकास्न केन्द्रित हुनेछन् । जसले गर्दा पर्यटन सबै मुलुकको प्राथमिकतामा नपर्ने सक्छ । त्यसकारण केही समय यो क्षेत्रलाई राज्यको टेको आवश्यक छ । बजेट नजिकिएको छ । पर्यटन बचाउन सरकारले बजेटमा धेरै पक्षमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

१.बैंकको ब्याजमा सहुलियत

पर्यटन क्षेत्रमा बैङ्कबाट ठूलो लगानी भएको छ । पर्यटन डुब्यो भने बैंक पनि डुब्न सक्छ । त्यसले अर्थतन्त्र नै संकटमा पर्न जाने निश्चित छ । यस अवस्थामा बैंकहरुले आफ्ना विभिन्न आन्तरिक खर्च कटौती गरी आधार दर कम गर्न सक्छन् । नेपाल राष्ट्र बैंकअन्तर्गत पुर्नकर्जा कोषमा रकम बढाइएको छ । अब कृषि कर्जामा जस्तै अनिवार्य पुनर्कर्जाको व्यवस्था पर्यटनमा पनि गर्नुपर्छ ।

२.विद्युत महसुलमा छुट

विद्युत प्राधिकरणले नेपालका उद्योगहरुलाई उपलब्ध गराउँदै आएको दर पर्यटन क्षेत्रलाई पनि उपलब्ध गराउन सक्ने हो भने पर्यटन क्षेत्रले तिर्दै आएको महशुलमा ४० प्रतिशतसम्म कम हुन जान्छ । यसले पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्छ ।

३.कर्मचारीलाई राहत प्याकेज

व्यापार नभएपछि स्वाभाविक रुपमा उद्योगले आफ्ना कर्मचारीलाई सहज तरिकाबाट सेवा उपलब्ध गराउन सक्दैन । यस्तो बेला कम्तिमा लकडाउन अवधिभरको तलब सुविधाका सम्बन्धमा राज्यले सहयोग गर्नुपर्छ । सामाजिक सुरक्षा कोषमा आवद्ध भएकालाई सम्बन्धित कोष र अन्य कोषमा आबद्ध भएका सम्बन्धित कोषले उपलब्ध गराउन सक्ने हो भने धेरै हदसम्म मजदुरमाथिको दायित्वबाट बचाउन सकिन्छ ।

४. घर भाडामा सहुलियत

भाडामा रहेका कम्पनीहरूको हकमा तिर्दै आएको रकमको ५० प्रतिशत छुट गराइदिने र ५० प्रतिशत कम्पनीले नै बेहोर्ने व्यवस्था मिलाइदिएमा यसबाट पर्यटन उद्योगमा ठूलो राहत पुग्छ । यसरी घरबहाल छूट दिने घरबेटीका लागि सरकारले घरबहाल करमा छूट योजना ल्याउन सक्छ ।

५.सम्पत्ति करमा छुट

कम्पनीहरुले विभिन्न शीर्षकमा ठूलो कर तिर्दै आएका छन् । त्यसकारण सम्पत्ति कर कम्तीमा ३ वर्ष का लागि ५० प्रतिशतसम्म छूट गर्न सकिन्छ ।

६.यूटिलिटी कष्ट तिर्ने समय बढाउने

इन्टर्नेट, केबल लगायत युटिलीटी कष्टलाई लकडाउन अवधिभरको समय थप गराउन पनि सरकारले निर्णय लिन सक्छ । यस अवधिमा बन्द भएका कम्पनीहरुले यसको उपयोग नगरे पनि शूल्क भने तिर्नुपरेको हुन्छ ।

७. बैंकको किस्ता तिर्ने समयावधि थप

अति प्रभावित क्षेत्रको व्यवसाय सामान्य अवस्थामा आउन केही समय लाग्ने हुनाले आफ्नो आन्तरिक खर्च व्यवस्थापन गर्न समेत समस्या हुने अवस्था छ । सोहीकारण कम्तिमा १ वर्ष बैंकको किस्ता तिर्ने समय बढाई दिनु आवश्यक देखिएन्छ । उक्त समय अवधिभित्र आफ्नो किस्ता तिर्न सक्नेलाई केही सहुलियत र नतिरेकाको किस्तालाई ‘लोन’मा परिवर्तन गराईदिने हो भने कम्पनी सामान्य अवस्थामा आइसकेपछि नियमित किस्ता तिर्न सक्छ ।

८. व्यवसाय सञ्चालनका क्रममा अपनाउनु पर्ने साबधानी योजना

व्यवसाय संचालनको लागि अपनाउन पर्ने सावधानीका मापदण्डहरु बनाई चलाउन दिने र स्वास्थ्य सामग्रीको सहयोगसमेत सरकारले गर्न सक्छ । सरकारले बेलाबेलामा अधिकारिक बिशेषज्ञबाट निरीक्षण गर्ने, ग्राहक र कर्मचारीको सुरक्षामा विशेष सावधानी अपनाउने र सुरक्षा निर्देशिका पालना नगर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउन सक्छ । यसले आगामी दिनमा यस उद्योगप्रति विश्वास बढ्न जान्छ ।

कम्पनीले पनि त गर्न सक्छ योगदान

१.आन्तरिक खर्च कटौती

कम्पनी सञ्चालनको क्रममा ख्यालख्यालैम धेरै क्षेत्रमा अनावश्यक खर्च भइरहेको हुन्छ । भुक्तानी ढिला गरी जरिवाना तिर्ने, खरिद गरेको सामान प्रयोगमा नल्याइ थन्क्याउने गरिएको हुन्छ । त्यो मूल्य घटाउन सकिन्छ । कामका आधारमा कर्मचारी ब्यवस्थापनको नीति कार्यान्वयन गर्न सकिन्छ । गुणस्तरीय सामान खरिद गरी लामो समय चलाउन सकिन्छ । यसरी आन्तरिक खर्च कटौतीका उपायसमेत व्यवसायीसँग हुन्छन् ।

२.स्वास्थ्य सुरक्षा

ग्राहक, कार्यरत कर्मचारी र समाजलाई समेत यस प्रकारका रोगहरुबाट बचाउन बिभिन्न सावधानी अपनाउनुपर्छ जसका लागि सञ्चालनसम्बन्धी नीति बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ । यसमा व्यवसायीको सक्रियता आवश्यक छ ।

३.कर्मचारी तालिम

पर्यटन व्यवसाय तत्काल विजनेश नआउने भएकाले अहिले कर्मचारीलाई दक्ष बनाउने तर्फ कमपनीले प्रयास गर्न सक्छ । तालीम र पढाईमा बढी ध्यान दिने हो भने भोली व्यवसाय सामान्य अवस्थामा आएपछि पर्याप्त उत्पाकदकत्व लिन सकिन्छ ।

४.कम खर्चमा आकर्षक प्याकेज

अब व्यवसायीले कम खर्चमा आकर्षक प्याकेक बनाएर आन्तरिक पर्यटक आकषिर्त गर्न सक्छन् । ताकि भोली कम्तिमा व्यवसाय चलिरहने वातावरण निर्माण गर्न सकियोस ।

५.घाटामा प्रतिस्पर्धा नगर्ने

पछिल्लो समय कतिपय व्यवसायीहरुले खर्चको तुलना नै नगरी व्यापारमा अन्धाधुन्ध हात हालेका छन् । अर्काको भन्दा कम पैसामा सेवा बिक्रि गरी घाटाको प्रतिस्पर्धा पनि गरेको पाइन्छ । अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय लामो समय टिक्दैन । यसमा व्यवसायी पनि सचेत हुनुपर्छ । आफु त डुबिन्छ, डुबिन्छ, भोली व्यवसाय नै नडुबोस, यसमा बिचार गर्नुपर्छ ।

६.प्रविधि प्रयोग बढाऔं

कामलाई अब प्रविधिमैत्री बनाउँदै काम गर्ने शैलीलाई कम खर्चिलो समेत बनाउन सकिन्छ । यसमा के गर्न सकिन्छ, त्यसको बिचार बिमर्श थालौं ।

७. नगद संचिती गर्ने गरौं

विभिन्न समयमा यस्तै अनेक समस्या आइपर्दा नगदको ठूलो खाँचो पर्छ । तर, हामी व्यापार बिस्तारमा मात्र लाग्दा नगद रकमको प्रवाह गर्दैनौं । त्यसकारण व्यवसायको केही हिस्सा नगद बचतमा पनि राख्नु पर्ने पाठ यस पटक कोरोनाले सिकाएको छ ।

८.अनुभव र अध्ययनको आधारमा व्यापार

छिटो धनाढ्य बन्ने होडमा बिना अध्ययन र बिना अनुभव व्यापारमा होमिने नगरौं । बीना अध्ययन नयाँ विजनेश नथालौं, अनुभवी व्यक्तिको सहायतामा व्यापार गर्न सकिन्छ ।

९.लेखा व्यावस्थापन

आफ्नो कम्पनीको खर्च र आम्दानी राम्रोसंग तुलना गरी दैनिक व्यापारको योजना बनाउनु पर्छ । प्रत्येक दिन, महिना र वर्षमा नाफा नोक्सान निकाली कम्पनीको अवस्था हेरी आगामी दिनका लागि योजना बनाउनु पर्छ । त्यसका लागि उचित लेखा व्यवस्थापन अति जरुरी देखिन्छ ।

(न्यौपाने सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका सीईओ हुन् । अनलाइनखबरमा प्रकाशित यो आलेख यहाँ साभार गरिएको हो )

प्रकाशित मितिः     2:07:22 PM  |