बिदेशबाट फर्किनेलाई राख्न थप क्वारेन्टाइन बनाउँदै खजुरा


नेपालगन्ज १ जेठ : बाँकेको खजुरा गाउँपालिकाले विदेश वा भारतबाट फर्किन सक्ने मानिसको व्यवस्थापनका लागि धमाधम क्वारेन्टाइन निर्माण गरिरहेको छ ।

खजुरामा ३ हजार बढी मानिस देश बाहिर रहेकोमा उनीहरू आउँदा कोरोनाको जोखिम हुन नदिइ सुरक्षित तरिकाबाट व्यवस्थापन गर्न तयारी थालिएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । कोरोना बिरुद्धको अभियान अन्तर्गत खजुरा २ सितापुरमा र वडा नं. ३ धौलागिरीमा सर्वपक्षीय बैठकले क्वारेन्टाइन व्यवस्थापन समिति निर्माण गरेको छ ।

खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भिम ओलीका अनुसार शुक्र माबी के गाउँमा क्वारेन्टाइन राख्ने निर्णय गर्दै योगिनी माबी गौघाट र अमर मावि सि गाउँ लाई बैकल्पिक क्वारेन्टाइनको रुपमा निर्णय गरेको छ । वडाध्यक्ष देविलाल खनालको संयोजकत्वमा सर्वदलीय ९ सदस्यीय मुल समिति गठन गरेको छ । दोस्रो मुलुक भारत र तेस्रो मुलुक बाट वडा न २ मा ५ सय जना सितापुरमा आउन सक्ने अनुमान बैठकले गरेको छ।

बैठकले क्वारेन्टाइनको ब्यबस्थापन भोलि देखि गर्ने निर्णय गर्दै क्वारेन्टाइनलाई ब्यबस्थित गर्ने निर्णय गरेकोछ । अब आउने त्यस्ता व्यक्तिलाई हरेक वडाको स्कुलमा क्वारेन्टाइन निर्माण गरि राख्ने नीतिका साथ खजुरा अगाडि बढे अनुसार वडा नं। ३ को नेरा आधारभूत धौलागिरीमा वडा सदस्य देउमाया थापाको संयोजकत्वमा भएको टीमलाइ पुर्णता दिइएको छ। ती क्वारेन्टाइनमा सर्वपक्षीय निगरानी गर्ने निर्णय गरेको खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार खजुरा गाउँपालिकाको संकलित विवरणमा ३ हजार मानिस बाहिर रहेका छन् । सर्वपक्षीय संयन्त्र निर्माण गरि उनीहरूको निगरानी गरिनेछ । खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले सीमावर्ती पालिकाले आफ्नो तयारी अगाडि बढाएको बताए । वडा नं . ४ मा पनि सर्वदलीय बैठकले क्वारेन्टाइन निर्माण गर्दै ४ स्कुलमा क्वारेन्टाइन बनाएको छ । अन्य वडामा पनि त्यही अनुसार अगाडि बढने जनाइएको छ । यसैवीच केही दिन अघि बसेको कार्यपालिका वैठकले दोस्रो चरणको राहत वितरण गर्ने निर्णय पनि गरेको छ ।

राहत पाउने व्यक्ति छ्नोटका लागि सर्वदलीय संयन्त्र बनाएर एकहप्ताभित्र गाउँपालिकालाइ विवरण पेश गर्ने निर्णय भएको सूचना अधिकृत पौडेलले जानकारी दिए । पहिलो चरणको राहत १ हजार ७ सय ४४ जनालाई वितरण गरिएको थियोे । २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल पहिले वितरण गरेकै राहत प्याकेज पुनस् वितरण हुने जनाइएको छ । पौडेलका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम पनि संचालनमा ल्याउने तयारी भएको छ ।

यसपाली खजुरामा रोजगार कार्यक्रमका लागि ७५ लाख रुपैयाँ बजेट आएको छ । यो कार्यक्रम अन्तर्गत सार्वजनिक सरोकारका सडक, नाला, मन्दिर, खेल मैदान निर्माणका लागि काम दिने गरिएको छ ।

प्रकाशित मितिः     १ जेष्ठ २०७७, बिहीबार १६:४८  |