विद्युत अनियमितप्रति नेपालगन्ज उद्योग वाणिज्य संघ रुष्ट, गरायो प्राधिकरणको ध्यानार्कषण


नेपालगन्ज १४ जेठ : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट जोगिन घरमा बसिरहेका नागरिकलाई चर्को गर्मीबाट जोगाउन नियमितरुपमा विद्युत दिने व्यवस्था मिलाउन माग गरेको छ । केहीदिन देखि नेपालगन्जमा गर्मी बढिरहँदा विद्युत समेत अनियमित भएको छ । जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

उद्योग,कलकारखाना नचलेको र पसलहरु नखुलेको अवस्थामा समेत विद्युत अनियमित भएका बेला विद्युत नियमित बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघ अग्रसर भएको हो ।

संघले समस्या समाधानका लागि बुधवार नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको ध्यानार्कषण गराएको छ । प्राधिकरण मार्फत उर्जा मन्त्रालयदेखि केन्द्रीय कार्यालयसम्मको ध्यानार्कषण गराउँदै तत्काल विद्युत नियमित गराउन माग गरिएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वका गएको टोलीले विद्युतका कार्यालय प्रमुखलाई ध्यानार्कषण पत्र बुझाउँदै तत्काल विद्युत नियमित गर्न माग गरेको महासंचिव चिरञ्जीवी ओलीले बताए ।

विद्युतका विषयमा ध्यानार्कषण गराउन संघका अध्यक्ष मन्सुरी, बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी लगायत विद्युत कार्यालय पुगेका थिए ।

 

 

प्रकाशित मितिः     १४ जेष्ठ २०७७, बुधबार १५:४२  |