खजुरामा थपियो अर्को खुःसी ! रु ५८ करोडको खेलकुद ग्राम कार्यान्वयनको चरणमा


खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति । तस्विर : सामाजिक सन्जालबाट

बाँके २० जेठ : सरकारको एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रममा बाँकेको खजुरा गाउँपालिका समेटेको छ ।

वडा–२ सितापुर शुक्र भलिवल स्टेडियममा काम शुरु भएको गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए ।

आठौ राष्ट्रिय खेलकुद २०७५/०७६ मा खजुरामा भलिवल,फुटबल,महिला हक्कि र बक्सिङ स्थानीय रुपमा सफल आयोजना भएको थियो ।

खेलकुद ग्राम निर्माणको लागि ५७ करोड ८७ लाखको डिपिआर अनुसारको रकम खर्च हुनेछ ।

सरकारले चालू आर्थिक वर्षमा ५० लाख रकम बिनियोजन गरेको छ ।

ठुलो धनराशी सहितको हरित खजुरा जस्ता योजना कार्यान्वयनको चरणमा रहेको खजुरा अब औद्योगिक ग्राम मार्फत खेलकुद क्षेत्रमा समेत फड्को मार्दैछ ।

यसका लागि  गाउँपालिका र त्यहाँका खेलप्रेमीहरुले ठूलो मेहेनत र संघर्ष गर्नुपरेको थियो ।

सीतापुर निवासी भिम ओली जो मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष भएर आफ्नो कार्यकालमा नेपालगन्जमा आठौ राष्ट्रिय खेलकुद सम्पन्न गराए, उनले २०६८ सालबाटै खेलकुद ग्रामको पहल गरेका थिए ।

त्यसबेला स्थानीय गाविस, जिल्ला विकास समिति हुँदै राष्ट्रिय खेलकुद परिषदसम्ममा पुगेर खेलकुद ग्रामको योजना कार्यान्वयनका लागि पहल गर्दै आएकोमा आठ वर्षपछि त्यो योजना कार्यान्वयन भएकोमा ओली हर्षित छन् ।

भन्छन्–‘खेलकुदबाट खजुरालाई चिनाउने गरी तयार भएको ड्रिम प्रोजेक्ट कार्यान्वयनको चरणमा पुग्दा निकै खुसी लागेको छ ।’

उक्त योजना कार्यान्वयन भए पछि सीतापुरमा राष्ट्रिय मापदण्डका फुटवल मैदान, पौडी पोखरी, बहुउदेश्यीय कर्वडल, जिमहल, पार्किगं, आवासिय भवन बन्ने छ । ‘

नेपालगन्जमा जसरी राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरियो त्यस्तै खेलकुद यहाँ पनि आयोजना गर्ने गरी पूर्वाधार तयार हुँदैछ ।’– ओलीले भने ।

मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भिम ओली, जसले औद्योगिक ग्रामका लागि पहल गरे ।

उनले आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा सफलतापूर्वक सम्पन्न गरेकोमा खजुराले पुरस्कार पाएकारुपमा आफुले सम्झिएका छन् । ओली भन्छन्–‘यसमा गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिको भूमिका महत्वपूर्ण छ । उहाँको अथक मेहेनत र परिश्रमबाट अहिले कार्यक्रम प्राप्त भयो । योसंगै हामीले जसरी राष्ट्रिय खेलकुद सम्पन्न गरेका थियौं । अहिले त्यसको फल प्राप्त भएको महसुस भएको छ ।’

ओलीकै अग्रसरतामा सीतापुरमा आठौं राष्ट्रिय खेलकुदका केही प्रतियोगिता खजुरामा सम्पन्न भएका थिए । सोही क्रममा खेलकुदका पूर्वाधार समेत तयार भएका छन् ।

खजुरा गाउँपालिकामा खेलकुदक्षेत्रमा अग्रसरता लिने क्रम बढेको छ ।

गाउँपालिका आफैले पनि मेयर कप आयोजना गर्दै आएको छ भने पूर्वाधार विकासमा समेत बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताउँछन् ।

स्थानीय वडा, क्लवहरुले पनि खेलकुद गतिविधिलाई बढावा दिएका छन् ।

कक्षपति भन्छन्–‘हामीले अहिले खेलकुद क्षेत्रमा जे जति लगानी गरेका छौं । त्यसको नतिजा चाडै देखिन्छ । अब खजुरालाई खेलकुदबाट पनि देशभर चिनिने अवसर प्राप्त भएको छ ।’

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार १२:०९  |