खजुरामा सानादेखि ठुला उद्योगको आर्कषण


नेपालगन्ज २ जेठ : औद्योगिक ग्रामको सूचीमा परेसंगै खजुरा गाउँपालिकामा निजीक्षेत्रको आर्कषण बढ्ने बिश्वास गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको थियो ।

स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गत आर्थिक वर्षमा ३२ वटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे अनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको हो । पहिलो चरणमा छनौट भएका प्रदेश नं. ५ का ३२ वटा स्थानीय तह मध्ये गाउँपालिकामा खजुरा मात्र परेको छ ।

उक्त सम्झौता पछि खजुरामा खजुरा गाउँपालिका–५ पुरनैनामा औद्योगिक ग्राम प्रक्रिया अगाडी बढ्ने गाउँपालिका प्रमुख कक्षपतिले बताए । कक्षपतिले भने,–‘औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आर्कषित गर्ने बिश्वास छ ’ कक्षपतिले औद्योगिक ग्रामको काम ‘फाष्टट्रयाक’ मा गर्नुपर्ने सुझाव दिएका छन् । छिटो भन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनुपर्ने उनको धारणा छ ।

नमुना गाउँपालिकामा रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठुला लगानीकर्ता आकृषित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको गाउँपालिका प्रमुख कक्षपति बताउँछन् । त्यसका लागि औद्योगिक ग्राममा मात्र होइन अन्य ठाउँमा समेत पूर्वाधार विकासका काम भइरहेको उनको भनाई छ । कक्षपति भन्छन्–‘नयाँ नयाँ लगानीकर्ताको आर्कषण भएको पाएका छौं । आगामी दिनमा यसलाई अझ बृद्धि गर्दै लैजान्छौ. ।’

बाँकेको खजुरा गाउँपालिका उत्कृष्ट गाउँपालिका बन्ने दौडमा छ । पश्चिमको ठुलो आर्थिक शहर नेपालगन्जदेखि नजिकै रहेको यो गाउँपालिकामा कुनै बेला विमानस्थल थियो । त्यहाँको विमानस्थल अहिले तस्विरमा सीमित भए पनि अन्य विकासका पूर्वाधार भने धमाधम तयार हुँदै छन् ।

कृषी एवं पशु तालिम केन्द्र, कपास विकास समिति, जनक शिक्षा सामाग्री लगायतका उच्चस्तरका सरकारी कार्यालय पहिल्यैदेखि खजुरामा छन् । पछिल्लो समय शिक्षा, स्वास्थ्य, कृषी र औद्योगिक क्षेत्रमा खजुराले फड्को मार्दैछ । गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन–‘भाइब्रेन्ट खजुरामा बन्ने दौडमा छ ।’


नयाँ नेपाल भनेर चिनिने बाँकेको पनि नयाँ ठाउँ खजुरा हो । वि.स. २०२ को दशकमा पुनर्वास वस्तीको रुपमा विकास गर्न शुरु गरिएको खजुरा कुनै समय नेपालगन्ज पछिको दोश्रो व्यापारिक केन्द्रको रुपमा रहेको थियो । कृषिलाई केन्द्रमा राखेर इजरायली प्राविधिकहरुले नक्सांकन गरेको पुनर्वास वस्ती अहिले खजुरा बनेको छ ।

राष्ट्रमंै ठुलो कपास खेतीको स्थान, कृषि अनुसन्धान केन्द्र, क्यान्सर अस्पताल जस्ता कारणले चिनिएको खजुरा अहिले हरित शहर बन्ने दौडमा लागेको छ ।
बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा कार्तिक ६ र ७ गते खजुरा सम्मेलन आयोजना गरिएको थियो ।

समृद्ध खजुराका लागि सम्मेलनमा प्रस्तुत भई सुझावका रूपमा आएका अवधारणा, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै २१ बुँदे घोषणापत्र जारी भयो ।

घोषणापत्रमा खजुराको दिगो विकासको लागि शैक्षिक, भौतिक, सामाजिक अवस्थामा सुधार, आर्थिक विकास, कुरीतिको अन्त्य, उद्यमशीलता जस्ता कुराहरु हासिल गर्न कुरालाई जोड दिइएको छ । यो सम्मेलनले खजुराको बिकास र समृद्धिको यात्रामा सबैको साथ ,समर्थन सुझाव सहित अघि बढ्ने तथा रोजगारीका लागि उद्दमशीलतालाई बढाउन खजुरा ब्रान्ड स्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकाले अघि सारेको गौरवको योजना शित भण्डारको शिलन्यास भइसकेको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको शित भण्डारको ५ नं प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले बिधिवत रुपमा शिलन्यास गरेकी हुन् ।

प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शित भण्डार करिब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) समेत तयार भैसकेको छ ।

प्रकाशित मितिः     1:53:03 PM  |