बैंकले दिने छुटको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकसंग माग


नेपालगन्ज ७ असार :  सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकसंग माग गरेको छ ।

नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटासंग आईतवार भएको भेटघाटमा संघले बैंक मार्फत सरकारले दिएको ब्याज लगायतका छुटको प्रभावकारी कार्यान्वयनका लागि ध्यानार्कषण गराएको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही बैंक तथा वित्तीय संस्थाले ब्याज छुट कार्यान्वयन नगरेको गुनासो गरे । ‘कार्यान्वयनमा आलटाल भइरहेको छ । नियमन गर्ने निकाय भएकाले राष्ट्र बैंकले हेरिदिओस् भन्ने चाहेका छौं ।’– मन्सुरीले भने ।

तीन महिना लामो लकडाउनका कारण व्यापार, व्यवसाय अवरुद्ध भएपछि बैंकको ब्याजमा केही मात्र छुट दिने घोषणा गरेको छ । लकडाउनको अवधिमा सावा, ब्याज बुझाउन समस्या रहेको भन्दै व्यवसायीले समय थप गर्न माग गरेका छन् । तर घोषणा भएकै सहुलित दिन समेत केही वित्तीय संस्थाले अनाकानी गरेको व्यवसायीको गुनासो छ ।

यस सम्बन्धी राष्ट्र बैंकको ध्यानार्कषण गराउँदै थप सहुलियतका लागि अनुरोध गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । ओलीका अनुसार, राष्ट्र बैंकका निर्देशक सापकोटाले नियमनको कार्य प्रभावकारी बनाउने विषयमा निश्चित हुन आग्रह गरे । सापकोटाले अनुगमनलाई प्रभावकारी बनाइएको बताउँदै कुनै गुनासा भए तत्काल सम्बोधन हुने स्पष्ट पारेका छन् ।

छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले लकडाउनका कारण उद्योगी, व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताए । निर्वमान अध्यक्ष नन्दलाल बैश्यले लकडाउनका कारण प्रभावित बनेका व्यवसायीहरुलाई बैंक मार्फत बिशेष छुट दिनुपर्नेमा जोड दिए । छलफलमा संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामी, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     ७ असार २०७७, आईतवार २१:२४  |