बाँके ९ असार : लकडाउन घोषणा हुनु अघिसम्म बाँकेमा तारेस्तरका होटल कोही बन्दै थिए त कोही सन्चालनमा आउने तरखरमा थिए । पश्चिमको आर्थिक केन्द्र भएका कारण यहाँ केही वर्षयता होटल एवं रेष्टुरेन्ट क्षेत्रमा लगानी गर्नेको उत्साह बेग्लै थियो ।
तर कोरोनाको महामारीले बाँकेको हस्पिटालिटी क्षेत्रलाई अन्य ठाउँ जस्तै नराम्रो गरी प्रभावित बनाइदिएको छ । भ्रमण वर्ष लक्षित योजना भताभुङ्ग पारिदिएको होटल व्यवसायीहरु बताउछन् । उनीहरु भन्छन्–‘हाम्रा सपना उजाडिएका छन् ।’ हस्पिटालिटी क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ ।
बैंकको ऋण, धन बुझाउन हम्मेहम्मे परेको छ । अन्य करहरुको ताकेता उस्तै छ । बाँकेमा होटलको आर्कषण भए पनि लकडाउन अघिसम्म राम्रै गरी चलेका भने थिएनन् । एकाध बाहेकलाई होटल चलाउनै मुस्किल थियो । प्रदेशको राजधानी कायम गर्ने बेला धेरै सरकारी कार्यालय यहाँबाट अन्यत्र सर्दाको सबैभन्दा धेरै मार यहाँका होटल व्यवसायीलाई परेको थियो ।
‘एकातिर लगानी थपिदै गयो भने अर्को तर्फ राजनीतिक कारणले बाके ओझेलमा पर्यो । त्यसले गर्दा हाम्रो क्षेत्र प्रभावित बनेकै थियो । ठिक त्यसैबेला कोरोनाको कहरले धेरैलाई थला पारिदिएको छ ।’– तारे होटलका सन्चालकले भने । बजारको अवस्था हेरेरै होटलको विक्री गर्ने योजनामा समेत धेरै व्यवसायी थिए । तर अब त्यो बिकल्प समेत तत्काल उपयुक्त हुने देखिदैन ।
होटल बन्द हुँदा मालिक त हैरान छन् नै त्यो भन्दा धेरै हैरानी त्यहाँ काम गर्नेहरुले व्यहोर्नुपरिरहेको छ । जिल्लामा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने ठाउँ भनेकै हस्पिटालिटी क्षेत्र हो । लगभग सबै होटलमा स्थानीयवासीले काम पाउँदा हर्षित थिए ।
बाँके जिल्लामा उत्पादनमूलक उद्योगपछि सबैभन्दा धेरै लगानी होटल क्षेत्रमा भएको छ । यहाँ सयौँको सङ्ख्यामा रोजगारी सिर्जना भएको छ । तर त्यहाँ उत्पादनमूलक उद्योगमा जस्तो होटल क्षेत्रमा भारतीय कामदार छैनन् । अधिकांश नेपाली त्यसमा पनि स्थानीय कामदार नै धेरै छन् ।
बाँकेमा रहेका ठूला होटल सिद्धार्थ, सोल्टी, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु, किचन हट, सेन्ट्रल प्लाजा, स्नेहा, गोल्डेन गोल्डेन ब्लिज, बाटिकालगायतका ठूला होटल मात्र नभई साना लगानीका होटलमा पनि स्थानीय कामदारले रोजगारी पाएका छन् ।
करीब पाँच हजार बढी स्थानीयवासीले साना र ठूला होटलमा रोजगारी पाएका छन् । जसमा करीब ४० प्रतिशत महिला छन् । मुख्य शहर नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा होटल खुल्ने क्रम बढेको थियो । होटलसंगै भित्रिएको क्यासिनो अर्को रोजगारीको आर्कषक क्षेत्र हो । अहिले क्यासिनो सन्चालन नहुँदा कामदार घरमै बस्न बाध्य छन् ।
होटलहरुले अधिकांस कामदारलाई घरमै बस्न भनेका छन् । होटल सन्चालन नहुँदासम्म नआउन भनेर घर पठाएका कर्मचारीले तलव पाउने हुनकी होइन निश्चित छैन । कतिपय होटल एवं रेष्टुरेन्टले सामाजिक दुरी पालना गर्दै सीमितसेवा दिइरहेका छन् । होम डेलिभरी सेवालाई तारे होटलहरुले समेत प्रभावकारीरुपमा सन्चालन गरिरहेका छन् । त्यसमा केही न केही कर्मचारी जोडिएका छन् । यद्यपी फुलफेजमा कामदार लगाउने अवस्था अझै बनिसकेको छैन् । लकडाउन खोल्ने र होटल सन्चालन गर्ने निश्चित नभइसकेको अवस्थामा मालिक र कामदार सबैको चिन्ता अझ गहिरो बन्दै छ ।