नेपालगन्ज ११ असार : जिल्ला प्रशासन कार्यालय बाँकेले मासुको मुल्यमा भइरहेको मुल्य बृद्धि नियन्त्रण गरेको छ । लकडाउनको मौका छोपेर व्यवसायीले मासुको मुल्य ह्वात्तै बढाएको भन्ने गुनासा आएपछि प्रशासनले चासो दिएको हो ।
लकडाउनको अवधिमा बोइलर कुखुराको मासु प्रति केजि तीन सयबाट बढेर साढे चार सयसम्म पुगेको छ भने खसीको मासु प्रति केजि एक हजारसम्ममा विक्री वितरण भइरहेको छ ।
अत्याधिक मुल्य बृद्धि भएको पाइएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायत सरोकारवाला सरकारी कार्यालय र मासु व्यवसायीबीच बिहिवार छलफल भएको छ ।
छलफलका क्रममा प्रशासनका तर्फबाट बोइलर कुखुराको मासु प्रति केजि ३ सय ५० र खसीको प्रति केजि ८ सय रुपैयामा विक्री वितरण गर्न मासु व्यवसायीलाई निर्देशन दिएको छ । मुल्य बृद्धिको आवश्यकता र बास्तविकता बुझ्नका लागि एउटा समिति बनाइएको छ भने उक्त समितिलाई तीन दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
प्रतिवेदन नआउँदासम्म बिहिवार निर्देशन दिए अनुसारको मुल्यमा मासु विक्री गर्ने भद्र सहमति भएको छ । प्रशासनका तर्फबाट जथाभावी मुल्य बढाएर मासु विक्री वितरण गरेको पाइए कडा कारवाही हुने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
यता व्यवसायीले भने लागत मुल्य अनुसार नै मासु विक्री भइरहेको दावी गरेका छन् ।
लकडाउन मुल्य कुखुरा उत्पादकहरुले चल्ला मारेर खाडलमा गाडेपछि मासुको मुल्य बढ्दै गएको उनीहरुको भनाई छ । वाणिज्य कार्यालय नेपालगन्जका प्रवक्ता देविलाल चौलागाईले मासुको बजार मुल्यबाट उपभोक्ता ठगिने अवस्था नआओस् भन्नेमा आफुहरु सचेत रहेको बताए ।