बुटवल १४ असार : भारतमा किसानहरुको बाली सखाप पारिरहेको सलह किरा नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह किरा भेटिएपछि अव कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश ५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शानिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह किरा नियन्त्रणका लागि आवश्यक रणनीति तय गरेको छ ।
प्रदेश ५ को कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बैठकले तीन वटा निर्णय गरेको जानकारी दिए । उनका अनुसार किसानहरुलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किरा जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरीद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताए ।
शनिबार बिहानदेखि रुपन्देहीमा भेटिएको किरा कृषि विज्ञहरुले अनुसन्धान गरेपछि सलह नै भएको पुष्टि भएको बताए । बैठकले बाली नभएका ठाउँमा रहेका विषादी किरा मार्नका लागि विषादीको प्रयोग गर्ने र यसको बन्दोवस्त समेत भइसकेको जानकारी दिए । रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा शनिबार बिहान एक–दुईवटा मात्रै सलह जस्तै किरा देखिएकोमा दिउँसो ठूलो संख्यामा किराहरु उड्दै गरेको अवस्थामा देखिएको थियो । आकाशमा उडिरहेका किरा पनि सलह नै भएको कृषि मन्त्रालयले पुष्टि गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि विज्ञले अनुसन्धान गरेपछि आकाशमा उडेको बथान तथा विभिन्न क्षेत्रमा देखिएको किरा सलह नै भएको पाइएको बताइन् ।
भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र हुँदै सलह रुपन्देहीका विभिन्न क्षेत्रमा प्रवेश गरेको निर्देशनालयका प्रमुख देवकोटाले जानकारी दिए । कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान ९नार्क० ले सलह किरा प्रदेश ५ को रुपन्देहीमा आएपछि अनुसन्धान गरेका हुन् । “सलह जस्तै किरा देखिएपछि प्राविधिक टोलीले अनुसन्धान गर्ने क्रममा सलह नै भएको पाइएको छ, अव कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरी निर्णय गरिएको छ, अव हामी पूर्णरुपमा नियन्त्रण अभियानमा जुटेका छौंं ”–देवकोटाले भने ।
उनले रुपन्देहीको आकाशमा देखिएको सलह किरा निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुन सक्ने बताए । बुटवलस्थित नेपाली सेनाको गुल्ममा शनिबार बिहान सलह जस्तै देखिने किरा ठूलो संख्यामा देखिएपछि अनुसन्धान गरिएको हो ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाको ब्यारेकमा ठूलो संख्यामा किरा देखिएको बताए । “त्यहाँ ठूलो आकारको फट्यांग्रा ठूलो संख्यामा आएपछि सेनाले नियन्त्रणमा लिएको थियो”–उनले भने ।
कृषि विज्ञहरुलेरुपन्देहीमा देखिएको किरा सलह नै भएको दावी गर्दै यसको सिनयन्त्रणका लागि तयारी थालेका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवाका उपप्राध्यापक तथा किटविज्ञ दिपकराज खनालले स्थानीयले जानकारी गराएपछि आफू अनुसन्धानमा गएको र अनुसन्धानका क्रममा सलह किरा नै रहेको पाइएको बताए ।