पूर्णक्षमतामा उद्योग सन्चालन गर्न अझै कठिनाई


नेपालगन्ज २२ असार :  बजार माग नभएपछि बाँकेका उद्योगले कुल उत्पादन क्षमताको एक चौथाई मात्र उत्पादन गर्न बाध्य भएका छन् । लामो लकडाउनका कारण आर्थिक मन्दी छाएपछि उत्पादन भएका बस्तुको बिक्रि डाउन भएको उद्योगीले बताएका छन् । लामो लकडाउनका कारण योजनाको काम ठप्प भएपछि कुल उत्पादन क्षमताको एक चौथाई उत्पादनमा खुम्चिएको उद्योगी सञ्जय अग्रवालले बताए ।

उनले बजारमा माग ह्वात्तै घटेपछि उद्योगले सिमित उत्पादन गरिरहेको बताए । सिमेन्टको विक्री डाउन भएकोले कुल क्षमताको ३०–४० प्रतिशत उत्पादनमा सिमित भएको एति, स्टार, गौरव र रोक स्ट्रोङ सिमेन्ट उद्योगका संचालक संजय अग्रवालले बताए । ‘सरकारी विकास निर्माण ठप्प छ । कलडाउनका कारण सर्वसाधारणको आर्थिक स्तर खस्किएकोले घर निर्माण पनि ठप्प छ । माग नभएपछि उत्पादन गर्नुको कुनै अर्थ रहदैन,’ अग्रवालले भने, ‘उद्योग चलेको जस्तो देखिए पनि उत्पादन कटौती भएको छ ।’

बजारमा माग कम भएकोले उत्पादन पनि कम गर्न परेको लक्ष्मी प्लाष्टिक उद्योगका संचालक जयगोपाल श्रेष्ठले बताए । उनले कुल उत्पादनको २५ प्रतिशतमात्र उत्पादन गरिरहेको बताए । ‘लकडाउनका कारण टेण्डर खुलेनन्, खुले पनि हाल्न सकिएन । विकास, निर्माणका काम ठप्प भएपछि बजारमा माग पनि भएन,’ उनले भने ।

नेपालगन्ज औद्योगिक क्षेत्रभित्र रहेको शिखर प्लाई उड उद्योगले पनि उत्पादनको २५–३० प्रतिशतमात्र उत्पादन गरिरहेको छ । जनशक्ति र बजार माग नभएकोले कुल उत्पादनको २५–३० प्रतिशत मात्र उत्पादन गरिरहेको उद्योगका संचालक चम्पालाल बोथ्राले बताए । उनले २२ जेष्ठदेखि उद्योग संचालनमा आए पनि पूर्ण रुपमा उत्पादन गर्न नसकेको बताए । ‘लकडाउनले आर्थिक अवस्था कमजोर भएको छ । यस्तो अवस्थामा माग हुने कुरै भएन । माग नभएपछि सिमित उत्पादन गर्नै प¥यो,’ उनले भने ।

बजार माग र जनशक्ति अभावका कारण उद्योगले कुल उत्पादन क्षमताको ३०–४० प्रतिशतमात्र उत्पादन गरिरहेको नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघका अध्यक्ष राजेश मास्केले बताए । उनले जनशक्ति र बजार माग नभएकोले साना उद्योग मात्र संचालनमा आएको बताए । ‘बजार माग एकदमै कम छ । माग अनुसार उत्पादन क्षमता बढाउनु पर्ने हुन्छ,’ मास्केले भने, ‘उद्योग संचालन भएको भन्ने मात्र छ । उत्पादन छैन ।’

औद्योगिक क्षेत्रमा रहेका अधिकांश उद्योगले कुल क्षमताको ५० प्रतिशत भन्दा कम उत्पादन गरिरहेको नेपालगन्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए । उनले उत्पादन भएका बस्तु खपत हुने अवस्था नरहेको बताए । औद्योगिक क्षेत्रमा ३५ वटा उद्योग संचालनमा छन् । ति मध्ये खाद्यन्न र पानी उद्योगले मात्र पूर्णरुपमा उत्पादन गरिरहेको उनको भनाई छ ।

प्रकाशित मितिः     10:48:09 AM  |