बाँकेमा तीनवटा औद्योगिक क्षेत्र, चर्चामा ‘सेज’ पनि


खजुरामा प्रस्तावित खजुरा औद्योगिक ग्राम

बाँके २३ असार :  निर्माणाधिन दुई सहित बाँकेमा औद्योगिक क्षेत्रको संख्या तीनवटा पुगेको छ । देशकै पुरानो मध्येको नेपालगन्ज औद्योगिक क्षेत्र सन्चालनमा छ । बैजनाथमा प्रदेशस्तरको नौवस्ता औद्योगिक क्षेत्र र खजुरामा औद्योगिक ग्राम निर्माणको चरणमा छ । बाँकेको राप्तीसोनारीमा बिशेष आर्थिक क्षेत्र बनाउने विषयमा कुनै बेला चर्चा चलेपनि अहिले भने सेलाएको छ ।

पश्चिमको आर्थिक राजधानी बाँकेमा लगानीकर्ता भित्रा्उन औद्योगिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने निजीक्षेत्रले अपेक्षा राखेको छ । तर लगानीकर्ता आर्कषित गर्ने चुनौती भने यथावत रहेको छ ।

२०३० सालमा स्थापना गरिएको नेपालगन्ज औद्योगिक क्षेत्रले आफ्नो अधीनमा रहेको जग्गा उद्योग सञ्चालनका लागि २०७१ सम्म २० वर्ष र २०७२ देखि ४० वर्षका लागि लिजमा दिँदै आएको छ । औद्योगिक क्षेत्रमा नाम चलेका लक्ष्मी प्लास्टिक, टण्डन प्लास्टिक, शिखर प्लाई, विनोद मेटल, विजय मेटल, नेपालगन्ज इन्जिनियरलगायत हाल ३३ उद्योग सञ्चालनमा छन् । तर वर्षौंदेखि औद्योगिक क्षेत्रको स्तरोन्नति नहुँदा सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीको भनाइ छ ।

प्रदेशस्तरकै ठूलो औद्योगिक क्षेत्रका रुपमा नौबस्तामा औद्योगिक क्षेत्रलाई हेरिएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि छट्याइएको जग्गामा रहेको बस्तीका कारण पछिल्लो समय विवाद सिर्जना भएको थियो । त्यो पनि विवाद समाधान भएपछि काम अगाडी बढ्ने अपेक्षा गरिएको भए पनि हालसम्म खासै प्रगति भएको छैन् ।

३ सय ३८ विगाहमा औद्योगिक क्षेत्र निर्माण हुने छ । हाल नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रमा ३३ वटा ठूला साना उद्योग सञ्चालनमा छन् । २०३० सालमा २ सय ३३ रोपनीमा बनाइएको नेपालगन्ज स्थित औद्योगिक क्षेत्रमा झण्डै १ हजारलाई रोजगारी र ४ सय करोड बार्षिक उत्पादन हुने गरेको अनुमान छ ।

नौबस्तामा औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २ सय ८५ वटा आशय पत्र बुझाइसकेका छन् ।
यस्तै खजुरामा औद्योगिक ग्रामको काम तिव्ररुपमा भइरहेको छ । यसको डिपिआर तयार भइसकेको छ । निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको छ । बाँकेमा औद्योगिक क्षेत्र बाहेक बिशेष आर्थिक क्षेत्र सेज समेत चर्चामा छ । तर कार्यान्वयन भने छैन ।

प्रकाशित मितिः     २३ असार २०७७, मंगलवार ०८:३१  |