नेपालगन्ज २३ असार : औद्योगिक ग्रामको सूचीमा परेसंगै खजुरा गाउँपालिकामा निजीक्षेत्रको आर्कषण बढ्ने बिश्वास गरिएको छ । आर्थिक वर्ष २०७६र७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको थियो । औद्योगिक ग्रामको डिपिआर लगभग निश्चित भई सोमवार सरोकारवाला निकायबीच छलफल समेत भएको छ ।
स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गऔद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे अनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको हो ।
उक्त सम्झौता पछि खजुरामा खजुरा गाउँपालिका–६ पुरनैनामा औद्योगिक ग्राम प्रक्रिया अगाडी बढ्ने गाउँपालिका प्रमुख कक्षपतिले बताए । कक्षपतिले भने,–‘औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आर्कषित गर्ने बिश्वास छ ’ कक्षपतिले औद्योगिक ग्रामको काम ‘फाष्टट्रयाक’ मा गर्नुपर्ने सुझाव दिएका छन् । छिटो भन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनुपर्ने उनको धारणा छ ।
नमुना गाउँपालिकामा रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठुला लगानीकर्ता आकृषित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको गाउँपालिका प्रमुख कक्षपति बताउँछन् । त्यसका लागि औद्योगिक ग्राममा मात्र होइन अन्य ठाउँमा समेत पूर्वाधार विकासका काम भइरहेको उनको भनाई छ । कक्षपति भन्छन्–‘नयाँ नयाँ लगानीकर्ताको आर्कषण भएको पाएका छौं । आगामी दिनमा यसलाई अझ बृद्धि गर्दै लैजान्छौ।’