‘एकता जोगाउन’ आ–आफ्नै तालमा हिड्दै नेकपाका नेता कार्यकर्ता


नेपालगन्ज २४ असार :  पार्टी एकताका लागि दबाब दिन भन्दै नेकपा सम्बद्ध युवा एवं विद्यार्थीहरुले बुधवार नेपालगन्जमा फरक फरक स्थानमा प्रदर्शन र ज्ञापनपत्र बुझाए।

पार्टी एकताका नाममा भइरहेका यस्ता गतिविधिले एकता भन्दा थप कार्यकर्ता माझ आपसी बैमनश्यता निम्त्याइरहेको छ । यस्ता गतिविधि रोक्न जिल्लास्थित पार्टीका अगुवा नेताहरु मिलेर जानुको साटो दुवैथरी समूहलाई प्रश्रय दिन सक्रिय भएर लागेका छन् ।

केन्द्रमा शिर्ष नेता जसरी बिभाजित भएका छन् त्यसै गरी बाँकेमा पनि आआफ्ना पक्षमा प्रदर्शन भइरहेका छन् । तर यि दुबै समूहको दावी भने पार्टी एकता जोगाउने भन्ने रहेको छ । नेकपा सम्वद्ध युवा विद्यार्थीले बुधबार ज्ञापनपत्र बुझाए । राष्ट्रिय युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेले नेकपा जिल्ला पार्टी कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सहइन्चार्ज मोहम्मद हारुन, जिल्ला प्रदेश सदस्य शान्ति ढकाल, नरेन्द्र न्यौपाने,कमिटीका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, रत्न खत्री, अमिर केसी , अव्दुल हुसेन खाँ लगायतका नेताहरुलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालले पार्टी एकताका लागि शीर्ष नेतृत्वलाई आग्रह गरे । एकीकृत कम्युनिष्ट पार्टी आम नेपाली जनता र पार्टीका आम कार्यकर्ताको चाहना भएको भन्दै बस्यालले पार्टी विभाजन सोच्न पनि नसकिने बताउँदै कार्यकर्तालाई निराश नबनाउन आग्रह गरेका थिए ।

युवा संघ नेपालका नेता दीपक जिएम, किशोर थापा, अनेरास्ववियुका केन्द्रीय सदस्य हंश खनाल लगायतले पार्टी एकताका लागि युवा विद्यार्थीले दबाबमुलक कार्यक्रम गरेको बताए । यो समूहले व्यक्तिका लागि नभई बिधिका लागि पार्टी संचालन हुनुपर्ने आवाज उठाउनुपर्ने बताउँदै माग गरेको छ ।

त्यसलगत्तै नेकपाकै अर्को समूहले बिपीचोकमा सरकारको स्थायीत्व र पार्टी एकताका लागि भन्दै प्रदर्शन गरे । युवा विद्यार्थीलाई सम्बोधन गर्दै मोहित शाह, टेकेन्द्र मल्ल लगायतले पार्टी एकता जोगाउँदै बर्तमान सरकारलाई निरन्तरता दिएर अगाडी बढ्नुपर्नेमा जोड दिए । यि दुबै गतिविधिले जिल्लामा एकताका लागि भन्दा झझगडाका लागि प्रोत्साहन गरिरहेको छ ।


पार्टीका नेता पनि उस्तै

नेकपाका शिर्ष नेताबीचको आन्तरिक कलह बढ्दै गएपछि स्थानीय नेता कार्यकर्ताबीच समेत मनमुटाव भएको छ । कार्यकर्ताहरु सडकदेखि सामाजिक सन्जालमा शिर्ष नेताको पक्ष बिपक्षमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । समर्थनमा र बिरोधमा प्रदर्शनका घटना हुन थालेका छन् ।
नेकपा बाँकेको पार्टी कार्यालयमा सोमवार बर्तमान सरकारको स्थायित्व र पार्टी एकताको पक्षमा धर्ना दिइयो । तर धर्नाका विषयमा जिल्लाका पार्टीका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप चुलिएको छ । नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाको बिरोध जनाए । अघिल्लो दिननै पार्टीले आधिकारिक बिज्ञप्ती सार्वजनिक गरी पार्टी एकताका पक्षमा शिर्ष नेतालाई ध्यानार्कषण गराएको र पार्टी गतिविधि बिरोधी गतिबिधि गरेको पाइए कारवाही गर्ने चेतानी दिएको थियो । चेतावनीका बाबजुद धर्ना आयोजना गरिएको अध्यक्ष खरेलले बताए । उनले यस्ता गतिविधिले पार्टी एकतामा चोट पुर्याउने बताए ।

धर्ना कार्यक्रममा नेकपा पार्टी कार्यालय सदस्य निरक गुरुङ्ग, प्रमोद धिताल,नेता अशोक कर्माचार्य, किस्मत कक्षपति, पुजन बिश्वकर्मा, दत्तप्रशाद आचार्य लगायतले नेतृत्व गरेका थिए । कर्माचार्यका अनुसार पार्टी एकताकै पक्षमा शिर्ष नेतालाई दवाव दिन जिल्ला नेतृत्वलाई जानकारी दिएर धर्ना गरिएको बताए । उनले भने,–‘कसैलाई पनि भ्रम नहोस । धर्ना पार्टी अध्यक्ष,सचिव, इन्चार्जलाई सोधेर गरिएको हो । इन्चार्ज र सचिव कार्यक्रम गर्न सहमति दिनुभएको हो तर अध्यक्षले अस्वीकार गर्नुभएको थियो । अनि यस्तो पार्टी हितमा गरिएको कार्यक्रममा पार्टी नेतृत्वले कायकर्ताहरुलाई नजानु भनेर उर्दी जारी गर्न मिल्छ ?’

बढ्दै गएको बिवाद थपिएको छैन । सामाजिक सन्जालमा आरोप प्रत्यारोप चलिरहेको छ । जिल्लाका सोझा नेता कार्यकर्ता चिन्तित छन् । पार्टीमा फुटको अवस्था आएपछि रोक्न बिभिन्न माध्यमबाट दवाव दिइरहेका छन् । नेकपा बाँकेले प्रेस बिज्ञप्ती जारी गरी पार्टीलाई फुटको अवस्थामा लैजाने गतिविधि नगर्न शिर्ष नेताहरुलाई चेतावनी नै दिएको छ । देशको सम्बृद्धि र कम्युनिष्ट आन्दोलनका लागि नेकपामा एकता अपरिहार्य रहेको पार्टी अध्यक्ष आईपी खरेलले बताए ।

प्रकाशित मितिः     5:02:47 PM  |