व्यवसायीको पक्षमा दामोदर आचार्यको जोडदार आवाज !


नेपालगन्ज २५ असार :  दृड आत्मबिश्वासले क्यान्सर जस्तो रोग जितेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले व्यवसायीका पक्षमा जोडदार भाषण गरे ।

राहत प्याकेज माग गर्दै नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयमा दवावमुलक र्याली सहित पुगेको नेपालगन्ज उद्योग वाणिज्य संघको सभामा पूर्व केन्द्रीय सदस्य आचार्यले चर्को घामको प्रवाह नगरी व्यवसायीका पक्षमा भाषण गरे ।

उनले धरासायी बनेको निजीक्षेत्रलाई सरकारले के राहत दियो भन्दै प्रश्न तेर्साए । ‘अह ! कतै राहत पाएको महसुस भइरहेको छैन । यो किन ? के सरकारलाई धरासायी बनेको अर्थतन्त्र उकास्न छैन ।’– आचार्यले भने । उनले बजेटबाट राहतको कुनै कार्यक्रम नल्याए पनि अब आउने मौद्रिक नीतिबाट भने व्यवसायीको माग सम्बोधन हुनुपर्नेमा जोडदार आवाज उठाएका छन् ।

उनले भाषण गर्दा मध्यान्हको चर्को घाम लागेको थियो । तर त्यसको प्रवाह नगरी आचार्यले व्यवसायीका पक्षमा बोले । उनको आत्मबलको व्यवसायीले प्रशंसा गरेका छन् । आचार्य अहिले मात्र होइन उपचार गरेर घर फर्किएदेखि नै पहिले जस्तै सक्रियतापूर्वक काममा लागिरहेका छन् ।

आचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष, समाजसेवी एवं राजनीतिज्ञ हुन । क्यान्सर मुक्त भएपछि यतिबेला आचार्य पहिले जस्तै सामान्य जिवनयापन गरिरहेका छन् ।

आचार्यलाई गत बैशाख १८ गते क्यान्सर रोगले समात्यो । उहाँका लागि मात्र होइन शुभेच्छुकका लागि समेत त्यो स्तब्ध पार्ने खबर थियो । ‘जस्तो पायो त्यस्तै’ जिवनशैली कहिल्यै नअपनाएका आचार्यले क्यान्सर होला भनेर कसैले चिताएको थिएन । त्यही नचिताएको कुरा आचार्यलाई भयो ।

त्यो दिन असजिलो भएपछि अस्पताल लगिएको थियो । त्यसअघि २०४८ सालतिर जण्डिस भएर दश दिन अस्पताल भर्ना भएको बाहेक अरु बेला कहिल्यै अस्पताल भर्ना हुनु परेको थिएन । जिवनशैली राम्रै भएका आचार्यलाई भित्र–भित्र भने क्यान्सरले समातिसकेको रहेछ ! जुन कुरा उनले बैशाख १८ मा मात्र महसुस गरे ।

असजिलो भएर अस्पताल लगेपछि त्यही उनी बेहोस भएर भुईमा लडे । शरिरका बिभिन्न परीक्षण गरियो । तर क्यान्सर नै भन्ने पत्ता लाग्न सकेन । परिवारका अन्य सदस्य चिकित्सा क्षेत्रकै भएकाले थप स्वास्थ्य परीक्षण गर्न सहज भयो । मनमा क्यान्सर जस्तो रोग पो भयो की भन्ने चुसो नपरेको होइन । धेरै परीक्षण गर्दा पनि यहाँ रोग पत्ता नलागे पछि काठमाण्डौ लगियो । काठमाण्डौमा हुँदै उनी भारतको राजधानी दिल्लीमा गए । जहाँ निरन्तर उपचार गरेर आठ महिना पछि गत पुस महिनामा घर फर्किए ।

आचार्यले राजनीतिको हार–जितलाई सजिलै पचाए । तर क्यान्सरलाई जित्न निकै मुस्किल पर्यो । आठ महिना उनका लागि ज्यादै कष्टकर बन्न पुग्यो । क्यान्सर भन्ने वित्तिकै कयौको मनिस्थिती नै कमजोर बन्छ । त्यसलाई निको पार्न गरिने किमो जस्तो उपचार बिधि अझ पिडादायी हुन्छ । तर बाँच्नका लागि संघर्ष गर्नुको बिकल्प रहेन । यसबीचमा क्यान्सर जित्न आचार्यले १२ वटा किमो चढाए ।

त्यसक्रममा उनले झेलेका कष्ट अहिले सपना जस्तै लाग्छ । यस्ता दुःख झेल्दै आचार्य ‘क्यान्सरमुक्त’ भएर घर फर्किएका छन् । बेग्ले आत्मविश्वास लिएर, नयाँ जिन्दगी सहित ।

न्यूरोडस्थित घरमा बस्दै आएका आचार्यको दैनिकी अहिले पहिले जस्तै सामान्य छ । भन्छन्,–‘मेरो शरिरबाट क्यान्सरको जिवाणु हटिसकेको छ । चिकित्सक र प्राविधिक रिर्पोट अनुसार म क्यान्सरमुक्त भए । तर शुरुमा किमोका कारण अलि कमजोर बनाएको थियो । अहिले म ठिक छु ।’ बाँकी उनको दैनिकी सामान्य बन्दै गएको छ ।

प्रकाशित मितिः     २५ असार २०७७, बिहीबार १६:१६  |