एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कटौती, ठूला योजना कार्यान्वयन गर्न मेयरको निर्देशन


नेपालगन्ज २५ असार : नेपालगञ्ज उप–महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कम गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहिवार उपप्रमुख उमा थापा मगरले एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव गरेकी थिइन ।

उप–प्रमुख मगरले यसअघि प्रस्तुत गरेको आगामी आर्थिकवर्ष २०७७/७८ को विनियोजित बजेट परिमार्जन गर्दै एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाको संशोधित वजेट प्रस्तुत गरेको थियो ।

बजेटमा नगरका २३ वटा वडालाई २१ करोड रुपिया विनियोजन गरिएको छ । वडाबाट संकलन भएको राजश्वको १५ प्रतिशत सम्वद्ध वडालाई बाँडफाँड गरिएको छ । वडाको जनसंख्याको आधारमा समेत बजेट सिलिङ गरिएको छ । यसरी बजेट सिलिङ अनुसार वडा नम्बर १८ लाई सबैभन्दा बढि एक करोड ४३ लाख रुपिया र सबैभन्दा कम वजेट सिलिङ्ग पाउने वडाले कम्तिमा ५४ लाख रुपिया प्राप्त गरेका छन् ।

नगरसभामा नगर प्रमुख डा. राणाले सन्तुलितढंगले वडामा वजेटको सिलिङ तयार गरिएको जानकारी दिए । बजेट कनिका छरेजस्तो गरि वडामा काम नगर्नुहोला, नगरप्रमुख राणाले वडाका जनप्रतिनिधीहरुलाई भने,– देखिने गरि ठुला काम गर्नुहोस ।

ठुला योजनाले वजेटको सहि सदुपयोग हुने उनको भनाई थियो । नगरसभामा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा लगायतले विभिन्न सुझाव दिए । बिहिवारको नगरसभाले बजेटको सिलिङलाई सर्वसम्मत पारित गरेको छ । असार ३० गते बस्ने बैठकले वडाबाट आउने योजनासहित बजेट पारित गर्ने भएको छ ।

प्रकाशित मितिः     २५ असार २०७७, बिहीबार १८:५८  |