नेपालगन्ज ५ साउन : पूर्वमन्त्री लोकेन्द्र बिष्टमगरले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा ड्रागनखेती गरेका छन् । यतिबेला ड्रागन फल फलेको छ । सामाजिक सन्जालमा उक्त फलेको फल देखाउँदै मगरले नेपालगन्जमा कति चाहिन्छ भन्दै सोधेका छन् ।
के तपाई यो खान तयार हुनुहुन्छ ।
पूर्वमन्त्री मगरले लगाएको ड्रागनको बजार नेपालगन्ज, काठमाण्डौं, पोखरा, बुटवल जस्ता ठूला शहरहरु हुन । नेपालगन्जमा भाटभटेनी सुपरमार्केट बाहेक व्यक्तिहरुले समेत ड्रागन फ्रुट खरिद गरेर ल्याउने गरेका छन् ।
राससका अनुसार, दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले जानकारी दिए।
उनले भने,‘अझै ठूलो क्षेत्रफलमा यो खेती हुन सकेको छैन, तर आकर्षण बढ्दै गएको छ।’ अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन्।
रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती विस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ। ‘यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोच बनाएका छौँ’, मगरले भने। नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन। न्यून मात्रामा भियतनाम लगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ।
विदेशी ड्रागन फ्रुट प्रतिकेजी ७०० देखि १९ सय रुपैयाँसम्म किनबेच हुने गर्छ।
आफू मन्त्री हुँदा चीन गएको बेला उनले ड्रागन फ्रुट खाने अवसर पाएपछि यसबारेमा चासो लिएका थिए। पूर्वमन्त्री मगरले भने, ‘त्यतिबेला यो फललाई नेपालमा उत्पादन गरे कस्तो हुन्छ होला भन्ने सोच बनाएको थिएँ।’
नेपालमा यसको खेती भित्रिएको करिब १८ वर्ष जति भएको बताइन्छ। आफूले १५ वर्षदेखि यस खेतीका बारेमा जानकारी लिँदै आएको उनको भनाइ थियो।
तराईमा यो खेतीका लागि हावापानी उपयुक्त भएकाले दाङमै आएर खेती गरेको उनले बताए। पूर्वमन्त्री मगरले लामो समय बाँझो रहेको तीन विघा छ कट्ठा जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएर खेती थालेका हुन्। जग्गा १५ वर्षका लागि ४० लाख रुपैयाँमा भाडामा लिएको हो।
धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरो पिल्लर गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ। त्यही डिप बोरिङ बनाएर हप्तामा दुईरतीन पटक सिँचाइ गर्ने गरिएको छ।
यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ। ड्रागनका तीन प्रकारका बिरुवा भए पनि आफूले बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि रातो हुने दुई प्रकारका बिरुवा लगाएको उनको भनाइ थियो ।
रातमा मात्रै फल्ने ‘रातकी रानी’
यसको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ। यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ। फूल फुलेको चाररपाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उनको भनाइ छ।
फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ। राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ।
ड्रागन सिउँडी प्रजातिको फल हो। दाङमा ड्रागन नौलो फल मानिएको छ। अन्य मुलुकमा व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायिकता पाउन थालेको छ।
गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ। जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ। फल खाँदा मीठो नभए पनि औषधि गुणले भरिपूर्ण रहेको छ।
यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ। यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री मगरले बताए। लामो समयको अध्ययन र अनुसन्धानपछि यो खेतीतर्फ आकर्षित भएको उनको भनाइ थियो।