साउनमा हुनैपर्ने करको काम कसरी हुन्छ ? ‘अवस्था सामान्य रहे’ आईतवारबाट सेवा सुचारु हुने


नेपालगन्ज २० साउन :  आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कार्यरत कर्मचारी सहित परिवारका सदस्य गरी १२ जना कोरोना संक्रमण भएपछि कार्यालय सिल गरिएको छ ।

आइसोलेसन सेन्टरमा परिणत भएको कर कार्यालयबाट कामकाज हुने कुरै भएन । तर साउन महिनामा राजश्वसंग सम्बन्धीत काम कसरी अगाडी बढ्छ भन्नेमा सेवाग्राही अन्यौल छन् ।

भ्याटमा दर्ता भएका फर्मका लागि साउन महिनाभित्र खरिद विक्री खाता आन्तरिक राजश्व कार्यालयबाट प्रमाणित गर्नुपर्छ । प्रमाणित नगरे जरिवाना लाग्छ । अनुमानित कर विवरण बुझाउने, खरिद विक्री प्रमाणित गर्नुपर्ने जस्ता काम कसरी अगाडी बढ्छ भन्ने अन्यौलता छाएको
छ । अन्य कार्यका लागि समय भएकाले साउन मसान्तमा गर्नुपर्ने बाध्यता छैन । तर खाता प्रमाणित जस्ता कामका लागि भने साउनमै
हुन्छ ।

यो विषयलाई कसरी अगाडी सूचारु गरिन्छ भन्ने प्रश्नमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले भने,–‘अवस्था सामान्य रहे आईतवारबाट काम सुचारु गर्ने सोचेका छौं । तर आईतवारबाट कार्यालय खोल्नका लागि अवस्था सामान्य हुन्छ की हुँदैन हेर्दैछौं ।’

दिनैपिच्छे सरकारी कार्यालयमा कोरोना संक्रमण देखिएको छ । आईतवारदेखि लागु भएको निषेधाज्ञा मंगलवार सकिदैछ ।

यस विषयमा थप निर्णय के हुन्छ हेर्न बाँकी छ । बाँकेमा संक्रमणदर बढ्दै गएको र केन्द्रीयस्तरमा समेत पुन लकडाउन हुने चर्चा चलिरहेका बेला आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आईतवारबाट सेवा दिन सक्छ की सक्दैन ? पौडेल भन्छन्–‘म फेरी भन्छु अवस्था सामान्य रहे आईतवारबाट सेवा दिन्छौं । यसविचमा लकडाउन जस्ता निर्णय भए अर्कै कुरा ।’

प्रकाशित मितिः     २० श्रावण २०७७, मंगलवार ०९:२८  |