दाङका विभिन्न कार्यालयबाट ३ अर्बभन्दा बढी राजस्व संकलन


साउन २०, दाङ । दाङमा गएको आर्थिक वर्षमा करीब रू ३ खर्ब राजस्व संकलन भएको छ । संघीय सरकार र प्रदेश सरकारअन्तर्गतका जिल्लामा रहेका कार्यालयमार्फत आर्थिक वर्ष २०७६र ७७ मा रू ३ अर्ब १५ करोड १७ लाखभन्दा बढी राजस्व संकलन भएको हो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय दाङका अनुसार संघीय सरकारअन्तर्गतका कार्यालयमार्फत रू २ अर्ब ५३ करोड १ लाख १९ हजार र प्रदेश सरकारअन्तर्गतका कार्यालयमार्फत रू ६२ करोड १६ लाख ७६ हजार राजस्व संकलन भएको छ ।

संकलित राजस्वमा यहाँका स्थानीय तहले खर्च नसकेर रकम अनुदान फिर्ता र वेरुजु उठाएको रकमसमेत समावेश हुने कोलेनिकाका सूचना अधिकारी अर्जुनकुमार डिसीले बताए ।
संघीय सरकारअन्र्तगत लिने करमध्ये प्रशासनिकदण्ड जरिवाना र जफतवाट रू २ करोड ६९ लाख ५३ हजार ८००, निकासा फिर्ता रू ४ करोड ३ लाख ८४ हजार २००, व्याजमा लाग्ने करबाट रू ३ करोड ९ लाख २९ हजार ५०० र शिक्षा क्षेत्रको आम्दानीतर्फबाट रू १ करोड ४ लाख ४८ हजार ९०० संकलन भएको छ ।

त्यस्तै न्यायिकदण्ड जरिवाना र जफतबाट रू ५८ लाख ५२ हजार ८००, प्रदूषण नियन्त्रण कर रू १३ लाख ६४ हजार ३०० र पारिश्रमिक कर रू ७ करोड १७ लाख ३४ हजार ५०० संकलन भएको छ ।

त्यसैगरी विभिन्न निकायमा मुनाफामा लाग्ने कर प्राइभेट लिमिटेड कम्पनीवाट रू ७ करोड ३ लाख ८७ हजार ३००, शिक्षासेवा कर शैक्षिक संस्था रू ५ लाख ४१ हजार ५०० अन्तःशुल्क अन्य औद्योगिक उत्पादन रू १५ करोड ९ लाख ९९ हजार ४००, पव्लिक लिमिटेड कम्पनीको मुनाफा कर रू ६४ लाख २७ हजार ५००, राहदानी शूल्क रू ३ करोड १७ लाख २७ हजार ५००, सम्पति बहाल तथा पट्टावाफत लाग्ने कर रू ३ करोड ४५ लाख ९२ हजार ४००, मूल्यवृद्धि कर उत्पादन रू ५ करोड ७१ लाख ९७ हजार ६०० र मूल्य अभिबृद्धि कर वस्तु विक्री वितरण रू ३५ करोड ५४ लाख १ हजार ४०० संकलन भएको कोलेनिकाले बताएको छ ।

त्यस्तै प्रदेश सरकारअन्तर्गतका कार्यालयमार्फत प्रशासनिकदण्ड जरिवाना र जफत रू ९६ लाख ३७ हजार ४००, निकासा फिर्ता रू ५ लाख १९ हजार ७००, वन क्षेत्रको रोयल्टि रू १ करोड ९८ लाख ४९ हजार ६००, बाडफाडवाट प्राप्त दहत्तरको विक्रीवाट हुने आय रू ४ करोड ३९ लाख २० हजार २००, यातायात क्षेत्रको आम्दानीबाट रू २ करोड ५० लाख ६ हजार ३०० र घरजग्गा रजिष्टर दस्तुरबाट रू १३ करोड ६६ लाख ९९ हजार २०० राजस्व संकलन भएको छ ।

त्यस्तै व्यवसाय रजिष्टेशन दस्तुरबाट रू १ करोड ४५ लाख ९२ हजार ५००, चालक अनुमतीपत्र, सवारी दर्ता किताव सम्वन्धी दस्तुरबाट रू ५ करोड ४५ लाख २ हजार ९००, सवारी साधन करबाट रू ३७ करोड ३ लाख ९७ हजार ९००, वेरुजुबाट रू १ करोड १० लाख ५ हजार ३०० र अनुदान फिर्ता रू २ करोड ७ लाख ३ हजार ४०० राजस्व संकलन भएको छ ।

प्रकाशित मितिः     २० श्रावण २०७७, मंगलवार १३:२६  |