पश्चिमको ‘आर्थिक राजधानी’लाई फेरी लकडाउनको चोट, तंग्रिने खुसी हरायो !


बाँके २१ साउन :  साउन १५ गते । बाँकेका तारे होटलमा सन्चालनको खुसि थियो । चार महिनाको लकडाउनमा बन्द रहेका होटलहरु आंशिकरुपमै भए पनि चल्ने तरखरमा थिए । सीमित कर्मचारीहरु हेल्थ प्रोटोकल अपनाएर बिहानैदेखि सेवाग्राहीको स्वागत गर्न बसेका थिए । तर सेवाग्राहीलाई स्वागत गर्ने त्यो खुसी एकदिन पनि टिक्न सकेन ।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा लागु गर्यो । जुन आगामी शनिवारसम्म जारी छ । आशिंकरुपमा भए पनि होटल चलाउने योजना भताभुङ्ग भयो ।

होटल जस्तै अवस्था उद्योगी,व्यवसायीको पनि छ । लकडाउन अन्त्यसंगै पश्चिमको आर्थिक राजधानीका उद्योग पहिले जस्तै चल्ने अपेक्षा गरिएको थियो । चाडपर्व नजिकिएका बेला अन्य व्यापार पनि तंग्रिने आशा पलाएको थियो । तर यि आशा निरासामा परिणत भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भन्छन्–‘अवस्था सामान्य होला भनेको झन् समस्याग्रस्त भयो ।’

यतिबेला उद्योग,कलकारखानामा कर्मचारीदेखि कच्चा पदार्थसम्म अभाव छ । उद्योग राम्रोसंग चल्न सकेका छैनन् । बैंकको ऋण तिर्नुपरेको छ । लकडाउन अन्त्यपछि चल्ने व्यापारले त्यसको भरपाई हुने आशामा रहेका उद्योगी, व्यवसायीलाई पर्नुचोट परेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि प्रमुख बिकल्प लकडाउननै मानिदै आएपछि त्यसले अर्थतन्त्रलाई गम्भीर धक्का लगाएको छ । बाँकेको अर्थतन्त्र प्रभावित हुँदा त्यसको प्रभाव पश्चिम क्षेत्रमा पर्ने गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र पूर्णतः लकडाउनको अवस्थामा छन् । व्यवसायिक हिसावले लाइफलाईन मानिएका क्षेत्रहरु नै लकडाउनमा परेपछि त्यसको प्रभाव अन्यत्र पर्नु स्वाभाविक हो । लकडाउनकै बीचमा केन्द्रीय तथ्यांक विभागले निकालेको मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) २.३ प्रतिशतमा खुम्चिएको छ । अन्य अनुसन्धानहरुले आर्थिक बृद्धि अझ खुम्चिने आंकलनहरु गरिरहेका छन्
लकडाउन अन्त्यसँगै अर्थतन्त्रका विभिन्न आयामहरुमा सकारात्मक प्रभाव देखिन थालेको छ ।


नीजि तथा सार्वजनिक यातायात सञ्चालन हुनुका साथै ठूला साना सबै प्रकारका व्यवशायहरु क्रमशः खुल्न थालेका थिए । रेस्टुरेन्टहरु खोलिएका मात्रै थिएनन्, भरिभराउ हुने अवस्थामा पुगेका छन् । मोटरासाईकल बिक्री पुरानै अवस्थामा फर्किने चरणमा छ भने चार पाङग्रे सवारीसाधनको सोधपुछ बढ्दै गएको छ ।

सिमेन्ट, छडदेखी, मदिरा, मोबाईल, कम्प्यूटर, कपडा सबै बस्तुको व्यापार करीव पुरानै अवस्थामा फर्किएको आभास मिल्दै थियो । यसबीचमा कतिपय बस्तुहरुको अभाव महसुस समेत भएको छ । त्यसको असर बस्तु आयातमा परेको छ । आयात पुरानै अवस्थामा पुगेको छ । लकडाउन खुलेसँगै दैनिक ५र ६ अर्ब रुपैयाँ बस्तु आयात हुन थालेको छ । लकडाउनका कारण काम प्रभावित भएपछि ठेकेदारहरु पुनः म्याद थपेर काम अघि बढाउन खोजिएको छ ।

बरु अत्यन्तै कठिन क्षेत्रहरुमा लकडाउन गर्ने र मानिसहरुलाई सुरक्षा मापदन्ड अपनाएर मात्र बाहिर निस्कन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र कोरोना भाईरसको चेकजाँचलाई बढाउन, भारतीय सीमाबाट अनियन्त्रित ढंगले भईरहेको आवागमलाई पूर्ण रुपले रोक्न विशेष कदम चाल्नुपर्ने मत छ ।

मृत अवस्थामा पुग्न लागेको अर्थतन्त्रलाई उकास्ने पहिलो जिम्मेवारी सरकारको हो र सरकारले नै जनताको सुरक्षाको प्रत्याभूति पनि गर्नुपर्छ । त्यसैले लकडाउन गरेर विस्तारै अघि बढ्न खोजेको अर्थतन्त्रको बीचैमा घाँटी निमोठ्ने प्रयास गर्नुभन्दा अरु नै विधि प्रयोग गरेर रोगको उपचार खोजिनुपर्छ ।

यसअघि भएको ४ महिना लामो बन्दाबन्दीले देखाईसकेको छ कि लकडाउन मात्रै असली उपचार होइन । केही अवधि भाईरसको कहर नदेखिए पनि अन्ततः यसको आयाम विस्तार भएरै छाड्यो । अहिले नै पनि धेरै व्यक्तिहरु वेरोजगार भईसकेका छन् । कतिपय साना तथा मझौला उद्यम/व्यवसायहरु उठ्नै नसक्ने गरि थलिएका छन् ।

प्रकाशित मितिः     8:30:12 AM  |