गुर्भाकोटदेखि चौर पुग्यो गाडी, तरकारी र फलफुल किन्न घरमै पुग्छन् व्यवसायी


गुर्भाकोट (सुर्खेत) २१ साउन :  गुर्भाकोट नगरपालिकादेखि सल्यानको चौर पुग्न दुई घण्टा गाडीको यात्रा गरे पुग्ने भएको छ । कुनै बेला त्यहाँ पुग्न एकदिनको कष्टकर पैदल गर्नुपर्ने बाध्यता थियो ।

सल्यानको कुपिन्डे नगरपालिका –१२ मा पर्ने भए पनि चौरका सर्वसाधारण सामाजिक र आर्थिक कामका लागि गुर्भाकोट आउने गर्छन । बाटो बनेसंगै उनीहरुको दैनिकी सहज बन्दै छ भन् जीवनमा  परिवर्तन आउन थालेको छ ।

चौर तरकारी, फलफुल उत्पादन र कृषिक्षेत्रका लागि चिनिन्छ । स्याउँ, नासपति, आलु, टिम्मुर उत्पादनका लागि प्रख्यात छ । अहिलेसम्म ती उत्पादन बेच्न त्यहाँका सर्वसाधारणले निकै कठिनाई भोग्नुपरेको थियो । विक्रीका लागि एकदिन पैदल हिडेर गुर्भाकोटको बोटेचौरसम्म आउनुपथ्र्यो ।

गुर्भाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका चौर जन्मिएका किरण ओली भन्छन्–‘पिठ्युमा भारी, पटुकीमा नुन र रोटी बोकेर भालेको डाकोसंगै आफुले उत्पादन गरेका तरकारी, फलफुल बेच्न बोटेचौर आउनुपर्ने बाध्यता थियो । अब बिस्तारै हट्दै छ ।’

ओलीका अनुसार सक्नेले त्यसरी बेच्थे नसक्नेको बारीमै कुहिन्थ्यो । ‘म धेरै समयपछि चौर गएर आए । अहिले पुरै बद्लिएको पाए । नेपालगन्ज र सुर्खेतदेखि व्यापारी तरकारी र फलफुल किन्न चौर पुग्ने रहेछन् । स्थानीय हर्षित छन् ।’– ओलीले भने ।


गुर्भाकोटको बोटेचौर– कोट–हिल–टिमुरे हुँदैसडक बनेपछि पहिलो पटक गाडी चढेर गुर्भाकोटका मेयर सहितको टोली चौर पुग्यो । चौर र गुर्भाकोटबीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउनका लागि उक्त सडकमार्ग लाभदायीक हुने मेयर हस्तबहादुर पुनले बताए ।

उनले भने,–‘त्यहाँको कृषि उत्पादनलाई प्रोत्साहित गर्न यो सडकको स्तरोन्नतीका लागि म सक्दो सहयोग गर्छु ।’ उक्त सडकखण्डमा अहिले ठुला गाडी चलाउन मिल्दैन । साना जीपहरु भने चलिरहेका छन् । सडकका केही भाग बिग्रिएकाले त्यसलाई मर्मत गर्न सघाउने मेयर पुनले प्रतिबद्धता जनाएका छन् ।

संघीय सरकारको रु ४२ करोड लागतमा सडक निर्माण भएको हो । सडक बनेसंंगै पहिले गाउँ छाडेकाहरु समेत चौर आउन थालेका छन् । पुख्र्यौली जग्गामा फलफुल र तरकारी लगाउन थालेको स्थानीय बताउँछन् ।

‘पुर्वाधार विकासको अभावमा चौरले भोग्नुपरेको दुःख बयान गरी साध्य छैन । अहिले त्यहाँको विकासको कुरा सुन्दा खुसी लाग्छ ।’– ओली भन्छन्–‘हाल सुरु भएको विकासलाई परिपक्क बनाएर लैजाने हो भने गाउँको आर्थिक कायापलट हुनेमा ढुक्क छु ।’

प्रकाशित मितिः     २१ श्रावण २०७७, बुधबार ०९:३४  |
error: Content is protected !!