भैरहवा करिडोरका ९० प्रतिशत उद्योग ‘सटडाउन’


काठमाडौं । चौबिस घण्टामा ४६ पटक भन्दा बढी बिजुलीको लाइन ट्रिपिङ भएपछि भैरहवा करिडोरका ९० प्रतिशत उद्योग बन्द भएका
छन् ।
नेपाल विद्युत् प्राधिकरणले वितरण गरेको बिजुली छिनछिनमा आउने/जाने गर्दा मेसिन र अन्य विद्युतीय उपकरणमा खराबी आएपछि उद्योगीले उद्योग बन्द गरेका हुन् ।

‘दुई दिन भयो, २४ घण्टामा ४६ चोटी भन्दा बढी लाइन जाने आउने गरिरहेको छ,’ श्री स्टिलका सञ्चालक राजेश अग्रवालले भने, ‘प्राधिकरणले गुणस्तरहीन बिजुली दिएकाले उद्योगको सम्पूर्ण मेसिन समेत बिग्रिन थालेपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको हो ।’

एकातिर प्राधिकरणले मागे जति विद्युत् दिन सकेको छैन भने अर्कोतिर उपलब्ध गराएको विद्युत् पनि गुणस्तरहीन हुँदा उद्योगीले दैनिक लाखौं रुपैयाँको नोक्सान व्यहोर्नुपरेको छ ।

‘कतिपय यस्ता संवेदनशील उद्योग छन्, उद्योग चलिरहेको बेला झ्याप्प विद्युत् जाने बित्तिकै मेसिनभित्र रहेको कच्चा पदार्थ फाल्नुपर्छ,’ अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भने, ‘विद्युत्को नियमितता नहुँदा उद्योगीले केही दिनदेखि उद्योग बन्द गर्नुपरेको छ ।’


उद्योगीका अनुसार एक हप्तादेखि लाइन ट्रिपिङको समस्या अत्यधिक बढेको छ । पहिला पहिला पनि दिनमा एकरदुई पटक लाइन जाने गर्थो । अहिले घण्टामै ३/४ पटकसम्म लाइन जाने गरेको छ । त्यसले गर्दा उद्योगमा जडान गरिएको मेसिन तथा कच्चा पदार्थ फाल्नु परेको उद्योगीहरु बताउँछन् ।

भैरहवा करिडोरमा दर्जनौ सिमेन्ट उद्योग छन् । त्यसैगरी, स्टिल उद्योगको संख्या पनि दर्जनौ रहेका छन् । यी उद्योगलाई निरन्तर विद्युत् आवश्यक पर्ने भएपछि प्राधिकरणले गुणस्तरीय विद्युत् उपलब्ध गराउन नसकेपछि धमाधम उद्योग बन्द हुन लागेको उद्योगीहरु बताउँछन् ।

झ्याप्प झ्याप्प लाइन जान थालेपछि उद्योगमा मात्रै नभई घरमा समेत ठूलो क्षति पुगेका छन् । भैरहवामा केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । अहिले एसी, फ्रिजलगायतका धेरै विद्युतीय उपकरण प्रयोग भइरहेका छन् । तर, बीचबीचमा बत्ति जाँदा विद्युतीय उपकरणमा ठूलो क्षति पुगिरहेको छ ।

प्रकाशित मितिः     २१ श्रावण २०७७, बुधबार १४:१५  |
error: Content is protected !!