नेपालगन्ज २७ साउन : कोरोना संक्रमण दर बढ्दै गएपछि बाँकेका संक्रमित आफैले खर्च गर्न मिल्ने गरी तारे होटलमा सेल्फपेड आइसोलेसन सन्चालनमा ल्याइएको छ ।
कोरोना नियन्त्रण सम्बन्धी जिल्लास्तरीय समितिको निर्णयको आधारमा सन्चालनमा ल्याइएको त्यस्तो आइसोलेसनमा बस्ने दैनिक कति शुल्क कति हो भन्नेमा अन्यौलता छ । शुल्क निर्धारणको लिखित सम्झौता नगरी संक्रमितलाई राखेको पाइएको छ ।
चारदिन बस्दा समेत आफुले होटलमा दैनिक कति रकम दिनुपर्ने हो भन्ने स्वयं संक्रमितलाई थाहा छैन । यद्यपी सरकारले निर्माण गरेका आइसोलेसनमा संक्रमित भरिभराउ हुँदै गर्दा आएको सेल्फपेड आइसोलेसनको अवधारणाप्रति धेरै खुसी छन् ।
अर्थपेजसंगको टेलिफोन कुराकानीमा एकजना संक्रमितले भने–‘यहाँ कसैले सिङ्गल २५ सय र डबल ३५ सय भन्छन् । फेरी कसैले सिङ्गल ३५ सय र डबल ५ हजारसम्म भनिएको छ ।’ सरोकारवाला निकायले हचुवाका भरमा पैसाको निर्धारण गरे पनि लिखित सम्झौता नगर्दा अन्यौलता छाएको हो । ती संक्रमित भन्छन्–‘खर्च धान्नै नसकिने अवस्था आउने होकी जस्तो लागेको छ ।’
बाँकेमा यसअघि पनि तारे होटललाई आइसोलेसन बनाएर त्यसमा लाग्ने खर्चको लिखित सम्झौता गरी कार्यान्वयन गरेको उदाहरण छ । कोरोना संक्रमितको उपचार भइरहेको आइसोलेसनमा रहेका स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने उदेश्यले स्थापना गरिएको त्यस्तो अवास व्यवस्थापन समितिको संयोजकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ थिए । उनी स्वंय अहिले संक्रमित भई सेल्फपेड आइसोसेलन रहेको सिटी प्यालेसमा रहेका छन् ।
श्रेष्ठका अनुसार यसअघि सरकारी बजेटबाट तिर्ने गरी स्वास्थ्यकर्मीलाई तारे होटलमा आइसोलेसनमा राख्दा लाग्ने खर्चको लिखित सम्झौता नै भएको थियो । ‘दुई पटक नास्ता र दुई पटक खाना गरी सिङ्गललाई प्रति दिन २२ सयका दरले सम्झौता गरिएको थियो ।’ श्रेष्ठ भन्छन्–‘तर पछि बजेट अभावका कारण डबल बसाएर रु ३ हजार शुल्क निर्धारण गरिएको थियो ।’
त्यसबेला स्वास्थ्यकर्मीका लागि मात्र होटललाई आइसोलेसन बनाएपछि संक्रमितलाई भने राखिएको थिएन । अहिले सोही अनुसारको शुल्क कार्यान्वयन हुन्छ की हुँदैन एकिन पनि छैन । श्रेष्ठ भन्छन्–‘अहिलेसम्म नयाँ केही लिखित सम्झौता भएको हामीलाई जानकारी छैन । तर त्यसबेला भन्दा कम शुल्क निर्धारण गर्ने व्यवस्था मिलाउनुपर्छ ।’
रु ५ हजारसम्म शुल्क लाग्ने हल्लाकाबीच सामाजिक सन्जाल समेत तात्तिएको छ । कति शुल्क लाग्ने हो भन्ने सरोकारवाला पक्षले सार्वजनिक गरेका छैनन् । तर सेल्फपेड भने पनि अत्याधिक शुल्क निर्धारण गर्न नहुने अधिकांसको बुझाई छ ।
धेरै शुल्क लाग्ने भए मध्यस्तरका होटललाई सेल्फपेड आइसोलेसन बनाउनुपर्छ भन्नेमा पनि बहस शुरु भएको छ । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले यस विषयमा कुराकानी भइरहेको बताउँछन् ।