पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित


स्थानीय र जनप्रतिनिधिले बस्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेका छन् । यसमा सरोकारवाला सहमत भएका छन् ।

  • कमल डाँगी

नेपालगन्ज २९ साउन :  घोषणा भएको पाँच वर्षपछि बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुँदै छ ।

पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

‘लामो प्रतिक्षापछि नौवस्था औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुने भएको छ । यसका लागि चालू आर्थिक वर्षमा रु ६० करोड बजेट विनियोजन भएको छ ।’– अध्यक्ष बस्नेतले भने ।

प्रथम चरणमा औद्योगिक क्षेत्रका लागि व्यवस्थापन भएको ३ सय ३८ बिगाह जमिनमा सडक, बिजुली, पानी जस्ता पूर्वाधारको काम हुने छ ।

बस्ति व्यवस्थापनको काम बाँकी रहेकाले उक्त काम नहुँदासम्म सर्वसाधारण बसेको जग्गामा तत्काल कुनै पनि पूर्वाधार निर्माणको काम भने हुने छैन ।

बिहिवार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा संघीय सांसद महेश्वर गहतराज अथक, संविधानसभाका सांसद एवं पूर्व राज्यमन्त्री दलबहादुर सुनार, नेकपा बाँकेका अध्यक्ष एवं प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बिक, नेकपा बैजनाथ गाउँकमिटिका अध्यक्ष चन्द्र चौधरी, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, उद्योगी व्यवसायी सहित स्थानीयबासिन्दाबीच बैठक बसेको थियो ।

उक्त बैठकले हाल सर्बसाधारण बसोबास गरेको ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गामा पूर्वाधार निर्माणको काम नगर्ने तर बस्ति नभएको खाली ठाउँमा काम शुरु गर्ने निर्णय गरेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख कृष्ण पुनले जानकारी दिए ।

उनका अनुसार बैठकमा बस्ति बाहेकको खालि ठाउँमा पूर्वाधार निर्माणको काम गर्दा सर्वसाधारणबाट अवरोध नगर्ने सहमति भएको छ ।


नौवस्ता औद्योगिक क्षेत्रमा बस्ति बिस्तारको काम भने पूर्वाधार निर्माणसंगै अगाडी बढाउनेमा जनप्रतिनिधि र सरोकारवाला निकायका अगुवाहरु सहमत भएका छन् ।

जनप्रतिनिधिहरुले स्थानीयलाई घरबार बिहिन हुने गरी गरिने निर्णय पनि निर्णयका बिरुद्धमा लाग्नेमा ढुक्क हुन आग्रह गरेका छन् । बैठकमा नौवस्ता औद्योगिक क्षेत्र ल्याउन महत्वपूर्ण भूमिका खेलेका संविधानसभा सुनार सदस्य सहित संघीय सांसद अथक, प्रदेश सांसद खरेल, गाउँपालिका अध्यक्ष रुचालले स्थानीयको व्यवस्थापन आफुहरुको प्राथमिकतामा रहेको बताएका थिए ।

स्थानीयबासिन्दा र जनप्रतिनिधिले सर्बसाधारणको बस्ति व्यवस्थापनलाई उचित ध्यान दिनुपर्ने माग गर्दै अन्यथा आगामी दिनमा समस्या सिर्जना हुने स्पष्ट पारेका थिए ।  ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले स्थानीयलाई मर्का पारेर कुनै काम नगरिने स्पष्ट पार्दै भने,-अहिले टेण्डन नगर्ने हो भने बजेट अन्यत्र जाने खतरा छ ।

‘पूर्वाधार निर्माणको कामसंगै बिस्तारलाई पनि सरोकारवाला निकायले अगाडी बढाउने सहमति भएको छ । आमनागरिकलाई समेत फाईदा होस् भनेर यत्रो प्रोजेक्ट ल्याउँदा उनीहरुलाई बेघरबार बनाउने सवालै आउँदैन ।’– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले भने ।

२०७२ सालमा उक्त ओद्योगिक क्षेत्रको घोषणा भएको थियो । बिभिन्न चरणमा ५ सय २५ बिगा जमिनमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिएपछि गत आर्थिक वर्षमा ३ सय ३८ बिगाह जमिनमा औद्योगिक क्षेत्र बन्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा लालपुर्जा बनाइएको छ ।

यसबाहेक ३१ बिगाह सर्वसाधारण र ३० बिगाह सशस्त्र प्रहरीलाई दिने सहमति भएको छ ।

अब बस्ति बिस्तार गरी औद्योगिक क्षेत्रको बाँकी काम गर्नुपर्ने छ । हालसम्म जग्गा, डिपिआरदेखि ईआइएको काम सम्पन्न भइसकेको छ ।

प्रदेशस्तरकै प्रमुख औद्योगिक क्षेत्रका रुपमा बिस्तार गर्न लागिएको नौवस्था औद्योगिक क्षेत्रमा २ सय बढि उद्योग सन्चालनका लागि आवेदन परेको छ ।

आवेदन दिएका उद्योगीहरु औद्योगिक क्षेत्र कहिले बन्छ भन्दै पर्खिरहेका छन् ।

प्रकाशित मितिः     6:19:41 PM  |